+
+

चार उपमहानगरमा दाबी नछाड्न प्रचण्डलाई दबाव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:११

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

‘महानगरमा एकवटामा मात्रै चित्त्त बुझाएर जाने स्थिति सिर्जना भयो,’ बैठकमा सहभागी एक पूर्व स्थायी समिति सदस्यले भने, ‘यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आयो ।’

महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर–सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे ‘बिफ्रिङ’ गरेको पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिए । ‘अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उहाँले तपाईंहरुको यसमा राय के छ भनेर सोध्नु भएको थियो,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले महानगर र उपमहानगरमा मिलाएर जाँदा राम्रै हुन्छ भन्ने सुझाव दियौं ।’

त्यस्तै माओवादी केन्द्रको सोमबार अबेर केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रचण्डले अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘तल पनि मिलाएर जाने कोसिस गर्नुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘मुख्य आधार आफ्नो शक्ति हो, त्यसमा भर पर्नुपर्यो । मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?