+
+
अन्तर्वार्ता :

अब गठबन्धनका नेताहरु देशभर जान्छौं : रामचन्द्र पौडेल

रामचन्द्र पौडेल. नेता, नेपाली कांग्रेस रामचन्द्र पौडेल. नेता, नेपाली कांग्रेस
२०७९ वैशाख ७ गते २०:००

७ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निधो गरेको सत्तारुढ दलहरुले बुधबार महानगर र उपमहानरपालिकाका मेयर र उपमेयरमा उम्मेदवारको भागवण्डा गरे ।

देशैभर तालमेल गरेर जाने बताउँदै आएका गठबन्धनका नेताहरुलाई ६ महानगर र ११ उपमहानरपालिकाबारे निष्कर्षमा पुग्नै हम्मे पर्‍यो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी अभियानमा जिल्ला दौडाहमा रहेका बेला गठबन्धनको टुंगो लगाउन बालुवाटारमा रातदिन बैठक गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले सहमतिमा पुग्नुलाई ठूलो सफलता मानेका छन् ।

यसै सन्दर्भमा स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसित अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ ।

अब गठबन्धन कसरी अघि बढ्छ ?

गठबन्धनको संयन्त्रको बैठक भोलि फेरि पनि बस्दैछ । भोलि बसेर हामी एउटा कार्यदल पनि बनाएर तल्ला कमिटीमा पत्राचार गर्छाैं ।

गठबन्धनको एजेण्डा के हुन्छ ?

गठबन्धनले वास्तवमा यो मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनु छ । यो मुलुकमा परिवर्तन विरोधीहरुबाट परिवर्तनको रक्षा गर्नुछ । संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने र उपलब्धीलाई जोगाउने हाम्रो मुद्धा र एजेण्डा नै यही हो । परिवर्तनको यही एजेण्डा लिएर हामी चुनाव लड्ने हो । त्यसकारण यसका लागि देशैभरि अभियान चलाउँछौं । नेताहरु सबै ठाउँमा जान्छौं । जनतालाई अपिल गर्छाैं ।

तर तपाईंहरुको गठबन्धन चुनावका लागि मात्रै हो भन्ने पनि त छ नि ?

त्यो बिल्कुल गलत कुरा हो । यो गठबन्धन प्रतिगामी प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि हो । अहिले नेपालमा प्रजातन्त्रप्रेमी, लोकतन्त्र प्रेमी, परिवर्तनगामीको एकता आवश्यक छ । त्यसो भएको हुनाले यो स्थानीय तहको निर्वाचनदेखि नै भोलिसम्मकै लागि एकता गर्न चाहिरहेका छौं ।

भोलिसम्म भनेको संघीय निर्वाचनसम्म पनि ?

हो हामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन गर्छाैं । यो गठबन्धनबाट अत्तालिएका छन्, एकता विरोधीहरु, गठबन्धन विरोधीहरु । त्यही भएर जस्ता प्रतिक्रियावादीहरुसँग पनि केपी ओली हात मिलाउन पुगेका छन् ।

त्यसो हुँदा त कांग्रेसभित्रै पनि अत्तालिएका छन् भन्न मिल्यो नि हैन ?

त्यो छ बाबा, धेरै खेल भएको छ, नेपाल बचाउनु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?