
६ वैशाख, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंका सबै भाग र ग्राहकलाई समानुपातिक ढंगले वितरण गर्नुपर्ने बताएका छन् । उनले ११ वैशाखदेखि काठमाडौं उपत्यकाका १० पानी ट्यांकी (पोखरी)बाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिए ।
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले अब वितरण कुनै कारण वा बाहना देखाएर रोक्न नमिल्ने बताए ।
२९ चैतदेखि सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रबाट सुरुङमा पानी भर्न सुरु गरिएको थियो ।
उनले काठमाडौंको कुनै ठाउँमा पानी नै नआउने र कुनै ठाउँमा गाडी धुने गरी पानी आउने अवस्था आउन नहुने बताए ।
४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने तथ्यांक अस्वभाविक रहेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको महसुल समयमै उठाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई निर्देशन दिए ।
एसियाली विकास बैंक (एडीबी) ले समेत केयूकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए ।
उनले वर्षायाममा मेलम्ची नदीमा पुनः बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्वसूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नु पर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाइड्रोलिक गेट हाल्न निर्देशन दिए ।
खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपातिक ढंगले वितरणको लागि पूर्वतयारी गर्नुपर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनु पर्ने बताए ।
खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले उपभोक्तालाई असमानताको महसुस नहुने गरी व्यवस्थापन चुस्त बनाउनु पर्नेमा जोड दिए ।
केयूकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले काठमाडौंमा दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।
आगामी आइतबारदेखि केयूकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पानी वितरण हुने उनले बताए ।
प्रतिक्रिया 4