+
+

पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन् ?

सर्वोच्च अदालतबाट प्रतिपादित एक नजीरलाई आधार मान्ने हो, फेरिएको बकपत्र मुद्दामा पेश भएका अरु प्रमाणसँग बाझिन्छन् भने त्यस्तो बकपत्रलाई प्रमाणका रुपमा स्विकार्न मिल्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ७:२२

५ वैशाख, काठमाडौं । कलाकार पल शाहबाट श्रृङ्खलाबद्ध बलात्कार भएको भनिएकी नाबालिका एक गायिकाले अदालतमा बयान फेरिन् । आफूमाथि पटक–पटक बलात्कार भएको भनेर प्रहरीमा बयान गरेकी ती गायिकाले अदालतमा बयान दिंदा भने आफूमाथि कुनै ‘घटना’ नभएको बताएकी हुन् । प्रहरीमा दिएको जाहेरी वा बयान खण्डन हुने गरी अदालतमा बयान फेर्नुलाई ‘होस्टाइल’ भएको भनिन्छ ।

जिल्ला अदालत स्रोतका अनुसार, आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताइन् ।

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ अदालत स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसबाहेक कहिं पनि उनले आफूमाथिको घटना स्विकारिनन् । सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’

बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए । उनका अनुसार बालिकाका बयानका क्रममा इजलासमा उपस्थित गराइएका कलाकार शाह पनि रोएका थिए ।

पीडितको भिडियो बयान

पीडित बालिकाले अदालतमा बयानका क्रममा आफूमाथि बलात्कार नभएको दावी गरे पनि बलात्कारको आरोप पुष्टि हुने प्रमाणहरु मुद्दामा समावेश गरिएको छ । पीडितका बाबुले नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको भनी जाहेरीमा खुलाएका छन् । तनहुँको घटना नियालिरहेका महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार, बलात्कार आरोपका प्रमाणहरुमध्ये एउटा प्रमाण मात्रै असफल भएको हो, अरु यथावत छन् ।

पीडित भनिएको व्यक्तिको इन्कारी बकपत्रलाई आरोपितकै बयानले खण्डित गरेको र अरु प्रमाण समेत खण्डित हुने अवस्था भएमा होस्टाइल भएको बकपत्रलाई प्रमाणको रुपमा स्विकार्न नहुने सर्वोच्चको व्याख्या छ ।

‘पीडितमाथि बलात्कार भएको भनेर हामीले उनको भनाइसहित कयौं अरु प्रमाणहरु पेश गरेका थियौं’ ती सरकारी वकिलले भने, ‘ती प्रमाणमध्ये पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान फेरेकी हुन् । अरु प्रमाण यथावत छन् ।’ उनका अनुसार, पीडितले बयान फेर्नसक्ने (होस्टाइल हुनसक्ने) आशंकाका साथ सरकारी वकिलको रोहवरमा पीडितको बयान लिएको प्रहरीले भिडियो रेकर्ड गरेको थियो र त्यो अदालतमा समेत पेश गरेको छ । तनहुँ प्रहरीमा पीडितले भिडियो बयानका क्रममा नै पल शाहले शुरुमा आफूलाई माया गर्ने, केयर गरेको विश्वासमा पारी जबर्जस्ती गरेको भनी बयान दिएकी थिइन् ।

पीडितका बाबुले जाहेरीपत्रमा नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको विवरण उल्लेख गरेका छन् । उनले प्रहरीमा संरक्षकको रोहबरमा बयान गरेको उल्लेख छ । अहिले अदालतमा भने पीडितले शारीरिक परीक्षण प्रतिवेदन समेत अस्विकार गरेको स्रोतले बतायो । कलाकार पल शाहले प्रहरीसँगको बयानमा आफूहरुबिच सम्बन्ध भएको र त्यसपछि रजस्वला रोकिएकाले पीडितले आफूलाई बिहे गर्न स्विकार्नुपर्छ भनी दबाव दिएको समेत बताएका थिए ।

कलाकारहरु बसेको घरको सम्बन्धित व्यक्तिहरुसँग समेत प्रहरीले बयान लिएको थियो जसले बलात्कारको आरोप पुष्टि गर्न ‘परिस्थितिजन्य प्रमाण’ जुटाउन सघाएको थियो । आरोपको प्रत्यक्ष पुष्टि नहुने तर त्यसलाई सहयोग हुने अरु प्रमाणलाई परिस्थितिजन्य प्रमाण भनिन्छ ।

चन्द्रप्रकाश तिवारीको चर्चित नजीर

झापा दमकका चन्द्रप्रकाश तिवारीविरुद्धको जबर्जस्ती करणी सम्बन्धी एक मुद्दामा पीडितले पछि अदालतमा बयान फेरे पनि अदालतले तिवारीलाई दोषी ठहर गरेको नजीर छ । घटना हुँदा १३ वर्षकी नाबालिका पीडितले अदालतमा बयान फेरेकी थिइन् । तर सर्वोच्च अदालतले पीडितले अदालतमा बयान फेरेको भएपनि अरु प्रमाणले बलात्कार पुष्टि हुने भन्दै आरोपितलाई दोषी ठहर गरेको थियो । नेपाल कानून पत्रिकामा २०६९ सालमा प्रकाशित नजीरमा भनिएको छ, ‘अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजुद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता सावित हुने एकमात्र आधार हुन नसक्ने ।’

सर्वोच्च अदालतले त्यो घटनामा बयान फेरेकै आधारमा आरोपितले उन्मुक्ती पाउन नहुने व्याख्या गरेको थियो । न्यायाधीशहरु सुशीला कार्की र तर्कराज भट्टको इजलासले पीडितको शारीरिक परीक्षणलाई महत्वपूर्ण प्रमाण मान्नुपर्ने व्याख्या गरेको थियो ।

त्यतिबेला नै सर्वोच्च अदालतले पीडितमाथि आर्थिक प्रलोभन हुनसक्ने औंल्याएको थियो । अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सक्ने भन्दै सर्वोच्च अदालतले न्यायालयबाट त्यो पाटो हेरिनुपर्ने भनी विवेचना गरेको थियो । फैसलामा भनिएको थियो, ‘फेरिएको बकपत्रलाई मात्र आधार लिएर अभियोग दावीबाट सफाई दिँदै जाने हो भने समाजमा अपराधले प्रश्रय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुन जाने ।’

पीडित भनिएको व्यक्तिको इन्कारी बकपत्रलाई आरोपितकै बयानले खण्डित गरेको र अरु प्रमाण समेत खण्डित हुने अवस्था भएमा होस्टाइल भएको बकपत्रलाई प्रमाणको रुपमा स्विकार्न नहुने सर्वोच्चको व्याख्या छ । फैसलामा भनिएको छ, ‘अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरिसकेको अवस्था हुँदा घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको बकपत्रलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्यायोचित नहुने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?