+
+

चुनाव लड्न धमाधम राजीनामा दिंदै रोल्पाका जनप्रतिनिधि

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख १० गते ८:३७

१० वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुन: उम्मेदवारी दिन यहाँका विभिन्न स्थानीय तहका ३८ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
रोल्पा नगरपालिकाबाट वडा नं. ५, ६, ९ र १० का वडाध्यक्ष र ४ जना वडासदस्यले रोल्पा नगरपालिकामा राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा वडा नंं ५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं. ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर, वडा नंं ९ का वडाध्यक्ष मिमबहादुर घर्तीमगर र वडा नंं १० का वडाध्यक्ष मानबहादुर रहेका छन ।

वडा नं. ५, ६ र ९ का वडाध्यक्ष माओवादी केन्द्र र वडा नं. १० वडाध्यक्ष नेपाली कांग्रेसवाट निर्वाचित भएका थिए । उनीहरू सबैले पुनः वडाध्यक्षमा दोहोरिने गरी राजीनामा दिएका हुन् ।

यसैगरी सुनछहरी गाउँपालिकाबाट २ जना वडाध्यक्ष र २ जना वडा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिने वडाध्यक्षहरूमा वडा नंं ४ का खड्कबहादुर घर्तीमगर र वडा नंं ६ का वडाध्यक्ष अमरजीत पुनमगर रहेका छन । उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

त्रिवेणी गाउँपालिकाबाट पाँच जना वडाध्यक्ष र एक जना वडा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिने वडाध्यक्षहरूमा वडा नंं १ का वडाध्यक्ष देउराम घर्तीमगर, वडा नं. २ का वडाध्यक्ष,कविराज वुढमगर, वडा नं. ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं. ६ का वडाध्यक्ष लेखमणी डाँगी रहेका छन् ।

वडा नं. १ का वडाध्यक्ष नेकपा माओवादी केन्द्र, वडा नंं २ र ५ का वडाध्यक्ष नेकपा एमालेबाट र वडा नंं ६ का वडाध्यक्ष नेपाली कांग्रेसवाट निर्वाचित भएका थिए । वडा नंं १,२ र ५ का वडाध्यक्षहरू पुनः सोही पदमा र वडा नंं ६ का वडाध्यक्ष गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने भएकाले राजीनामा दिएका हुन् ।

थवाङ गाउँपालिकाबाट एक वडाध्यक्ष र चार जना वडा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिने वडाध्यक्षमा वडा नंं ५ का वडाध्यक्ष गोवर्द्धन घर्तीमगर रहेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

रुन्टीगढी गाउँपालिकावाट १ वडाध्यक्ष र ४ वडा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिने वडाध्यक्षमा वडा नंं १ का मीनबहादुर थापामगर रहेको गाउँपालिकाले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सुनिलस्मृती गाउँपालिकावाट १ वडाध्यक्ष र ३ वडा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा नं. ४ का वडाध्यक्ष गंजबहादुर महरा रहेका छन् । महरा नेपाली कांग्रेसवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली काँग्रेसको तर्फवाट गाउँपालिका अध्यक्षका सम्भावित उमेदवार भएकाले वडाध्यक्षवाट राजीनामा दिका हुन् ।

माडी गाउँपालिकामा ५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । यस्तै, गंगादेव गाउँपालिकामा हालसम्म १ जना वडाध्यक्षको मात्रै राजीनामा आएको छ । वडा नं. ४ का वडाध्यक्ष रामबहादुर वलीले राजीनामा दिएका छन। ।यसैगरी सोही गाउँपालिका वडा नंं ३ वाट वडासदस्यमा निर्वाचित भई हाल जिल्ला समन्वय समिति रोल्पाको सदस्य रहेका लोकमान वलीले पनि राजीनामा दिएका छन् । वलीद्धय नेकपा माओवादी केन्द्रवाट निर्वाचित भएका थिए ।

परिवर्तन गाउँपालिका र लुंग्री गाउँपालिकामा भने शुक्रबारसम्म कुनै जनप्रतिनिधले राजीनामा दिएका छैनन् । मनोनयन दर्ता गर्नु अघि राजीनामा आउने गरी फोनमा सम्पर्क भएको ती स्थानीय तहले जानकारी दिएका छन् ।

अध्यक्षमा चर्चा हुनेहरूको आएन राजीनामा

जिल्लामा केही स्थानीय तहका अध्यक्षहरूले पुनः सोही पदमा दोहोरिने चर्चा चले पनि उनीहरूको हालसम्म राजीनामा आएको छैन । रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम वुढामगर पुनः सोही पदमा दोहोरिने चर्चा चले पनि उनले शुक्रबारसम्म राजीनामा दिएनन् । उनी नेकपा एमाले रोल्पाको अध्यक्षसमेत हुन । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको पनि पुनः सोही पदमा दोहोरिने चर्चा चले पनि उनले पनि राजीनामा दिएका छैनन् । उनले नेकपा एमालेको तर्फबाट निर्वाचन जितेका थिए । वली नेकपा एमालेको लुम्बिनी प्रदेश सदस्य समेत हुन् ।

गंगादेव गाउँपालिका अध्यक्षमा वीरबहादुर खत्री पुनः दोहोरिने चर्चा सुनिए पनि शुक्रबारसम्म उनले पनि राजीनामा दिएनन् । उनी नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश उपाध्यक्षसमेत हुन् ।

सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनको पुनः सोही पदमा दोहोरिने चर्चा सुनिए पनि उनले पनि राजीनामा दिएका छैनन् । पुन नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्यसमेत हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसवाट निर्वाचित एक मात्र गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का पनि गाउँपालिका अध्यक्षको आकांक्षी भए पनि उनले शुक्रबारसम्म राजीनामा दिएका छैनन । उनी नेपाली कांग्रेस प्रदेश सभा (क) रोल्पाका सभापतिसमेत हुन ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढा सोही पदमा पुनः दोहोरिन चाहेको चर्चा चले पनि उनले पनि शुक्रबारसम्म राजीनामा दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?