+
+

सल्यानमा पालिका प्रमुखको दौडमा ७ महिला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १६:०७

१० वैशाख, सल्यान । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

पालिका प्रमुखका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रममालाई तीव्रता दिएका छन् । दलहरुले कतै सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेका छन् भने सर्वसम्मत नभएका ठाउँमा सबै आकांक्षीहरुको नाम समावेश गरेर माथिल्लो तहमा सिफारिस गरिरहेका छन् ।

सल्यानमा अहिलेसम्म मुख्य गरी कांग्रेस, माओवादी र एमाले पार्टीले पालिका प्रमुखको उम्मेदवारीमा ७ जना महिलाको नाम सिफारिस गरेको छ । सर्वसम्मत नभएर धेरै आकांक्षी भएका पालिकाहरुमा महिलाको नाम सिफारिसमा परेका छन् । तर सर्वसम्मत उम्मेदवार टुंगिएको पालिकामा भने महिलाको नाम सिफारिस भएको छैन ।

नेकपा माओवादी केन्द्रले बागचौर नगरपालिकाको प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य टीका बुढाथोकीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । बुढाथोकीसँगै माओवादी केन्द्रबाट बागचौर मेयरका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य ५ जना पुरुष छन् । त्यस्तै माओवादीले कुमाख र छत्रेश्वरी गाउँपालिकामा पनि महिला उम्मेदवारलाई सिफारिस गरेको छ । कुमाखमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर र छत्रेश्वरीमा गीताञ्जली भण्डारीको नाम सिफारिस भएको छ । यी पालिकाहरुमा पनि सर्वसम्मत सहमति नहुँदा धेरैको नाम सिफारिस भएको हो । सिफारिस हुने अन्यमा पुरुष छन् । माओवादीले उम्मेदवार टुंगो लगाएका सल्यानका ७ पालिकामा भने सबै पुरुषको नाम सिफारिस भएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले शारदा नगरपालिकाको मेयरका लागि बहालवाला उपमेयर सावित्रा बस्नेतको नाम सिफारिस गरेको छ । यो पालिकामा पनि कांग्रेसभित्र सर्वसम्मत नहुँदा मयेरका लागि बस्नेतसँगै ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य २ जना पुरुष हुन् । कांग्रेसले बागचौर नगरपालिकामा प्रमिला चन्द र बनगाड कुपिण्डे नगरपालिकामा सुन्दरा शाहीको नाम प्रदेशमा सिफारिस गरेको छ । यी पालिकामा पनि कांग्रेसभित्र सर्वसम्मत सहमति नहुँदा अन्य पुरुषहरुको नाम पनि सिफारिस भएको छ ।

त्यस्तै नेकपा एमालेबाट पालिका प्रमुखमा एक जना महिलाको नाम सिफारिस भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको मेयरका लागि आशा ओलीको नाम सिफारिस भएको हो । यहाँ पनि सर्वसम्मत नहुँदा ४ जनाको नाम सिफारिस भएको छ । जसमा तीन जना पुरुष छन् ।

एमालेबाट सिद्धकुमाख गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि बहालवाला उपाध्यक्ष पुष्पा बोहराको नाम चर्चा भएपनि उनि फेरि उपाध्यक्ष लड्ने भएकी छन् । ‘अध्यक्षमा मेरो दाबी हो’, बोहराले भनिन्, ‘तर यहाँ म भन्दा अग्रजले अध्यक्षमा लड्ने भनेपछि उपाध्यक्षमा कोही नहुँदा फेरि म उपाध्यक्षमा लड्नुपर्ने भयो ।’ उनले आफूले उपाध्यक्षमा हुँदा धेरै अनुभव र काम गरेकोले अध्यक्ष हुने क्षमता भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?