+
+
खोजेको लोकतन्त्र, भोगेको लोकतन्त्र :

‘दुःख फेरिएन, विदेशिनुपर्ने बाध्यता हटेन’

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ११ गते १०:२३
निर्वाचनको मुखमै विदेश जान लागेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

धनुषाका विजयकुमार महतो शुक्रबार साउदी अरेबिया जान भनेर काठमाडौं आइपुगे । शुक्रबार बिहान १० बजेको टिकट थियो उनको ।

त्यो टिकट उनलाई पहिले आफूले काम गरेको कम्पनीले पठाइदिएको थियो । त्यसैले महतो पासपोर्ट र टिकट बोकेर ३ घण्टाअघि नै विमानस्थल पुगेका थिए ।

तर कम्पनीलाई खै के मूड चल्यो, अन्तिम अवस्थामा टिकट नै रद्द गरिदियो । फर्किएर घर जाउँ कम्पनीको विदा सकिइसक्यो ।

विदेश नगए चुलोमा आगो बल्दैन, घरका बालबच्चा पढ्न पाउँदैनन् । विदेश जान खल्तीमा पैसा छैन ।

अब के गर्ने ? उनी निकै बेर घोत्लिए । घरमा श्रीमतीलाई फोन गरेर बेलिविस्तार लगाए र गाउँमा कसैसँग केही महिनापछि दिने भाका तोकेर ऋण काढ्न भने ।

महतो काठमाडौंमै भौंतारिन थाले, घरमा उनको परिवार । विजयकी श्रीमतीले आफन्त र छरछिमेकी गुहारेपछि ब्याज तिर्ने गरी बल्लतल्ल ४० हजार जुटाइन् । त्यही ४० हजारमध्ये ३८ हजारमा विजयले साउदी अरब जान नेपाल एअरलाइन्सको टिकट काटे । ‘आफ्नै देशमा रोजगारी पाए यति दुःख गरेर को विदेश जान्थ्यो र !’ विजय भन्छन्, ‘कर्ममा विदेश लेखिएपछि के गर्नू ?’

उनले लेखेपढेका छैनन् । पढ्न नपाउनुको कारण गरिबी नै हो । उनको बाल्यकाल स्कूलको साटो वनजंगल र खोलानालाको किनारमा गाईभैंसी हेेरेर बित्यो । जन्मेदेखि अभाव, गरिबी र दुःखको संगतमा परेका विजयलाई अहिले पनि न चुनावले छुन्छ, न त नेताहरूको बोलीले । उनले थाहा पाइसकेका छन्, नेताले न जागिर दिन्छन्, न त कुनै काम गर्न सक्ने कलकारखाना नै खोल्छन् । भन्छन्, ‘काम पाइने आशमा थुप्रै पटक भोट दिएँ, तर खेर गयो ।’

देशले हरेक चुनावमा नयाँ नेता र नयाँ प्रधानमन्त्री पायो । उनीहरूले चुनावमा नयाँ-नयाँ नारा ल्याए र आश्वासन बाँडे । रोजगारी दिन्छौं, विदेशमा पसिना बगाउने बाध्यता अन्त्य गर्छौं भने । तर जनताका दुःख ज्यूँका त्यूँ रहे । न रोजगारी पाए । न त विदेश जाने बाध्यता नै हट्यो ।

जम्मा ३१ वर्षका हुन् महतो । उनले जीवनको ऊर्जाशील १२-१३ वर्ष खाडीको तातो हावामा बिताएका छन् ।

नेपालमै रोजगारी पाए किन विदेश जान्थें र ? आफ्नो जमिनबाट हुने उब्जनीले वर्षभर खान पुग्दैन । एकातिर हातमुख जोड्नुपर्छ, छोराछोरी पढाउनुछ ।

दुःख त तब अझै बढ्छ, जब ३०-३५ हजारका लागि देश छाड्नुपर्छ । ४५ डिग्री तातो मरुभूमिमा पसिना बगाउनुुपर्छ । भनेको बेला घर आउन पाइँदैन । ‘देशमा व्यवस्था बदलियो । बाध्यताले विदेशै जा भन्छ । बाबा भनेर तोतेबोली बोल्ने छोराछोरी र बुढेसकालकी आमालाई छोडेर खाडी जान कसलाई रहर हुन्छ र ?’ महतो भन्छन्, ‘नेता फेरिए, जनताको अवस्था बदलिएन, दुःख फेरिएन ।’

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक करिब २ हजार नेपाली कामको खोजीमा विदेश जान्छन् । विभागको तथ्यांक हेर्दा मासिक करिब ६० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तिनैमध्येका एक हुन् नेपालगञ्ज नरैनापुरका निशार अहेमत खान । भविष्य खोज्न भन्दै साउदी अरेबिया जाँदैछन् । ‘नेपालमा काम भए बोली, भाषा नै नमिल्ने देश किन जान्थे र ?’ खानले भने ।

कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । एक घर- एक रोजगारी जस्ता कैयौं नारा सुनेका छन् खानले । तर हात लाग्यो शून्य । नारा लागे त केवल चुनावका लागि लागे । नारा लेखिए त केवल कोरा कागजमा लेखिए । व्यवहारमा कहिल्यै लागु भएन । ‘लोकतन्त्र, प्रजातन्त्र त जनताका लागि नभई नेताका लागि मात्रै आएको रहेछ’ उनले अनलाइनखबरसँग भने, ‘जनताका लागि आएको भए काम माग्न विदेश जानेको विमानस्थलमा भीड लाग्दैनथ्यो ।’

४० वर्षका भए अहेमत खान । परिवार पाल्न उनी कहिले कतार, कहिले दुबई त कहिले मलेशिया पुगेका छन् । यसपालि उनी साउदीका लागि उडेका हुन् ।

उनलाई सानोतिनो भए पनि नेपालमै काम गर्न रहर थियो । घरपरिवारसँग बसेर खान पाइए बरु एक गास कम खान तयार थिए । तर उनको खुसी र बाध्यता न सरकार बुझ्छ, न त हरेक चुनावका बेला आश्वासन बाँड्दै हिंड्ने नेताले ।

‘छोराछोरी, आमा-बा, श्रीमती सबैलाई प्यारो लाग्छन् । गाउँघर, देश कसलाई प्यारो लाग्दैन र ! हामी त बाध्यताका अगाडि मजबुर छौं, मजबुर बनाइयो’ खानले भने ।

*** *** 

सर्लाही मलंगवाका सिकन्दर मुखिया दुबई जान शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका थिए ।

उनीसँग कम्पनीले पठाएको बिहान १० बजेको टिकट भए पनि समयमा नपुग्दा फ्लाइट छुट्यो ।

उनी घरबाट ऋणपान गरेर पैसा मगाई टिकट काटेर कागजात हेर्दै ट्रलीमा बसिरहेका थिए । ‘गरेर खान गाउँमा जमिन छैन ।

सरकारले काम दिएन’ ३३ वर्षका मुखिया भन्छन्, ‘नेताहरूले आफू र आफ्नो मात्रै हेरे, जनताका दुःख कहिल्यै बुझेनन् ।’

मुखिया वैदेशिक रोजगारका क्रममा दुई पटक कतार गइसके । नेताहरूले चुनावका बेला जनतालाई हेर्ने भान पार्ने र अरू बेला जनताको वास्ता नगर्ने उनको गुनासो छ । ‘जति पनि आन्दोलन, विरोध प्रदर्शन भए, गरिए, सबै नेताका लागिरहेछ । जनतालाई त कहाँ लोकतन्त्र आएको रहेछ र ?’ उनी प्रश्न गर्छन् ।

नेता कुर्सीमा पुग्न र भ्रष्टाचार गर्नमै व्यस्त रहेको भन्दै उनी आक्रोश पोख्छन् ।

आफू र परिवारको भविष्यका लागि विदेशिनु परेको भन्दै उनले भने, ‘नेपालमै काम गर्ने मेरो पनि चाहना थियो । मन लागेको बेला घर जान पाइन्थ्यो । घरपरिवार आँखै नजिक हुन्थ्यो । तर नेता गतिला नभएपछि जनताले दुःख पाउने रहेछन् ।’

*** ***

महोत्तरीका कमल सहनी कतार जाँदैछन् । उनलाई न चुनावको मतलब छ, न त कुनै नेताले जनताका लागि काम गर्छन् भन्ने विश्वास । ‘नेताको कुरै नगरौं, सबै कुर्सीका लागि लडिरहेका छन् । सबै म र मेरो भन्नेमै लागिरहेका छन् । जनताका दुःख-दर्दको कसलाई के मतलब छ र ?’ उनी सुरुमै भन्छन् ।

सके गरिखाने, नसके भोकै मर्ने अवस्था रहेको बताउँदै सहनी जनताका लागि कुनै परिवर्तन नआएको बताउँछन् । ‘नेताले जनतालाई रोजगारी कहिले दिन्छ ? काम कहिले पाइन्छ ? उनी भन्छन्, ‘जनता त विचरा हुन्, पेट पाल्न विदेश जानैपर्छ ।’

यो पनि पढ्नुस् 

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?