+
+

कागजमा सीमित नहोस् लोकतन्त्र

हामी आफ्नै हक, अधिकार प्राप्तिका लागि लड्न सक्दैनौं ? म लोकतन्त्रको अनुभूति सबैले गरून् भनेर सरकारलाई खबरदारी गर्छु । के तपाई पनि त्यो आँट गर्नुहुन्छ ?

आदर्शविक्रम सिंह आदर्शविक्रम सिंह
२०७९ वैशाख ११ गते १३:११

एक सय चार वर्षे जहानियाँ राणा शासनको २००७ सालमा अन्त्य भएर प्रजातन्त्रको उदय भयो । २०५२ सालबाट सुरु भएको दश वर्षे जनआन्दोलन २०६२/६३ मा गएर शान्त भयो । देशमा समयको विभिन्न कालखण्डमा भएका घटना, सन्दर्भ र परिवर्तनलाई खोतल्ने हो भने लामो फेहरिस्त बन्छ । त्यसो नगरौं । विभिन्न घटना, सन्दर्भ र परिवर्तनबाट पाठ सिकेर अगाडि बढौं । कति एउटै परिवर्तनको नाराले सत्तामा टाँसिनु ? अझै उनै अनुहार उनै परिवर्तनका भाषण गरेर फेरि त्यही भ्रष्ट कर्म गर्नका लागि दोहोरिनु साँच्चिकै लज्जास्पद विषय हो ।

कुनै समय टाउकाको मूल्य तोकिएका मान्छेको टाउकाको फोटो देखाइदिँदा अहिले काम बन्छ । बनाएको सरकार, लेखेका नीति नियमको संविधान यति कमजोर भइसक्यो कि कुनै नेताले रातारात संविधानका परिच्छेद, अनुसूचि, धारा, उपधारामा तलमाथि गरिदिन सक्छ । संविधान भनेको देशको मूल कानुन हो भन्ने नै हामीले थाहा नै पाएका छैनौं । प्रत्याभूत नै गरेका छैनौं । हाम्रा हक, अधिकारका बारेमा राज्यले के कस्ता व्यवस्था गरेको छ त्यो थाहा पाउनु त धेरै परको कुरा हो । नागरिकलाई यतिसम्म लाग्न थालिसकेको छ कि जो सत्तामा जान्छ, केन्द्रीय राजनीतिसँग सरोकार र सम्बन्ध राख्छ, यो उसैको देश हो ।

अधिकांश नागरिकले आवाज बुलन्द गरेर भन्न नसक्ने, बोल्दा पनि सानो आवाजले गुनासो पोख्ने एउटै लाइन छ । ‘जसको पावर र पहुँच छ, उसैको रजाई छ ।’ तिनै गुनासो गर्ने पुस्ताका छोराछोरी अचेल दिउँसो टर्च बालेर सरकार खोज्न सडकमा कुदेका भेटिन्छन् । उनीहरूको चेतनामा विकास भएर होइन, सरकार भगवान जस्तो भयो । छु भन्ने तर नभेटिने अनि उनीहरू कता हरायो भनेर खोज्न निस्केका छन् ।

देश संघियतामा प्रवेश गर्याे । केन्द्रीय, प्रदेश र स्थानीय गरेर तिन तहका सरकार बने । अब जनतामा आशाका किरणहरू फैलिन सुरु गरेका थिएँ । लोकतन्त्रको प्रत्याभूत गर्नको लागि नागरिकहरू व्यग्र प्रतिक्षामा गरिरहेका थिए । लोकतन्त्र भित्र जनताको सुख, शान्ति र समृद्धिका लागि आवश्यक सबै कुराहरू सम्मिलित गरिएको थियो । सिधा, सोझा र इमान्दार नागरिकले कसैले आशा देखायो भने त्यसको विश्वास र भर परिरहने बानी हुँदोरहेछ । त्यहीँ आशा र भर परेर उनीहरू वर्षाैंदेखि प्रतिक्षा गरिरहेका छन् ।

अहँ, कसैले पनि सुख, शान्ति र समृद्धिमध्ये एउटा पनि लिएर पुगेको छैन । आम नागरिकहरू निराश छन् । अहिले हरेक पाँच वर्षमा हुने चुनावमा कुनै नयाँ उम्मेवार आयो भने यसले पक्कै पनि ल्याउछ होला सोच्छन् तर जो उम्मेवार विजयी हुन्छ । उसले आफ्नो, आफ्नो परिवारको र आफ्ना नजिकका मान्छेको जीन्दगीमा बाहेक अरु कसैको जीन्दगीमा सुख, शान्ति र समृद्धिको कल्पनासम्म गर्दैन, ल्याउँदैन ।

लोकतन्त्र खराब होइन । हुँदै होइन । केन्द्रीय, प्रदेश र स्थानीय सरकार बनेपछि अलिकति भएपनि लोकतन्त्र प्रत्याभूत भएकै हो । यो कुरालाई नकार्न सकिंदैन । तर केन्द्रीय, प्रदेश र स्थानीय सरकार बनेपछि भ्रष्टाचार व्यवस्थित र नीतिगत ढङ्गले कसैले आवाज नै उठाउन नसकिने गरी गर्न सकिने भयो । छोटकरीमा भन्दा तीनै तह व्यवस्थित भ्रष्टाचारका अखडा बन्न पुगेँ । जो कुर्सीमा जान सक्छ, उसको वर्ग उत्थान भइहाल्यो, भ्रष्टाचार भइहाल्यो । त्यहीँ भएर पनि पछिल्लो समय स्थानीय सरकारको कुर्सीमा जानको लागि अकुत खर्च हुन्छ । यो क्रम अहिले पनि जारी छ, थप रफ्तारमा जारी छ ।

मैले लोकतन्त्रप्रति वा सरकारप्रति पूर्वाग्रह राखेर यस्तो विचार लेखेको होइन । म यो देशको नागरिक हुँ । मैले लोकतन्त्रको नाममा जे देखेँ, जे अनुभूत गरेँ, त्यही लेखेको छु ।

नागरिक केन्द्रित विकास शून्य देखिन्छ । विकास पनि कसरी हुन लाग्यो भने विकास भन्ने पनि हुन्छ है भनेर थाहा पाउनको लागि चुनाव कुर्नुपर्छ । कि त असार मसान्त कुर्नुपर्छ, जतिबेला बजेट विनियोजन हुन्छ । चुनाव नजिकै रोड र नाली बनाउने खालका विकास हुन्छन् । यसले फेरि भोटको माग गर्दछ भने असारे विकासमा बजेट सिध्याउने खालका विकास हुन्छन् । यति सरल कुरा बुझ्न कति वर्ष लाग्ने हो ?

अब सोच्ने पालो सचेत र जागेको छु भन्ने नागरिकहरूको हो । के हामीले खोजेको लोकतन्त्र छाडा लोकतन्त्र हो ? के हामीले खोजेको लोकतन्त्र नामको मात्र लोकतन्त्र हो ? हामीले लामो समय राजाको छोरा नै राजा हुने व्यवस्था भोग्यौं । राजतन्त्रभित्र पनि राणा शासनजस्तो निरंकुश व्यवस्था पनि व्यहोर्‍यौं । तिनै व्यवस्थालाई लात हानेर ल्याएको व्यवस्था जो सत्तामा गयो उही राजा हुनको लागि हो ?

हामी आफ्नै हक, अधिकार प्राप्तिका लागि लड्न सक्दैनौं ? म लोकतन्त्रको अनुभूति सबैले गरून् भनेर सरकारलाई खबरदारी गर्छु । के तपाई पनि त्यो आँट गर्नुहुन्छ ?

आम नागरिकले पनि भनोस्, मेरो अभिभावक सरकार हो । जबसम्म मेरो देश छ, तबसम्म म स्वतन्त्र र सुरक्षित जीवन बाँच्न सक्छु । सरकारले आम नागरिकलाई सरकार हुनुको महसुस गराउनु नै त लोकतन्त्र हो ।

जबसम्म लोकतन्त्रका परिभाषाहरू, सिद्धान्तहरू कागजमा मात्र लेखेर राखिन्छन्, तबसम्म यिनी भाषणमा मात्र सीमित हुनेछन् । जनप्रतिनिधिहरूले जनताले महसुस गर्नेगरी काम सुरु गर्नुको कुनै विकल्प छैन । जतिसक्दो छिटो सुरु गर्‍यौं, त्यति नै रफ्तारमा नतिजा आउनेछ । राजनीतिमा त्यसै पनि परिवर्तन ढिलो हुन्छ भन्छन् । काम गर्न यति ढिलो भइसकेको छ । अब त सुरु गरौं ।

अनि हामी नागरिकहरू जहिल्यै नेताको चाप्लुसी, वावा र चियोचर्चामा रमाइरहेछौं । यो आउने पुस्ता माथिको ठूलो अपराध हो । एउटा सही प्रणाली विकास गर्नका लागि वीर सहिदहरूले आफ्नो प्राणको बलिदान दिए । हामी एउटा निष्पक्ष र पारदर्शी प्रणाली निर्माण गर्नको लागि सहीलाई सही र गलतलाई गलत भन्न सक्दैनौैं ? हामी आफ्नै हक, अधिकार प्राप्तिका लागि लड्न सक्दैनौं ? म लोकतन्त्रको अनुभूति सबैले गरून् भनेर सरकारलाई खबरदारी गर्छु । के तपाई पनि त्यो आँट गर्नुहुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?