+
+

एमाले र गोविन्दराज समूहको तालमेल : पौडेल-जोशी दुश्मनीको उपज

व्यासमा सधैं हारेको एमाले असन्तुष्ट कांग्रेसीबाट विभाजनको क्षतिपूर्ति लिने दाउमा

केन्द्रदेखि जिल्लासम्मको राजनीतिमा दशकौंदेखि कांग्रेस नेता जोशी र पौडेलको ‘दुश्मनी’ आसन्न स्थानीय निर्वाचनमा नयाँ शिराबाट अगाडि बढेको छ । जोशी समूहले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ ।

अमृत सुवेदी सुवास पण्डित अमृत सुवेदी, सुवास पण्डित
२०७९ वैशाख ४ गते १९:३१

५ वैशाख, पोखरा । प्रतिनिधिसभा निर्वाचन २०७४ मा तनहुँ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन पत्र खारेज भएपछि गोविन्दराज जोशीले भनेका थिए, ‘हामी कांग्रेस हौं, तर यसपटक हाम्रो चुनाव चिह्न सूर्य हुने छ ।’

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको थियो । तर भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सजाय सुनाइएका र सर्वोच्चमा मुद्धा विचाराधीन अवस्थामै रहेका जोशीले बागी उम्मेदवारी दिएपछि पौडेलको उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर पौडेल, एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भए । जोशीको सहयोगकै कारण श्रेष्ठले चुनाव जितेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गर्‍यो ।

तर जोशीले जिल्लामा समानान्तर गतिविधि गर्दै आएका छन् । केन्द्रदेखि जिल्लासम्मको राजनीतिमा दशकौंदेखि कांग्रेस नेता जोशी र पौडेलको ‘दुश्मनी’ आसन्न स्थानीय निर्वाचनमा नयाँ शिराबाट अगाडि बढेको छ । जोशी समूहले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ ।

कहाँ कहाँ भयो सहमति ?

शनिबार राति जोशी निवास दमौलीमा भएको छलफलपछि चुनावी तालमेलमा सहमति भएको एमाले केन्द्रीय सदस्य भगवती न्यौपानेले जानकारी दिइन् । सहमतिअनुसार सदरमुकाम दमौली समेत रहेको ब्यास नगरपालिकामा जोशी पुत्र दीपकराज उम्मेदवार हुनेछन् भने एमालेले उपमेयर लिनेछ । ब्यासका ३/४ वडा जोशी पक्षले पाउने छ भने बाँकी एमालेले लिनेछ ।

भानु नगरपालिकाको मेयर एमाले र उपमेयरको उम्मेदवार जोशी पक्षबाट उठाउने सहमति छ । १३ वटा वडामध्ये ५, ११, १३ जोशी पक्षलाई दिने र बाँकी वडा एमालेले लिने मोटामोटी सहमति छ । एकाध वडा तलमाथि हुन सक्ने नेताहरु बताउँछन् ।

यस्तै बन्दीपुर गाउँपालिकामा एमालेको अध्यक्ष र जोशी पक्षको उपाध्यक्ष उम्मेदवार रहने सहमति भएको छ । यहाँ पनि जोशी पक्षले दुई वटा वडा पाउने छ ।

दुबैतिरबाट ४–४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने र वडाहरुको टुंगो केही दिनभित्र लगाइने एमाले केन्द्रीय सदस्य न्यौपानेले जानकारी दिइन् ।

१७ वर्ष अमेरिका बसेर फर्किएका दीपकराजले व्यासको मेयरमा उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचार थालिसकेका छन् । दमौलीमा कार्यालय समेत खोलेका उनले कांग्रेसको जिल्ला समितिमा मेयरको आकांक्षीमा नामसमेत टिपाएका थिए । तर पार्टीको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन । छोराको नाम सिफारिस नभएपछि गोविन्दराज जोशी झनै बढी रुष्ट बनेका थिए ।

कांग्रेसबाट परिवारले खेपेको तिरस्कार र अवहेलनाविरुद्ध उम्मेदवारी दिएको र एमालेसँग तालमेल गरेर जाने निर्णयमा पुगेको दीपकराजले बताए । ‘मुख्य रुपमा व्यास र भानुमा तालमेल हुने चर्चा भएपनि १० वटै पालिकामा हाम्रो सहकार्य हुन्छ । हिजो मेयर/उपमेयरको विषयमा एक खालको छलफल भयो, आज वडाध्यक्ष, सदस्यको छलफल हुँदैछ,’ मेयरका उम्मेदवार जोशीले भने ।

जीवन नै कांग्रेसमा बिताएको ब्यक्तिलाई भित्तामा पुर्‍याउने, साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने गरेका कारण पनि एमालेसँग सहकार्य भएको उनले बताए ।

‘एमाले सांसद किसान श्रेष्ठलाई जितायो भनेर मेरो बुवालाई साधारण सदस्य नरहने गरी निकालेपछि उहाँ कांग्रेस रहनुभएन,’ उनले भने, ‘जसका कारणले बुबालाई कारबाही भयो, तिनै ब्यक्तिलाई अहिले कांग्रेसले नै गठबन्धन भनेर बोकेर हिँडेको छ । यो उम्मेदवारी वर्षौंदेखि खेपेको तिरस्कार, अपहेलना र पौडेलको हेपाहा प्रवृत्तिविरुद्ध पनि हो । हामीले यो चुनावबाट त्यसको जवाफ दिन्छौं ।’

गोविन्द राजका अनुसार उनको समूहका ७ हजारभन्दा बढी सदस्यको कांग्रेसमा क्रियाशील सदस्य नै नवीकरण भएको छैन । आफू १८ वर्षदेखि नेपाली कांग्रेसको कुनै पनि पदमा नरहेको भन्दै उनले भने, ‘सधैंभरि तिरस्कारमा पर्ने, छानीछानी पार्टीबाट निकाल्ने ? गुटबन्दी गर्ने काम कहिलेसम्म सहने ?’

जोशी–एमाले तालमेलको अर्थ

तनहुँका १० स्थानीय तहमध्ये २०७४ सालकाे निर्वाचनमा कांग्रेसले आँबुखैरनी गाउँपालिका, भानु नगरपालिका, ब्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका गरी ६ वटामा, एमालेले देवघाट गाउँपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिका गरी ३ तथा र माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकामा जित हासिल गरेको थियो । २०७४ सालमा एमाले र माओवादीबीच तालमेल गर्ने जिल्लास्तरीय सहमति उम्मेदवारी दर्ताका दिनमा भाँडिएको थियो, जसको क्षति दुबै दलले भोगे ।

यसपटक जोशी समूह र एमालेबीच भएको तालमेलको प्रभाव व्यास र भानु नगरपालिकामा बढी पर्ने देखिन्छ ।

व्यासमा अहिलेसम्म भएका सबै निर्वाचनमा कांग्रेसले मात्र चुनाव जित्दै आइरहेको छ । २०४८ सालमा घोषणा भएको व्यास नगरपालिकामा अहिलेसम्मका तीन मेयर कांग्रेसले मात्र जितेको छ । ११ वटा वडा रहेको तत्कालीन व्यास नगरपालिकामा कांग्रेसका ताराप्रसाद श्रेष्ठ पहिलो मेयर बनेका थिए भने २०५४ सालमा ध्रुव वाग्ले मेयर बनेका थिए ।

राज्य पुनर्संरचना भएर १४ वडा बनेको ब्यास नगरपालिकामा २०७४ सालमा कांग्रेसकै वैकुण्ठ न्यापाने मेयरमा चुनिए । व्यासको वडा नम्बर ४ मा कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेर चुनाव लडेका विश्व घिमिरेले चुनाव जिते भने अरु सबै वडामा कांग्रेसले नै जीत हासिल गरेको थियो ।

कांग्रेसका न्यौपानेले १३ हजार ५६ मत ल्याएर मेयर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत ल्याएका थिए । व्यास नगरपालिकामा यो पटक अहिले ४७ हजार ५४२ मतदाता छन् ।

भानु नगरपालिकामा पनि मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ । भानु नगरपालिका वडा नं. ११ मा जोशीको पूख्यौली घर पर्छ । कांग्रेसभित्र तत्कालीन जोशी समूहकै नेता उदयराज गौलीले ९ हजार ५०५ मत ल्याएर मेयर जितेका थिए भने एमाले उम्मेदवार भगवती न्यौपानेले ८ हजार ९९९ मत ल्याएकी थिइन् । न्यौपाने अहिले राष्ट्रिय सभा सदस्य भएकी छन् ।

गएको निर्वाचनमा भानु नगरपालिको १३ वटा वडामध्ये ७ वटामा वडाध्यक्ष एमालेले जितेको थियो भने कांग्रेसले ६ वटा जितेको थियो । एमालेबाट जितेका भानु वडा नं. १२ का वडाध्यक्ष बिमल गुरूङ भने एकीकृत समाजवादीतिर लागेका छन् ।

बन्दीपुर गाउँपालिकामा पनि एमाले र जोशी समूहबीचको तालमेलले अर्थ राख्नेछ । गएको स्थानीय तहको निर्वाचनमा बन्दीपुरमा एमाले उम्मेदवार तेस्रो भएका थिए । यहाँ माओवादीका उम्मेदवार पूर्णसिंह थापाले २८६३ मत ल्याएर जितेका थिए, कांग्रेसका कर्णबहादुर खत्रीले २४२१ र एमालेका आनन्दमान जोशीले १९३२ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा ठूलो मतान्तर नरहेकाले जोशी समूहको साथले कांग्रेसको गढ मानिएको व्यास र भानु नगरपालिकामा जीत निकाल्ने एमालेको रणनीति छ । ‘पहिले जितेका पालिका यथायत राखेर अरु पालिकामा जित्ने रणनीतिसहित एमाले अगाडि बढेको छ । गठबन्धनभित्र सबैको एक मत छैन, कांग्रेसभित्रै बेमेल छ,’ एमाले तनहुँका अध्यक्ष श्रीराम श्रेष्ठले भने ।

तर कांग्रेस नेताहरु भने यो गठबन्धनले फरक नपर्ने दाबी गर्छन् । व्यास नगरको इतिहासमा नेतृत्व नगरेको र सम्मानजक उपस्थितिसमेत नरहेको एमालेले कांग्रेसबाट असन्तुष्ट समूहको लौरो टेक्न खोज्नु अस्वभाविक नरहेको पूर्व मेयर ध्रुव वाग्लेले बताए । ‘व्यास नगरपालिकामा एमालेको खासै हैसियत होइन । एमाले पार्टी आफैंमा फुटेकाले त्यसै पनि एमाले विक्षिप्त अवस्थामा छ । त्यसैले जोशीलाई हतियार बनाउन खोजेको हुनसक्छ,’ वाग्लेले भने ।

एमाले विभाजनपछि तनहुँमा प्रभाव भएका सांसद किसान श्रेष्ठसहित केही नेताहरु एकीकृत समाजवादीतिर लागेका छन् । माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्ने हो भने एमालेको गठबन्धनले फरक नपर्ने सत्तारुढ दलहरुको बुझाइ छ ।

‘व्यासमा कांग्रेस बलियो हो । एकीकृत समाजवादी र माओवादी मिल्दा पनि एमाले कमजोर हुनसक्थ्यो’ माओवादी केन्द्र तनहुँका नेता अतिन्द्रकेशरी न्यौपाने भन्छन्, ‘अघिल्लो निर्वाचनमा व्यासमा मेयरले पाएको मत एमालेको मात्र होइन, शंकरनारायण श्रेष्ठले धेरै व्यक्तिगत मत पाए । अहिले एउटा तप्का एमालेबाटै बाहिरियो । यो अवस्थामा जोसँग पनि तालमेल गर्नु एमालेको रणनीति हो ।’

भानु नगरपालिकामा ३२ हजार ४८७ रहेको मतदाता बढेर ४० हजार  ४९६ पुगेको छ । ब्यासमा ३८ हजार ९१७ बाट ४७ हजार ५४२ र बन्दीपुरमा ११ हजार ९३२ रहेकोमा बढेर १५ हजार ६३८ पुगेको छ । आँबुखैरेनी गाउँपालिकामा पनि १० हजार ९०२ बाट बढेर मतदाता संख्या १३ हजार ६३१ पुगेका छन् । पालिकाहरुमा गएको स्थानीय तह निर्वाचनमा औसत ६७ प्रतिशत मत्र खसेको देखिन्छ ।

समग्रमा तनहुँ जिल्लामा कांग्रेस बलियो मान्ने गरिएको छ । एकीकृत समाजवादीले एमालेको धेरै भोट नकाट्ने र नयाँ मतदातालाई आकर्षित गर्ने हो भने जोशी पक्षसँगको तालमेलबाट एमालेले लाभ लिन सक्छ । तर कांग्रेसले एकीकृत समाजवादी र माओवादीसँग कसरी तालमेल गर्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । हालसम्म भने तनहुँमा गठवन्धनको स्पष्ट खाका आइसकेको अवस्था छैन ।

रामचन्द्र–गोविन्दराजको उदय र ‘दुश्मनी’

कांग्रेसका एक जना पुराना नेता एमालेसँग भएको तालमेललाई रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच वर्षौदेखि प्रतिष्ठाको लडाइँको उपज मान्छन् ।

२००१ सालमा तनहुँको रिस्तीमा जन्मिएका पौडेल पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिमा लागेका थिए । उनीभन्दा ५ वर्ष जेठा जोशी भने २०२४ मा गण्डकी विद्यार्थी मञ्चबाट राजनीतिमा आए । तर दुई नेताबीच कहिल्यै सौहार्द सम्बन्ध रहेन ।

पौडेल वीपी कोइराला लगायतका नेतासँग निकट थिए । ‘उपल्ला नेताहरुसँगको संगत भएपछि उनले आफूलाई पनि माथिल्लो तहको नेता मान्न थाले र जिल्लामा हैकम जमाउन थाले,’ तनहुँका एक पुराना नेता भन्छन्, ‘जोशीले जिल्लामा बसेरै राजनीति गरे । शिक्षक बने, वकालत गरे । जहाँ काम गरे, उनले आफ्नो प्रभाव जमाउँदै जान थाले । रामचन्द्रलाई वीपीले जिम्मेवारी दिँदा ग्राउण्ड लेभलमा काम गर्ने म हुँ भनेर जोशीले असन्तुष्टि जनाउँथे ।’

रामचन्द्र नेविसंघको संस्थापक सदस्य, २०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक हुँदै केन्द्रीय सदस्य र २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसदको यात्रा तय गरे । स्ववियु सभापति, तरुण दल, २०३० सालमै तनहुँ जिल्ला उपसभापति हुँदै शिक्षण र वकालतसँग राजनीतिमा लागेका जोशी तनहुँमा नेपाल बार एशोसिएसनको अध्यक्ष बने ।

२०४८ मा रामचन्द्र क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसद छिर्दा जोशी पनि क्षेत्र नम्बर २ बाट निर्वाचित भएर सँगै संसद प्रवेश गरे । स्थानीय विकास मन्त्री हुँदै रामचन्द्र पौडेल प्रतिनिधि सभामा सभामुख बने ।

जोशी भने २०५१ सालमा शिक्षामन्त्री र ०५५ मा गृहमन्त्री भए । सामान्य प्रशासन, जलस्रोत, स्थानीय विकासमन्त्री समेत बनेका जोशी पनि पटक पटक सत्ताको केन्द्रमा रहिरहे ।

पौडेल पार्टीमा उपसभापति र सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिसम्म बने । जोशी पार्टीको सहमहामन्त्रीसम्म बने । तर दुई नेताको प्रतिष्ठाको लडाईंका कारण तनहुँमा भने कांग्रेसभित्र गुटबन्दी र समूह विभाजन हुँदै गयो ।

‘जोशीले शिक्षामन्त्री हुँदा धेरैलाई शिक्षक भर्ती गरेर जिल्लामा आफ्नो पकड बढाए । गृहमन्त्री हुँदा त्यसैगरी धेरै पुलिसमा जागिर खुवाए । जोशी आफ्ना कार्यकर्ता संरक्षण गर्न सिपालु थिए तर पौडेलले संरक्षण गर्दैनथे,’ पुराना कांग्रेस नेता भन्छन्, ‘पार्टीमा केन्द्रीय पहुँच भएका पौडेल र ग्राउण्ड बनाएका जोशीबीच टिकट बाँडफाँटका विषयमा पनि तिक्ततापूर्ण सम्बन्ध रह्यो । पौडेलप्रति सधैं असन्तुष्ट रहे जोशी, जोशीप्रति सधैं पूर्वाग्रही बने पौडेल ।’

सुरुमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लडेका पौडेल २०५१ मा जोशीले जितेको क्षेत्र नम्बर २ मा आफू सुरक्षित हुने ठानेर गए भने जोशी क्षेत्र नम्बर १ मा उठे । जोशीले क्षेत्र नम्बर १ मा पकड जमाए । तर, २०६४ मा माओवादी नेता सुरेश आलेसँग हार व्यहोरे ।

२०७० सालमा जोशीले टिकट पाएनन्, समानुपातिक सूचीमा रहेको नाम पनि काटिएपछि पौडेल–जोशीबीच ठूलो द्वन्द्व नै चल्यो । कतिसम्म भने कुनै रुखमा चराले गुँड लगायो भने त्यो कांग्रेसको रुखमा गुँड लगाउने चरा रामचन्द्र समूह कि गोविन्दराज समूह भनेर दमौलीमा चर्चा हुने गरेको दमौलीका पुराना कांग्रेस नेताहरु सुनाउँछन् ।

भ्रष्ट्राचार मुद्धा लागेपछि भने जोशीको राजनीतिक यात्रा ओरालो लाग्न थाल्यो । झण्डै ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो ।

२०६६ मा सवा २ करोड सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले बिगो र १ वर्ष ६ महिना कैद सजाय सुनायो । त्यसको विरुद्धमा जोशी सर्वोच्च अदालतमा पुगे । यो मुद्धाको अझै किनारा लागिसकेको छैन तर जोशीको राजनीतिलाई भने यही मुद्धाकै कारण किनारमा पुर्‍याइदिएको तनहुँका कांग्रेसजन बताउँछन् ।

भ्रष्टाचारको मुद्धा लागेपछि जोशीविरुद्ध पौडेलले अभियान नै चलाएको उनी निकट नेताहरु बताउँछन् । पार्टीमा ठाउँ नदिने, कारवाही गर्ने र जोशी समूहका व्यक्तिलाई टिकट नदिने गरेको जोशी समूहको गुनासो छ ।

‘तनहुँमा जोशी समूहले यसरी पकड जमाएका थिए कि पौडेल समूहका कार्यकर्ता तिरस्कृत नै थिए, जब जोशीलाई मुद्धा लाग्यो पौडेल समूहले जोशी समूहलाई दुत्कार्न थाले, अवसरबाट बञ्चित गराउन थाले,’ कांग्रेसका एक नेताले भने ।

दुई नेताको तिक्ततापूर्ण सम्बन्धले तनहुँ कांग्रेसीलाई कित्ताकाट गर्दै आएको छ । एकले अर्कालाई अवसर नदिएको, नियत खराब भएको, षड्यन्त्रकारीको संज्ञा दिँदै आएका छन् ।

पछिल्लो समय जोशीले निर्वाचनमा टिकट पाउनै छाडे भने पौडेललाई पनि हराउन जोशीले सक्दो प्रयास गर्ने गरेको कार्यकर्ताहरु नै बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?