+
+

८६ पालिका, जहाँ मतान्तर १०० भन्दा कम छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:०२

६ वैशाख, काठमाडौं । देशभरका ७५३ पालिकामा नयाँ जनप्रतिनिधि चयनका लागि आगामी ३० वैशाखमा निर्वाचन हुँदैछ ।सत्तारुढ पाँच दल गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

महानगरपालिका र उपमहानगरपालिकामा सहमतिका लागि शीर्ष तहमा संवाद भइरहेको छ भने नगर र गाउँपालिकाका लागि तल्लो तहमा वार्ता चलिरहेको छ ।नेकपा एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

तर ८६ पालिका यस्ता छन्, जहाँ २०७४ को निर्वाचनमा १०० भन्दा कम मतान्तरले हारजित भएको छ ।झापाको कमल गाउँपालिकामा त दुई उम्मेदवारको समान मत आएपछि गोला प्रथाबाट प्रमुख छानिएको थियो ।

नेकपा एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले बराबर ८ हजार २७५ मत ल्याएका थिए । तर गोलाप्रथामा काफ्लेले बाजी मारिन् र गाउँपालिका प्रमुख चुनिइन् ।

अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार जम्मा एक मतान्तरले निर्वाचित भएका थिए । एमालेका हर्कबहादुर साउद ३ हजार १३८ मतका साथ विजयी हुँदा कांग्रेसका भीमबहादुर साउदले ३ हजार १३७ मत पाएका थिए ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष पनि एमालेले ८ मतान्तरले जितेको थियो । एमालेका विजय राई २ हजार ३५६ मतका साथ गाउँपालिका प्रमुख बन्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थामबहादुर राईले २ हजार ३४८ मत पाएका थिए ।

कुन दलको भागमा कति ?

१०० मतभन्दा कम मतान्तरले हारजित भएकामध्ये २४ नगरपालिका र ६१ गाउँपालिका छन् ।दलीय रूपमा हेर्दा नेकपा एमालेले ३२ स्थानीय तहमा १०० मतभन्दा कम मतान्तरले जितेको छ । ३१ पालिकामा १०० भन्दा कम मतान्तरले दोस्रो स्थानमा रह्यो ।

कांग्रेसले ३३ स्थानीय तहमा यसरी नै कम मतान्तरमा प्रमुख पदको चुनाव जितेको छ । १०० भन्दा कम मतान्तरसहित कांग्रेस ३३ पालिकामा निकटतम प्रतिद्वन्द्वी थियो ।

माओवादी केन्द्रले १०० भन्दा कम मतान्तरले १२ स्थानीय तहमा जित हासिल गर्दा ९ स्थानमा निकटतम प्रतिद्वन्द्वी रह्यो । संघीय समाजवादी फोरमले १०० भन्दा कम मतान्तरसहित ३ स्थानमा विजय हासिल गर्दा ५ स्थानमा निकटतम प्रतिद्वन्द्वी बन्यो ।

राप्रपा र नयाँ शक्ति १०० भन्दा कम मतान्तरसहित दुई स्थानमा निकटतम प्रतिद्वन्द्वी बने । पछिल्ला राजनीतिक परिवर्तन र दलहरूबीच बनेको नयाँ गठबन्धनले सिर्जना गरेको नयाँ अंकगणितले यो निर्वाचनमा यी स्थानीय तहमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टर्डिजका निर्देशक उत्तमबाबु श्रेष्ठ भन्छन्, यी पालिकाहरूमा नयाँ मतदाताको मत निर्णायक हुन्छ, तर एमालेलाई पार्टीमा आएको फुटको असर अन्यत्र भन्दा त्यहाँ बढी पर्नसक्छ ।’

‘साथै केही मत स्वीङ भइदियो भने दुवै दललाइै असर पुग्नसक्छ । त्यसैले दलहरूले प्रमुख पदमा उठाउने उम्मेदवारको व्यक्तित्वले पनि असर पार्छ, ’ निर्देशक श्रेष्ठ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?