+
+

अलमलमा काँग्रेस : नेतृत्व तालमेलको निर्देशन पठाउँछ, कार्यकर्ता एक्लै लड्छौं भन्छन्

तालमेलको अलमलले निर्वाचनको तयारी नै प्रभावित हुन थालेको कांग्रेस नेताहरु बताउँछन् । किनकि सत्तारुढ गठबन्धनमा तालमेलबारे टुंगो नलागी उम्मेदवार छनोट र प्रचार प्रचार थाल्ने अवस्था छैन । अन्तिम समयमा निर्णय गर्दा असन्तुष्टि बढ्छ, जसले अन्तरघातसम्म पुर्‍याउन सक्ने नेताहरुको चिन्ता छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख १ गते १९:५७

१ वैशाख, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलका ७ आधार तय गरेकै भोलिपल्ट बुधबार नेपाली कांग्रेस, पर्साका नेताहरुले जिल्लामा अरु दलसँग सहकार्य नगर्ने निर्णय गर्‍यो ।

सुरुमा पर्साका नेताहरु वीरगञ्ज महानगरपालिकाको मेयर नछाड्ने, तर अरु पालिकामा तालमेल गर्ने पक्षमा थिए । तर गठबन्धनको शीर्ष तहमा सहमति खोज्दा वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी (जसपा) ले लिने सम्भावना देखेपछि कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल र अजय चौरसियाको सहभागितामा बैठक बसेर निर्णय गर्‍यो-गठबन्धन आवश्यक छैन

अर्को महानगर भरतपुर (चितवन) का नेताहरुले यसअघि नै तालमेल नगर्ने निर्णय गरिसकेका छन् । काठमाडौंमा डेलिगेसन आएका नेताहरु, भरतपुरको मेयर पद कांग्रेसले पाउनेमा आश्वस्त हुन नसकेपछि वडा सभापतिहरुले बैठक बसेर तालमेल नगर्ने मात्र होइन, गठबन्धन भए स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् ।

कास्कीका कांग्रेस नेताहरु पनि काठमाडौं आएर सभापति शेरबहादुर देउवालाई भेटी पोखरा महानगरको मेयर पद नछाड्न दबाव दिएर फर्किएका छन् । महानगरमा मात्र होइन, थुप्रै गाउँ तथा नगरपालिकामा कांग्रेस चुनावी तालमेलका लागि इच्छुक देखिएको छैन ।

जबकी शीर्ष नेतृत्व, विशेषत: प्रधानमन्त्री समेत पार्टी सभापति देउवा गठबन्धनको पक्षमा अडिग छन् । तालमेलको पक्षमा रहेको नेतृत्व र एक्लाएक्लै लड्नुपर्छ भन्ने स्थानीय स्तरका नेता कार्यकर्ताको मझदारको मनोदशातर्फ संकेत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बुधबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भनेका छन्, ‘टिकट वितरणको व्यवहारिकतामा गम्भीर बनौं । अन्यथा वैशाख १० गते एकैदिन १०० नगरको टिकटबारे निर्णय गर्नुपर्ने जटिलतामा हामी पुग्नेछौं ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्नुपर्छ । तर सत्तारुढ गठबन्धनले जिल्लास्तरमै भागवण्डा टुंग्गो लगाउन सकेको छैन । मंगलबार तालमेलका ७ आधार तय गरेको गठबन्धनले जिल्लास्तरीय संयन्त्रलाई ३ र प्रदेशस्तरीय संयन्त्रलाई ५ वैशाखभित्र तालमेलको सहमति गरेर माथिल्लो तहमा सिफारिस गर्न भनेको छ ।

तर कांग्रेस नेताहरुलाई सुन्दा यो समयमा पनि तालमेलबारे सहजै सहमति जुट्ने संकेत छैन । किनकि तालमेलको गलत संस्कृति स्थापित गर्न खोजिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढ्दो छ । सत्तारुढ गटबन्धनको शीर्ष बैठकमा सहभागी महामन्त्री गगन थापाले सार्वजनिक रुपमै गठबन्धनमा आवद्ध दलहरू पहिलो र दोस्रो भएको स्थानमा तालमेलको औचित्य स्थापित नहुने बताएका छन् ।

कर्णाली र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको प्रभाव बलियो भएको स्थानहरुमा कांग्रेस प्रतिस्पर्धी दल हो । मधेस प्रदेशमा पनि कतै कांग्रेस र जनता समाजवादी पार्टी त कतै माओवादी र जनता समाजवादी पार्टीबीच नै प्रतिस्पर्धा छ ।

‘रुकुममा मुख्य प्रतिस्पर्धा कांग्रेस र माओवादीबीच छ । गोरखामा एमाले कमजोर छ’ थापाले बुधबारको कार्यसम्पादन समितिको बैठकमा भनेका छन्, ‘गठबन्धनकै दलहरुबीच प्रतिस्पर्धा भएका स्थानमा आफू–आफू लड्नपर्दछ ।’

तालमेलको अलमलले निर्वाचनको तयारी नै प्रभावित हुन थालेको कांग्रेस नेताहरु बताउँछन् । किनकि सत्तारुढ गठबन्धनमा तालमेलबारे टुंगो नलागी उम्मेदवार छनोट र प्रचार प्रचार थाल्ने अवस्था छैन । अन्तिम समयमा निर्णय गर्दा असन्तुष्टि बढ्छ, जसले अन्तरघातसम्म पुर्‍याउन सक्ने नेताहरुको चिन्ता छ । त्यसतर्फ संकेत गर्दै महामन्त्री शर्माले भनेका छन्, ‘तालमेल अरुसँग खोज्दैछौं, तालमेल आफूभित्र बिर्सदैछौं । केन्द्रदेखि वडासम्मको आपसी तालमेल अझ खँदिलो बनाउन जरुरी छ ।’

डा. शेखर कोइरालाको मत पनि उनकै जस्तो छ । ‘हामी एक हौं भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’, नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै कोइरालाले भनेका छन्, ‘निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौं ।’

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीलाई तालमेल गर्नैपर्ने ‘बाध्यतात्मक’ अवस्था छ । संसदीय निर्वाचनसम्म दुबै दललाई साथमा राखेर नेकपा एमालेबाट टाढा बनाउनु कांग्रेसको चाहना छ । तर दलहरुबीच र पार्टी भित्रका स्वार्थले तालमेलबारे निश्चित आकार लिन सकेको छैन । त्यसैले उम्मेदवार तय भएर प्रचारमा निस्कने बेला भइसक्दा कहाँ कसको भाग छुट्याउनै सत्तारुढ गठबन्धनलाई हम्मेहम्मे परेको छ ।

‘सत्ता गठबन्धनका अरु पार्टीहरुले आफ्नो साइजभन्दा बढी भाग खोजिरहेका छन्’ तालमेल टुंगिन नसकेको कारणबारे कांग्रेस नेता एनपी साउद भन्छन्, ‘कसले कति पाउने त्यसलाई एउटा रेसिओमा ल्याउनु जरुरी छ । गठबन्धन कायम राख्न लचिलो भएर सबै दल एक ठाउँमा आउनुपर्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?