
२ वैशाख, संखुवासभा । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।
शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरुबिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भने माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको बताए ।
‘माओवादीसँग अब गठबन्धन हुन्न । तर बाँकी दलहरुसँग छलफल हुन्छ’, खड्काले अनलाइनखबरसँग भने । माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उनले बताए । ‘कांग्रेसले जितेको ठाउँमा पनि दावी गर्नुभयो । त्यो भनेको गठबन्धन नगर्ने भन्ने नै भयो’, खड्का भन्छन् ।
माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उनले बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताए ।
‘कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति जुटेन् । तर औपचारिक रुपमै गठबन्धन टुटेको निष्कर्षमा भने हामी पुगेका छैनौं’, कार्की भन्छन् । कांग्रेस नेताहरुले भने सहमति जुटाउन बसेको बैठकबाटै माओवादी केन्द्र गठबन्धन नरहने भन्दै निस्केकाले अब छलफल नहुने बताएका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् संखुवासभा इन्चार्ज हेमराज घिमिरेले भने अझै पनि पाँच दलीय गठबन्धन जोगिने बताउँछन् । ‘छलफल चलिरहेको छ । अहिले नै त्यो निष्कर्षमा पुग्न हुन्न’, घिमिरे भन्छन् ।
गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।
प्रतिक्रिया 4