+
+

लोकतन्त्र र टिके प्रथा एकैठाउँ रहन सम्भव छ ?

एलिजा ढकाल एलिजा ढकाल
२०७९ वैशाख ६ गते १२:२०

हाम्रो देशले १०० वर्ष अघिदेखि नै प्रजातन्त्रको सपना देख्यो। प्रजातन्त्रको निम्ति देशले कैयौं वीरहरूको बलि माग्यो। भूपि शेरचनको शब्दमा भन्नुपर्दा दुई चार सपुत मरेर नगई मुलुकले सुन्दर बिहानी देख्न पाएन।

२००७ साल फागुन ७ गते नेपाली आकाशमा उदाएको सूर्य एक्लै उदाएन, आशाका सुनौला किरणहरू सञ्चार गर्दै देशको भविष्यको शुभ समाचार लिएर उदायो। र, नेपाली जनतालाई विश्वको उन्नत व्यवस्था उपभोग गरेको हेर्दै अस्तायो।

त्यो बेला विश्वमा चलेको प्रजातन्त्रको शीतल हावा नेपालसम्म आइपुग्यो। नेपाली युवाहरूको मनमा परिवर्तनको आशा अनि रगतमा क्रान्तिको चेत सञ्चार भयो। यो अग्रगमनकारी व्यवस्थाको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो। त्यसैले नेपालमा प्रजातन्त्रको जननी भनेर नेपाली कांग्रेसलाई भन्न थालियो।

२०१७ सालमा अपहरण भएको प्रजातन्त्रको पुनर्स्थापनाको निम्ति नेपाली जनताले २०४६ सालसम्म कुर्नुपर्‍यो। यो लामो समय दलहरूले लोकतन्त्रका लागि संघर्षलाई निरन्तरता दिए। उद्देश्य जनताको स्वतन्त्रता अनि सिद्धान्त नै प्रजातन्त्र भएको कारण नेपाली कांग्रेस अनवरत रूपमा प्रजातन्त्र प्राप्तिमा होमियो।

फलतः देश प्रजातान्त्रिक पद्धतिमा हिंड्न सुरु गर्‍यो। जब उपलब्धि हासिल भयो, प्रजातन्त्रको रक्षा गर्नु नेपाली कांग्रेसको दायित्व अन्तर्गत पर्न गयो। २०१७ देखि २०४६ सालसम्म प्रजातन्त्रको संघर्षको क्रममा पार्टी प्रतिबन्धित थियो। त्यतिबेला नेपाली कांग्रेसका भ्रातृ संघहरू कांग्रेसको अगाडि ढाल बनेर उभिए। जनताको अगाडि चेतना बनेर उभिए।
नेविसंघ, तरुण दल, महिला संघ जस्ता भ्रातृ संघहरूकै बलमा नेपाली कांग्रेस नेतृत्वले २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्दै परिणाम हासिल गरेको थियो। त्यतिखेर विद्यार्थी राजनीतिमा शक्ति मात्रै होइन, आकर्षण पनि थियो।

प्रजातन्त्र गतिशील हुन्छ। नेपाली कांग्रेसको नेतृत्वमा देशले रोकिएको समयबाट गतिशीलताको युगमा प्रवेश गर्‍यो। निरङ्कुश शासनको “खाए खा नखाए घिच्” युगको अन्त्य भयो। बाटो, बिजुली, शिक्षा नपुगेका नेपालका कुना–कन्दरासम्म प्रजातन्त्रको समाचार पुग्यो।

आफ्नो नेता आफैं चुन्ने व्यवस्था मार्फत जनताका छोराछोरीले देशको शासन व्यवस्था आफ्नो हातमा लिन सके। राजाको छोरो राजा हुने युगको अन्त्यसँगै हलो समात्ने जनताका सन्तानहरूले देशको शासन सत्ताको डोरो समाते।

सुन्दर कुरा के भयो भने आफ्नो भविष्य लेख्ने कलम प्रजातन्त्र मार्फत हरेकका हात हातमा पुग्यो। जनताले नै आफ्नो भविष्य लेख्न पाउने भए। आफ्नो नेता आफूहरू मध्येबाटै चुन्न मिल्ने भयो। आखिर प्रजातन्त्रको धड्कन भनेकै निर्वाचन हो। निर्वाचन मार्फत समयमै नयाँ नेतृत्व फेर्न नसके त प्रजातन्त्र कोमामा पुग्छ।

प्रजातन्त्रलाई कोमामा पुग्न नदिने जिम्मेवारी नेपाली कांग्रेसकै हो। प्रजातन्त्र प्राप्ति सुरुवात थियो। प्रजातन्त्र आउने बित्तिकै देश प्रजातान्त्रिक व्यवस्थामा ढलिहाल्दैन। प्रजातन्त्रले हुर्कन समय माग्छ, स्याहार माग्छ। यो समयसँगै परिपक्व हुँदै जाने व्यवस्था हो। प्रजातन्त्र ल्याउन निकै गाह्रो थियो, बचाइरहन, संरक्षण गर्न झन् धेरै गाह्रो छ।

आज कांग्रेस घर घर जाउँ अभियान लिएर जनताको घर घर पुग्न हिंडिसकेको, पुगिसकेको छ। तर नेपाली कांग्रेसको नर्सरी भनिएको नेविसंघ लगायतका नेता, कार्यकर्ता काठमाडौंमै थुनिएका छन्।

स्थानीय तहको निर्वाचन नजिकिंदैछ। हामीले निर्वाचन मार्फत फेरि प्रजातन्त्रलाई परिपक्व बनाउन पाउनेछौं। आज कांग्रेस घर घर जाउँ अभियान लिएर जनताको घर घर पुग्न हिंडिसकेको, पुगिसकेको छ। तर नेपाली कांग्रेसको नर्सरी भनिएको नेविसंघ लगायतका नेता, कार्यकर्ता काठमाडौंमै थुनिएका छन्।

विडम्बना त यो छ कि घर घर लिएर जान उनीहरूसँग प्रवाह गर्ने सन्देश छैन, ऊर्जा पनि छैन न त उत्साह नै छ। वर्षौंदेखि अधिवेशन नभएका, हाल रिक्त रहेका कांग्रेसका भ्रातृ संघहरूका कार्यकर्ताहरूको अनुहारमा आभा छैन, रगतमा गाउँ गाउँ पुग्ने हुटहुटी छैन। जाँदै गर्दा आन्तरिक लोकतन्त्र कमजोर भएको सन्देश कसरी लैजाने ?

महाधिवेशन हुन नसकेर नेताको खल्तीमा खुम्चिएका भ्रातृ संघका कार्यकर्ता घर घर जाउँ अभियानमा जाने कि भ्रातृ संघको तदर्थ समितिमा स्थान खोज्दै नेताको घर ? नेपाली कांग्रेसले भ्रातृ संघहरूको ऊर्जा, कार्यकर्ताहरूको क्षमतालाई पार्टी हितमा प्रयोग गर्न सकेन, जानेन। आज नेपाली कांग्रेसको नर्सरी मक्किएको काठ जस्तो भइसकेको छ। नेपाली कांग्रेस आन्तरिक लोकतन्त्र मजबुत बनाउन चुकेको यथार्थ लुकाउन हुँदैन।

महाधिवेशन नभएर नयाँ ऊर्जा सञ्चार हुन रोकिएका भ्रातृ संघ, बन्द जस्तै भएको नेपाली कांग्रेसको नर्सरी कसरी लुकाउने ? आफैं निराश भएका बेला कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गर्ने आधार के दिने ?

नेविसंघ, तरुण दल जस्ता भ्रातृ संगठनको नेतृत्व दिएर महिलालाई राजनीतिमा प्रोत्साहनको अवसर कांग्रेससँग थियो। त्यसबाट पनि नेपाली कांग्रेस चुकिसकेको छ। महिलाहरूलाई नेतृत्वमा नपत्याएको नमीठो अनुभूतिको साथमा घरघर जाँदा पार्टीको प्लेटफर्मबाट देश बदल्छु भनेर हिंडेका महिला नेताहरू देशको कुल जनसंख्याको ५१.४ प्रतिशत भाग ओगट्ने महिलाहरूका निम्ति के सन्देश लिएर जाने ?

नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरूलाई निकम्मा बनाएको छ। नेविसंघ र तरुण दल जस्ता गर्विलो इतिहास बोकेका हरेक आन्दोलनलाई निचोडमा पुर्‍याउन भूमिका खेलेका युवाको प्रतिनिधित्व हुने ठाउँमा सभापति मात्रै तोकेर बाँकी खाली राख्दा त्यसको सन्देश राम्रो जाँदैन।

पार्टी नेतृत्वले बुझ्नुपर्ने हो एउटा व्यक्तिले सिङ्गो संगठनलाई प्रतिनिधित्व गर्न सक्दैन। स्थानीय निर्वाचनको मुखमा जनताको घर घरमा भोट माग्न जानुको सट्टा आज नेपाली कांग्रेसका युवा, विद्यार्थी शक्तिकेन्द्र धाउन बाध्य पारिएका छन्।

हिजो राणाशासन ढाल्न, पञ्चायत फालेर प्रजातन्त्र स्थापना गर्न नेतृत्व गरेको नेपाली कांग्रेस जस्तो प्रजातन्त्रको हिमायती पार्टीभित्र आज भ्रातृ संघमा आफ्नो नेता आफैं चुन्ने अधिकार युवा, विद्यार्थीले पाउन नसक्नु विडम्बनापूर्ण कुरा हो।

एक वर्ष, एक सेमेस्टर पढिसकेपछि युनिभर्सिटीले विद्यार्थीको मूल्यांकन गरेझैं प्रजातान्त्रिक पद्धतिमा पनि जसको हितमा काम गर्छु भनेर प्रतिबद्ध भएको हो उनीहरूले मूल्यांकन गर्न पाउनुपर्ने हो !

नेविसंघ जस्ता भ्रातृ संघले विद्यार्थी माझ गएर निर्वाचन मार्फत अनुमोदन हुन वा बाहिरिन पाउनुपर्ने हो। तर विडम्बना के छ भने जसलाई नेतृत्व गर्न पठाइएको हो उसलाई नेतृत्व छान्ने अधिकार दिइन्न। र जो विद्यार्थीबाट छानिन्छु वा बाहिरिन्छु भनेर बसेको छ उसलाई विद्यार्थीले मूल्यांकन गर्न पाउँदैन ! सधैं संगठनको काम गर्नेहरू बन्ने बेलामा शक्तिकेन्द्र धाउनुपर्ने विडम्बनाले शक्तिकेन्द्र धाउने कुरामा विश्वास नगर्नेहरू राजनीतिबाट बाहिरिन्छन्।

नेपाली कांग्रेस मात्रै नभएर नेकपा एमालेको पनि नेतृत्व हेर्दा भ्रातृ संगठनमा काम गरेकाहरू नेतृत्वमा स्थापित भएको हामीले देखेका छौं। नेविसंघको सभापति रहिसक्नुभएका शेरबहादुर देउवा आज दोस्रोपटक नेपाली कांग्रेसका पार्टी सभापति हुनुहुन्छ र पटक–पटक देशको प्रधानमन्त्री पनि बन्नुभयो। नेपाली कांग्रेसको शीर्ष नेतृत्व नेविसंघबाटै उत्पादित हो। र पनि आज भ्रातृ संघको कुरामा पार्टी नेतृत्व खुम्चिएको छ।

आज नेपाली कांग्रेसका हरेक कार्यकर्ताको मनमा एउटा प्रश्नले घर गरेको छ, ‘के टिके प्रथा र लोकतन्त्र एकै ठाउँमा रहन सम्भव छ ?’ जतिसुकै सानो इकाइ होस्, लोकतन्त्रमा टिके प्रथा मार्फत नेतृत्व चयन गर्दा नेतृत्व निरंकुश हुने सम्भावना त हुन्छ नै !

आत्मसम्मानका साथ राजनीति गर्छु भन्नेहरू पछाडि पर्छन्। लोकतन्त्रमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन नगर्ने कुरा अपाकृतिक हो। जब नेतृत्व चयन गर्ने अधिकार पार्टी नेतृत्वको हातमा हुन्छ, नेतृत्वले आफ्नो सबैभन्दा नजिकको मान्छेलाई नेतृत्व सुम्पन्छ।

गुट, उपगुटको प्रतिनिधित्वको कुरा पनि रहला ! तर आफूले जे भन्यो त्यै मान्ने मान्छेलाई नेतृत्व सुम्पँदा लोकतन्त्रको अपहरण हुन्छ भनेर लोकतान्त्रिक पार्टीको नेतृत्वले बिर्सनुहुँदैन। शासकका नजिकका मान्छेलाई मात्रै प्रोत्साहन गर्ने स्वस्थ तबरले प्रजातान्त्रिक पद्धतिबाट अगाडि आउन नसकेपछि धेरैको पार्टीको पद्धतिमा विश्वास घट्छ र नेताप्रति आश्रित हुने प्रवृत्ति बढ्न थाल्छ।

प्रजातान्त्रिक पद्धतिबाट पार्टीले कार्यकर्ता उत्पादन गर्न नसकेपछि सिद्धान्तको नभएर नेताको पछि लाग्ने जमात उत्पादन हुन्छ। शासकका नजिकका मान्छेलाई मात्रै प्रोत्साहन गर्ने व्यवस्थालाई त हामीले ‘नो’ भनेर अघि बढेका हौं भन्ने सम्झनुपर्छ र कार्यकर्तालाई ‘एस् म्यान’ बन्न बाध्य पार्नुहुँदैन। लोकतन्त्र त चित्त नबुझ्ने, प्रश्न गर्नेहरूका लागि आएको हो। सबैले नेतृत्वमा पुग्ने समान सपना देख्न पाउने अधिकार सुनिश्चितताका लागि आएको हो। टिके प्रथाले “एस् म्यान” जन्माउँछ।

लोकतान्त्रिक पद्धतिको अनुसरण गरेर नेतृत्वमा पुग्छु भन्नेहरूलाई राजनीतिमा रहन मन हुँदैन। लोकतान्त्रिक व्यवस्थामा पनि नेतृत्व लिन चाहनेहरू एस् म्यान हुन बाध्य पारिन्छन् भने त्यहाँ लोकतन्त्रको हिमायती कहलिने अधिकार कसैलाई हुँदैन। लोकतन्त्र त निर्वाचनले पो सुन्दर बनाएको हो त। जहाँ नेतृत्वको आकांक्षीले निर्वाचन लडेर हार्न पाउँछ, हामीले त्यस्तो व्यवस्था मागेका हौं।

नेपाली कांग्रेसका भ्रातृ संघहरूमा जनतालाई कांग्रेसमा आकर्षित गर्न सक्ने, नेपाली कांग्रेस नै किन त भनेर बुझाउन सक्ने चेतना हुन्छ र गाउँगाउँ गएर बुझाउन सक्ने ऊर्जा पनि हुन्छ। भ्रातृ संघ नेतृत्व विहीनताबाट गुज्रँदै गर्दा नेपाली कांग्रेस धेरै भन्दा धेरै ऊर्जा लिएर जनतामाझ पुग्नबाट वन्चित भएको छ।

आज वैशाख ६ नेविसंघ स्थापना दिवस। २०२७ सालदेखिको नेविसंघको इतिहास र वर्तमान हेर्दा विद्यार्थी राजनीति चरमोत्कर्षबाट ओरालो लागिरहेको प्रष्ट देखिन्छ। यसको जिम्मेवारी नेपाली कांग्रेसको नेतृत्वले लिनै पर्छ।

यो सबै कुरा गर्दै गर्दा मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ, स्थापनाकाल र विद्यार्थी बेलादेखि नै लोकतन्त्रको अभ्यास सिकाउने थलोलाई नै टिके प्रथाको अखडा बनाएर नेपाली कांग्रेसले देशलाई कसरी लोकतन्त्रको पाठ पढाउन सक्छ ?

(ढकाल नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?