+
+

पर्सामा गठबन्धन नगर्ने कांग्रेस नेताहरूको निर्णय

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख १ गते ८:१९

१ वैशाख, वीरगञ्ज । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पर्सामा कुनै पनि दलसँग सहकार्य नगर्ने निर्णय गरेको छ । जिल्लाका १४ वटै पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकाल्दै पार्टीका अगुवा नेता-कार्यकर्ताहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्व पर्सा सभापति राजेन्द्रबहादुर अमात्य, मधेश प्रदेशका खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री लगायत जिल्लाका प्रमुख नेताहरूको बैठक बसेको थियो ।

सोमबार बसेको गठबन्धनको बैठकमा वीरगञ्ज महानगरपालिका बाहेक १३ वटा पालिकामा गठबन्धन गर्न सहमत भएको थियो । पालिकामा दलहरूको वास्तविक स्थिति मूल्यांकन गरेर गठबन्धन गर्ने  सहमत भएको कांग्रेस नेता कार्यकर्ताको दबाबले पछि हटेको छ ।

नेता कार्यकर्ताको मनोभावना अनुसार पर्सामा कांग्रेस गठबन्धनमा नजाने निर्णयमा पुगेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए । ‘हामीले केन्द्रीय सदस्यहरू, जिल्लाका अगुवा नेताहरू पालिका सभापतिलगायत नेताहरूसँग राय सल्लाह गर्‍यो, कार्यकर्ताहरूको मनोभावनाविपरीत जान नहुने धारणा आयो,’ उनले भने, ‘त्यसपछि गठबन्धन आवश्यक नभएको निष्कर्षमा पुगेका छौं ।’

गठबन्धनका लागि वीरगञ्ज महानगर पेचिलो बनेको छ । कांग्रेस र जसपा दुवैले वीरगञ्ज महानगरको नगर प्रमुख आफूले पाउनुपर्ने अडान राखेका छन् । सत्तारुढ दलहरूबीच गठबन्धन हुँदा वीरगञ्ज जसपाको भागमा जानसक्ने सम्भावना छ । यसको संकेत पाएपछि वीरगञ्जमा कांग्रेसको विभिन्न तहले गठबन्धन नमान्ने निर्णय गरिरहेका छन् ।

बुधबार नै कांग्रेस महानगर समिति र क्षेत्रीय सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका थिए । सभापति क्षेत्रीका अनुसार वीरगञ्ज महानगर छोड्ने मनस्थितिमा नेता कार्यकर्ताहरू देखिएका छैनन् ।

‘अन्यत्र भन्दा वीरगञ्जमा लफडा हो, हाम्रो लडाइँ कतिपय ठाउँमा जसपासँग हुन्छ, कतिपय ठाउँमा एमाले र माओवादी केन्द्रसँग छ । परिस्थिति अनुकुल छ,’ उनले भने ‘जनमत हुँदै नभएका दललाई छोड्दै जाँदा राम्रो सन्देश जाँदैन । पार्टीको हितमा हुँदैन ।’

नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएकोले पनि एक्लै निर्वाचन लड्ने निर्णयमा पुगेको सभापति क्षेत्रीको भनाइ छ ।

‘एमाले अध्यक्ष ओलीको कार्यशैलीले जनता असन्तुष्ट छन् । तथाकथित मधेसवादी भन्ने दलहरूको हविगत पनि जनताले हेरिहाले । उनीहरूले जनतालाई ठग्ने काम मात्रै गरे ।

मधेशको एजेण्डा उनीहरूले स्थापना गर्न सकेनन् । त्यसकारणले जनताको लहर नेपाली कांग्रेको पक्षमा छ,’ सभापति क्षेत्रीले भने ।

१४ वटै पालिकामा विजयी हुने लक्ष्य भएपनि २/३ वटा गाउँपालिका अन्य दलको पक्षमा जान सक्ने आंकलन नेपाली कांग्रेसको छ ।

केन्द्रीय सदस्य अजय चौरसियाले पर्सामा कांग्रेस एक्लै लड्न सक्षम भएकोले अन्य दलसँग सहकार्य नगर्ने निर्णयमा पुगेको बताए ।

‘काँग्रेस एक्लै लड्न सक्षम छ, अधिकांश पालिकाहरुमा कांग्रेस निर्वाचित हुने अवस्था छ । त्यसैले कुनैदलसँग सहकार्य हुँदैन,’ उनले भने ।

जिल्लाका प्रत्येक क्षेत्र, पालिकाहरू र वडाहरूबाट पनि गठबन्धनमा जाने सहमतिको विपक्षमा नै निर्णय आएको उनले बताए । ‘सबै तहले एक्लै लड्ने निर्णय गरेपछि म्यान्डेट बाहिर गएर काम गर्न सकिँदैन ।’ केन्द्रीय सदस्य चौरसियाले भने ।

गठबन्धनबारे निर्णय गर्दा केन्द्रले सल्लाह गरेर नै निर्णय गर्ने विश्वास उनको छ । पूर्वमन्त्री समेत रहेका चौरसियाले भने, ‘केन्द्रमा नेताहरूसँग कुरा गर्दैछौं, सम्झाइरहेका छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?