+
+

विराटनगरको मेयरमा कांग्रेस र जसपाको दाबी, माओवादीको इच्छा उपमेयर

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख १ गते १५:२१

१ बैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका मेयर र उपमेयर दुबै पद नेपाली कांग्रेसले जितेको थियो । निर्वाचनमा तेस्रो स्थानमा रहेको जसपाले पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयरमा दाबी गरेको हो । २०७४ सालको निर्वाचनमा विराटनगरमा नेकपा एमालेका उम्मेदवार दोस्रो भएका थिए ।

‘२०७४ सालको हार प्राविधिक हो, हाम्रो पक्षमा आएका धेरै भोट बदर भयो’, जसपा मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘विराटनगरमा हाम्रो संगठन मजवुत छ, हाम्रो दाबी मेयरमा छ ।’

२०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले सात वटा वडा जितेको थियो । जसपाले ६, नेकपा एमालेले तीन र माओवादी केन्द्रले एउटा वटा जितेको थियो । दुई वटा वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए । तीमध्ये एक वडाध्यक्ष नेपाली कांग्रेसमा आवद्ध भएका छन् ।

जसपाका जिल्ला अध्यक्ष यादवले महानगरको दावी नछाड्न नेताहरुलाई खबरदारी गरिरहेको बताए । ‘महानगरको निर्णय केन्द्रले गर्छ, नेताहरुलाई मेयरको दाबी नछाड्न भनेका छौं,’ यादवले भने, ‘नगरपालिका र गाउँपालिकाको बाँडफाँड जिल्लामा बैठक बसेर टुङ्ग्याउछौं ।’

नेपाली काङ्ग्रेसको एउटा पक्ष विराटनगरमा तालमेल नगर्ने पक्षमा छ । काङ्ग्रेस नगर सभापति दीपक चापागाईं नेपाली काङ्ग्रेस एक्लै अघि बढ्नुपर्ने बताउँछन् । नगरले तालमेल नगर्ने निर्णय गरिसकेको छ ।

डा. शेखर कोइराला पक्ष पनि तालमेल गर्न नहुने पक्षमा छ । तालमेल गर्दा मेयर र उपमेयरमध्ये एउटा पद छोड्नुपर्ने चिन्ता नेपाली काङ्ग्रेसको कोइराला पक्षलाई छ । तामेल भए डा. कोइरालालाई गृहनगरमा घाटा हुने उनी निकट नेताहरुको विश्लेषण छ ।

विराटनगरका मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली महानगरको हकमा केन्द्रले निर्णय गर्ने भएका कारण तल्लो तहका समितिको निर्णयले ठूलो अर्थ नराख्ने बताउँछन् ।

सत्तारुढ गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकामा उपमेयरको आकांक्षी छ । महानगरपालिकामा जनाधार तुलनात्मक रुपमा कमजोर भएका कारण माओवादी केन्द्रले उपमेयरमा आकांक्षा राखेको हो । ‘गठबन्धन गर्दा काङ्ग्रेसले मेयर छाड्दैन,’ माओवादीका एक नेताले भने, ‘हाम्रो दाबी उपमेयरमा छ ।’

माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वास महानगरको विषय केन्द्रले टुङ्गो लगाउने भएका कारण जिल्लामा थप छलफल नभएको बताउँछन् ।

भागवण्डा मिलाउन कार्यदल

स्थानीय तह निर्वाचनमा तालमेलमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूले मोरङमा कार्यदल गठन गरेका छन् । कार्यदलमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु छन् ।

कार्यदलमा माओवादी केन्द्रबाट मोरङ संयोजक विजय विश्वास,नेपाली कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डा. उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव छन् ।

कार्यदलले केन्द्रले पठाएको मापदण्डका आधारमा भागवण्डा गर्ने माओवादी केन्द्रका मोरङ संयोजक विश्वासले बताए ।

बुधबार गठन भएको कार्यदलले बुधबार नै छलफल गरेको थियो । छलफलमा नेपाली काङ्ग्रेसले जिल्लाका १७ मध्ये १२ वटा पालिकाको प्रमुख पद दाबी गरेको छ । २०७४ सालमा काङ्ग्रेसले १० वटा पालिका जितेको थियो । जसपा र माओवादी केन्द्रले एक–एक वटा पालिका जित्दा एमालेले पाँच वटा पालिका जितेको थियो ।

‘२०७४ मा जितेका १० वटामा हाम्रो स्वभाविक दाबी रहन्छ, अन्य पालिकामा पनि दाबी छ,’ काङ्ग्रेस उपसभापति माझी भन्छन्, ‘कार्यदलको बैठकमा केन्द्रको दिएको मापदण्डका आधारमा भोलिदेखि छलफल हुन्छ ।’

जसपाले विराटनगर महानगरसहित ६ वटा पालिकामा आफ्नो संगठन राम्रो भएकाले प्रमुख पद आफूले पाउनुपर्ने दावी गरेको छ । जसपा अध्यक्ष यादव विराटनगर महानगरपालिका, रंगेली र सुनबर्षी नगरपालिका, जहदा, कटहरी र धनपालथान गाउँपालिकामा आफ्नो पार्टीको संगठन राम्रो भएको बताउँछन् ।

माओवादी केन्द्रको दाबी पथरीशनिश्चरे र बेलबारी नगरपालिका, कटहरी, जहदा, धनपालथान र मिक्लाजुङ गाउँपालिकामा छ । नेकपा एकीकृत समाजवादीले भने कार्यदलको बैठकमा औपचारिक रुपमा दाबी पेस नगरेको गठबन्धनका नेताहरुले बताएका छन् ।

दाबेदारको लाइन

विराटनगर महानगरपालिकाको नेतृत्वका लागि नेपाली काङ्ग्रेस र जसपा नेताहरुले दाबी गरिरहेका छन् । कांग्रेसबाट प्रतिनिधिसभा सांसददेखि हालका मेयर र उपमेयरको पनि दाबी छ । काङ्ग्रेसबाट मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली, प्रतिनिधिसभा सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्यालको दाबी छ ।

पराजुली कृष्णप्रसाद सिटौला पक्षका हुन् । संग्रौला र अर्याल सभापति शेरबहादुर देउवा पक्षका हुन् । डा. शेखर कोइरालाको पक्षबाट नागेश कोइराला, अरुण गुप्ता, इन्दीरा कार्की, दीपक चापागाई लगायतको दाबी छ ।

जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रसहित जसपाबाट पाँच जना मेयरका आकांक्षी छन् । जसपाबाट अमरेन्द्र यादव, उमेश यादव, तेजलाल कर्ण, भूराज राई, भरत दाहाल मेयरको दाबेदार छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?