+
+

राष्ट्रिय युवा परिषदद्वारा १२५० म्यादी प्रहरीलाई उद्यमशीलता तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ८:१३
Photo Credit : राष्ट्रिय युवा परिषद

६ वैशाख, काठमाडौं । राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । हालसम्म धादिङका ७०० र भक्तपुरका ५५० जना म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिइएको हो । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषदको विश्वास छ ।

स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनः बेरोजगार नबनुन् भनेर स्वरोजगार तालिम दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । बस्नेतले भने, ‘निर्वाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ।’

परिषदले भक्तपुर र धादिङका १ हजार २५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ ।

नेपाल सरकारबाट जारी गरिएको ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि–२०७५’ मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरु निकै उत्साहित भएको शर्माले बताए ।

अहिलेसम्म भक्तपुरमा अलग–अलग समूह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइसकिएको छ । तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियोे ।

यस्तै धादिङमा विभिन्न समूह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले बताए । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?