+
+

टेस्लाको ३ महिनाको मुनाफा ४ खर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:३०

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूको मूल्य बढाइरहेको छ । तर, चर्को मूल्य हुँदा पनि माग यति बिघ्न बढिरहेको छ कि कम्पनीले माग पूरा गर्न सकेको छैन ।

कारको लागतसमेत बढिरहँदा टेस्लाको मुनाफाचाहिँ चुलिएको छ । सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले तीन अर्ब ३० करोड (४ खर्ब रुपैयाँ भन्दा धेरै) मुनाफा कमाउन सफल भएको छ ।

टेस्लाले अहिले मागको ६८ प्रतिशत मात्र कार उत्पादन गर्न भ्याइरहेको छ । कोभिड महामारीलगायतले सिर्जना गरेको आपूर्ति प्रणालीको अड्चनका कारण पनि माग अनुसारको उत्पादन तथा आपूर्तिमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।

चीनको सांघाइमा रहेको टेस्ला कम्पनीको कार उत्पादन कारखाना कोभिड १९ को कारण बन्द गरिएको थियो । यो महिनाबाट कारखाना खुल्ला भएसँगै सबै श्रमिकहरुलाई कारखानाभित्रै सुत्ने र बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ता कि श्रमिकहरूले बाहिरबाट भाइरस सारेर नल्याउन् र उद्योग पुनः बन्द गर्नु नपरोस् ।

टेस्लाले पछिल्ला दिनमा जर्मनी तथा अमेरिकाको टेक्सासलगायतका ठाउँमा नयाँ कारखाना स्थापना गरी आफ्नो उत्पादन तथा आपूर्ति विस्तार गरिरहेको छ ।

सन् २०२२ को पहिलो त्रैमासिकमा टेस्लाले तीन लाख १० हजार वटा कार ग्राहकसम्म पुर्‍याएको छ ।

कम्पनीका सीईओ एलन मस्कका अनुसार सन् २०२१ को तुलनामा यो वर्ष कारको उत्पादन समग्रमा ६० प्रतिशतले बढाइनेछ ।
स्मरण रहोस् टेस्लाले आफ्ना प्रडक्टको विज्ञापन गर्दैन, तथापि यसका सीईओ मस्कका विवादास्पद अभिव्यक्तिलगायतका कारण निरन्तर अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको मूख्य शीर्षक बनिरहेको हुन्छ ।

अन्य कार निर्माता कम्पनीहरूले गरिरहेको विज्ञापनका कारण पनि प्रयोगकर्ताहरू टेस्लाका कारप्रति आकर्षित भएको र माग बढिरहेको कम्पनीको भनाइ छ ।

सीईओ एलन मस्कका अनुसार सन् २०२४ सम्ममा टेस्लाले ठूलो परिमाणमा स्टेरिङ ह्विल तथा पेडल विनाका कार अर्थात् रोबोट्याक्सीको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

टेस्लाको पहिलो त्रैमासिकको उल्लेख्य मुनाफाको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा पाँच प्रतिशतको बढोत्तरी देखियो । तथापि एलन मस्कका पछिल्ला गतिविधिहरूका कारण उनको ध्यान टेस्ला कम्पनीबाट अन्त भड्किने प्रति लगानीकर्ताहरू चिन्तित देखिएका छन् । मस्कले हालै ट्वीटरको करिब १० प्रतिशत शेयर खरिद गरेका छन् भने ४३ अर्ब डलरमा ट्वीटरको पूरै शेयर खरी दगर्ने प्रस्ताव राखेका छन् ।

स्मरण रहोस् टेस्ला कम्पनीको शेयर मूल्यमा पछिल्ला वर्षहरूमा अत्यधिक वृद्धि भएकै कारण एलन मस्क २६० अर्ब डलर सम्पत्तिसहित विश्वका सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । साथै एक समय उनी तीन खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै पहिलो व्यक्ति बनेका थिए ।

हृाल विश्वका दोस्रो धनी व्यक्ति जेफ बेजोसको भन्दा मस्कको सम्पत्ति करिब १ खर्ब डलर बढी छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?