
सन् २०२५ को मार्च महिनामा अमेरिकाको टेक्सास राज्यमा रहेको रकेट प्रक्षेपण स्थलबाट विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारशिप’ प्रक्षेपण गरिएको थियो ।
स्पेस एक्सको स्टारशिप दुई भागमा विभाजित थियो । यसको एक भाग ‘सुपर हेभी’ नाम दिइएको रकेट बूस्टर थियो ।
माथिल्लो भाग भने अन्तरिक्ष यान थियो, र यी दुवै भागलाई जोड्दा यसको कुल लम्बाइ ४०३ फिट थियो ।
उडानको केही मिनेटपछि सुपर हेभी छुट्टिएपछि यस्तो देखिन थाल्यो कि उक्त मानवविहीन अन्तरिक्ष यानमा केही गडबडी आएको छ । त्यसपछि त्यो अनियन्त्रित रूपमा घुम्न थाल्यो र केहीबेरमा त्यसमा विस्फोट भयो ।
अन्तरिक्ष यान त्यसरी विस्फोट हुने कुरा अनपेक्षित रहेको स्पेस एक्सले जनाएको छ । सो अन्तरिक्ष यानको जलिरहेको भग्नावशेष दक्षिण फ्लोरिडामा खसेको थियो।
सो घटनापछि फ्लोरिडामा सबै विमानहरूको उडान स्थगित गरिएको थियो । स्पेस एक्सको स्टारशिपको आठौं परिक्षण थियो त्यो । तथापि यसरी विस्फोट हुने चाहिं दोस्रो स्टारशिप अन्तरिक्ष यान हो । पहिलो दुर्घटना गत जनवरी महिनामा भएको थियो ।
स्पेस एक्सको विश्वासयोग्यताको रेकर्ड राम्रो अवश्य छ । तर, केही हप्ताको अन्तरालमै उसका दुई अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएपछि यसप्रति मानिसहरूको मनमा प्रश्न उठ्न सक्ने सम्भावना छ।
आखिर स्पेस एक्सको अवस्था कस्तो छ ?
नयाँ अन्तरिक्ष
मिसिसिपी विश्वविद्यालयको वायु तथा अन्तरिक्ष कानून विभागका निर्देशक प्राध्यापक मिशेल हेनलनका अनुसार अन्तरिक्षमा असीमित सम्भावनाहरू छन् । अन्तरिक्षको खोजले पृथ्वीमा जीवन धेरै सुविधाजनक बनाएको छ।
उनी भन्छिन्, ‘१९६० को दशकमा मानिसले अन्तरिक्षमा पाइला राखेपछि नै यसको व्यावसायिक प्रयोग सुरु भएको थियो । अहिले स्याटेलाइटहरूको मद्दतले हामी मौसमको अनुमान गर्न सक्छौं र जलवायु परिवर्तनका असरहरू सामना गर्न पनि यसले सहयोग पुर्याइरहेको छ।’
उनका अनुसार स्याटेलाइटको प्रयोग सूचना सञ्चारका लागि मात्र होइन, मनोरञ्जनका लागि पनि भइरहेको छ । स्याटेलाइटबिना हाम्रो दैनिक जीवनमा कामकाज एक दिन पनि चल्न सक्दैन । पछिल्लो दस वर्षमा अन्तरिक्षको प्रयोगमा ठूलो वृद्धि आएको छ । पहिले केवल सरकारहरूले मात्रै अन्तरिक्षको प्रयोग गर्थे तर अहिले निजी कम्पनीहरू पनि आर्थिक कारणले अन्तरिक्षतर्फ आकर्षित भएका छन्।
यी नयाँ कम्पनीहरूले अन्तरिक्षलाई फरक दृष्टिकोणबाट हेरिरहेका छन्।
अब अन्तरिक्षलाई नयाँ अर्थतन्त्रको स्रोतका रूपमा हेरिएको छ र अन्तरिक्ष हाम्रो भविष्य हो।
उनी भन्छिन्, ‘ऊर्जाका लागि हामी सधैं तेल र ग्यासमा भर परेर बस्न सक्दैनौं । पृथ्वीमा मानव अस्तित्व टिकाइराख्नका लागि हामीले अहिलेसम्म प्रयोग नगरेका अन्तरिक्षका स्रोतहरूको उपयोग गर्नु आवश्यक छ । उदाहरणका लागि, दुर्लभ खनिज वा चन्द्रमाबाट हिलियम-३ प्राप्त गर्न सकिन्छ । अर्को उपाय भनेको मानिसलाई अन्तरिक्षमा पठाएर त्यहाँ बस्ती बसाल्नु हो । त्यसका लागि अन्तरिक्षमा कसरी बाँच्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ।’
अन्तरिक्ष उद्योगका नयाँ कम्पनीहरू नाफा कमाउन चाहन्छन्, तर अन्तरिक्षका स्रोतहरूको प्रयोगबाट नाफा कमाउन अझै धेरै दशक लाग्नेछ।
अन्तरिक्षको प्रयोग र त्यहाँ मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्नका लागि धेरै अन्तर्राष्ट्रिय सन्धिहरू गरिएका छन्।
अन्तरिक्षमा व्यवहार नियन्त्रण गर्ने संयुक्त राष्ट्रको सन्धिमा ११५ देशहरूले हस्ताक्षर गरेका छन्।
प्राध्यापक मिशेलका अनुसार संयुक्त राष्ट्र संघीय सन्धि अनुसार कुनै पनि देशले अन्तरिक्षको कुनै पनि भागमा दाबी गर्न सक्दैन, किनकि यो सबै मानवहरूको साझा हो ।
तर, देशहरूले चाहेको अनुसार अन्तरिक्षको प्रयोग गर्न सक्दछन् । तथापि यसमा केही प्रश्न उठ्न सक्छन्।
प्रोफेसर मिशेलका अनुसार अमेरिकामा निजी कम्पनीहरूलाई अन्तरिक्षमा खोज गर्ने या यसको प्रयोगको लागि लाइसेन्स दिने सम्बन्धनमा कडा नियम छन् ।
वर्तमानमा मानिसहरूलाई केवल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) वा चिनियाँ अन्तरिक्ष स्टेशनमा मात्र पठाइन्छ, वा त्यहाँ वैज्ञानिक उपकरण र सामग्रीहरू पठाइन्छ।
वास्तवमा अन्तरिक्षको अवस्था मानिसहरूको लागि अत्यन्त कठिन छ र उडान धेरै महँगो छ, त्यसैले धेरै मानिसहरूलाई अन्तरिक्षमा लैजान सकिँदैन।
उनी भन्छिन्, ‘हुनसक्छ कि अर्को दश वर्षमा अन्तरिक्षमा होटलहरू पनि निर्माण गरिएलान्, जहाँ ती मानिसहरूले जान र आनन्द लिन सक्नेछन्, जोसँग धेरै पैसा हुनेछ । स्मरणीय छ कि सुरुका दिनहरुमा विमान सेवा पनि मानिसहरूको लागि धेरै महँगो थियो र केवल धनी मानिसहरू मात्र विमानमा यात्रा गर्न सक्थे । तरऽ अहिले यो पहिलेको तुलनामा धेरै सस्तो भएको छ । भविष्यमा अन्तरिक्षयात्रासँग पनि यस्तै केही हुनसक्छ।’
स्पेस एक्स कम्पनीको एउटा उद्देश्य पनि अन्तरिक्षयात्रालाई सस्तो बनाउनु हो।
नयाँ सोच
स्पेस एक्स एक निजी कम्पनी हो जसको स्थापना २३ वर्ष अघि गरिएको थियो । यसको वर्तमान सीईओ एलन मस्क सुरुदेखि नै कम्पनीको प्रमुख रहँदै आएका छन् ।
कोलोराडो बोल्डर विश्वविद्यालयमा अन्तरीक्ष भौतिक विज्ञान विषयका प्राध्यापक जैक बर्न्सका अनुसार स्पेस एक्सको स्थापना स्याटेलाइट वा उपग्रहको प्रक्षेपणका लागि गरिएको थियो र अहिले पनि यो कम्पनीको आम्दानीको मुख्य स्रोत हो ।
उनी भन्छन्, ‘सबै कम्पनीहरूको जस्तो स्पेस एक्सको उद्देश्य पनि पैसा कमाउनु हो, जुन अन्तरिक्ष क्षेत्रमा चुनौतीपूर्ण छ । जब स्पेस एक्सको स्थापना भएको थियो, त्यो बजारमा प्रतिस्पर्धा कम थियो । मात्र एक अर्को कम्पनी थियो । त्यो थियो युनाइटेड लञ्च अलायन्स । जुन बोइङ र लकहीड मार्टिनको कम्पनी थियो र बजारमा त्यहीको प्रभुत्व थियो । त्यस समय एलन मस्कले अन्तरिक्ष अन्वेषणका खर्चलाई घटाउने तरिकाबारे सोच्न थाले।’
मस्कले सोचेको तरिका यो थियो कि आफ्नै रकेटलाई धेरै पटक प्रयोग गरियोस् । बर्न्सका अनुसार रकेटको बूस्टर इन्जिन बनाउनमा पैसा र समय लाग्छ । एलन मस्कको स्पेस एक्स कम्पनीले त्यहीँ लञ्च इन्जिनलाई पुनः प्रयोग गर्ने प्रविधि पत्ता लगायो ।
यो प्रक्रिया यसरी थियो कि बूस्टर इन्जिनबाट रकेट छुट्टिएपछि इन्जिन फेरि पृथ्वीमा फर्केर आउँछ । यसलाई यन्त्रहरूद्वारा हावामा समातेर तल ल्याइन्छ । मर्मतपछि यसलाई अर्को रकेट प्रक्षेपणको लागि पुनः प्रयोग गर्न सकिन्छ । यस्तो पहिले कहिल्यै भएको थिएन । तर, स्पेस एक्सले अक्टोबर २०२४ मा यो गर्न सफल भयो।
जैक बर्न्सका अनुसार यस्तो कुरापनि सम्भव हुन्छ भन्ने कुरा सुरुमा मानिसहरुले विश्वास नै गरेका थिएनन् । तर, मस्कले रकेटलाई पुनः प्रयोग योग्य बनाएर प्रक्षेपणको खर्चलाई लगभग आधा घटाइदिए । यही प्रविधि अन्तरिक्षमा मानिसलाई पुर्याउने योजना बनाएको अन्तरिक्ष यान स्टारशिपमा प्रयोग गर्न चाहन्छन् एलन मस्क । यो प्रविधिका मद्दतले आगामी १० वर्षमा अन्तरिक्षयात्रीलाई चन्द्रमासम्म पुर्याउन सम्भव हुनसक्छ ।
सन् २०१२ मा स्पेस एक्सको अन्तरिक्ष यान ड्रागनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सामग्री पठाएको थियो । यस्तो काम गर्ने यो पहिलो निजी अन्तरिक्ष यान थियो । यस यानको नयाँ मोडेलले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फँसेका नासाका दुई अन्तरिक्ष यात्रीलाई सफलतापूर्वक पृथ्वीमा ल्याएको छ।
ज्याक बर्न्स भन्छन् कि नासा ले स्पेस एक्समा लाखौं डलर लगानी गरेको छ र नासाको सहयोग बिना स्पेस एक्सको काम जारी राख्न सम्भव हुँदैन । मस्कको अर्को उद्देश्य अन्तरिक्ष यात्रीलाई सुरुमा चन्द्रमामा र त्यसपछि मंगल ग्रहमा लैजानु हो ।
आखिर मस्कको स्पेस एक्सले हालसम्मको अद्धितीय सफलता कसरी प्राप्त गर्यो त ?
बर्न्सका अनुसार अन्तरिक्ष अन्वेषणसँग सम्बन्धित कम्पनीहरूले परम्परागत रूपमा एक विशिष्ट विधि अनुसार काम गर्दै आएका छन् । तर, स्पेस एक्सको व्यापार र काम गर्ने तरिका नयाँ छ । यसले नयाँ सिद्धान्तहरूको आधारमा काम गर्छ।
मस्कले कम्पनीमा युवा जनशक्तिलाई ल्याए, जो नयाँ प्रयोग गर्न र पुराना सिद्धान्तहरू तोड्न डराउँदैनन् । उनले नयाँ सोच अपनाए जसबाट उनीहरूले फाइदा पाए।
‘द्रुत असफलता’ सुत्र
अमेरिकाको भर्जिनिया प्रविधि विश्वविद्यालयको एयरोस्पेस एण्ड ओशन इन्जिनियरिंग विभागकी प्रमुख डा. एला एटकिन्सका अनुसार स्पेस एक्स कम्पनीले परीक्षणको क्रममा हुने यसका अन्तरिक्ष यानको विस्फोटको घटनालाई असफलता मान्दैन।
एला एटकिन्स भन्छिन्, ‘कम्प्युटर सफ्टवेयर बनाउने थुप्रै कम्पनीहरूले पहिले सफ्टवेयरको बिटा संस्करण बजारमा ल्याउँछन्, र केही समय प्रयोग गरेर यसको कमजोरीहरू पत्ता लागेपछि तिनलाई सुधार गरी अन्तिम संस्करण प्रस्तुत गर्छन् । यही सुत्र स्पेस एक्सले पनि अपनाएको हो । उनीहरूले विफलताबाट नडराइकन छिटो परीक्षण गर्छन् र विफलतापछि त्यसबाट पाठ सिकेर छिटो सुधार गर्नको लागि प्रयास गर्छन्।’
एटकिन्सका अनुसार स्पेस एक्सले आफ्ना रकेटहरूको दुर्घटनाबाट धेरै कुरा सिकेको छ । अन्य कम्पनीहरूले विश्लेषणमा धेरै समय खर्च गर्छन्, तर स्पेस एक्सले चाहिं परीक्षण र विफलताबाट छिटो सिक्ने कुरामा जोड दिन्छ त्यसैले यसको प्रविधि अन्य कम्पनीहरूको तुलनामा छिटो विकसित भएको छ।
स्पेस एक्सले अन्तरिक्ष यात्रीहरुलाई पठाउनु अघि मानवरहित अन्तरिक्ष यानको उडानमा थुप्रै परीक्षण गर्छ । त्यसैले यस सन्दर्भमा केही हप्ताभित्र दुई वटा अन्तरिक्ष यान दुर्घटनाग्रस्त हुनु कुनै आश्चर्यजनक कुरा भएन ।
एटकिन्सले भन्छिन्, ‘मेरो विचारमा यो उनीहरूको ‘फेल फास्ट’ सोच अनुसार नै भएको हो । पहिलो प्रयास पछि तिनीहरूले धेरै जानकारी प्राप्त गरे र उनीहरूलाई लाग्यो कि गल्तीहरू सुधार भएका छन् । तर तीमध्ये धेरै इन्जिनियरलाई थाहा छ कि रकेटको उडान त्यति लामो थिएन जसले अन्तरिक्ष यान र रकेट बीचको पृथक्कीरणको प्रक्रियाबारे पूर्ण जानकारी उपलब्ध गराउन सक्छ।’
रकेटको प्रक्षेपण एक निकै जटिल प्रक्रिया हो, जसमा धेरै प्रकारका गल्तीहरू हुन सक्छन्।
एटकिन्सका अनुसार जब अमेरिकाले अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठायो, त्यो केवल ९७ देखि ९८ प्रतिशत मात्रै भरपर्दो थियो । यदि हामी १०० प्रतिशत भरपर्दोको लागि पख्यौं भने, साायद कुनै पनि अन्तरिक्ष यानले उडान भर्न सक्दैन किनकि यसमा दुर्घटनाको जोखिम सधैं रहन्छ र यो चुनौती केवल स्पेस एक्सको लागि मात्र होइन ।
वास्तवमा स्पेस एक्स बाहेक अमेरिकामा अन्य कम्पनीहरूले पनि अन्तरिक्षमा प्रक्षेपणको लागि रकेट र अन्तरिक्ष यान बनाइरहेका छन् । तीमध्ये केही कम्पनीहरूले बढी भार बहन गर्ने तथा तीव्र गतिको अन्तरिक्ष यान बनाउनमा जुटिरहेका छन् । जुन असफलताहरूको सामना स्पेस एक्सले गरेको छ, त्यस्तै असफलताहरू अन्य कम्पनीहरूले पनि सामना गर्नुपर्नेछ।
त्यसोभए स्पेस एक्सका प्रतिस्पर्धी कम्पनीहरू को हुन् ? तिनीहरुले स्पेस एक्समा के प्रभाव पार्नेछन् ?
प्रतिस्पर्धा
एरिजोना स्टेट यूनिभर्सिटीको थन्डरबर्ड स्कूल अफ इनिसिएटिभ फर स्पेस लिडरशिपका निर्देशक डेविड थोमस, स्पेस एक्सको विश्वसनीयता उदाहरण दिंदै भन्छन् -नासाले तीस वर्षमा १३२ पटक अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठाएको थियो भने स्पेस एक्सको फाल्कन-९ ले मात्र गत वर्ष १३२ उडान भरेको थियो।
उनका अनुसार अन्तरिक्ष उद्योगमा स्पेस एक्सको दबदबा छ । तर, यसको केही प्रतिस्पर्धीहरू पनि छन्, जसमा ब्लू ओरिजिन कम्पनी प्रमुख हो । यसले अन्तरिक्ष पर्यटनको लागि आफ्नो अन्तरिक्ष यान बनाएको छ।
स्पेस एक्सका सीईओ एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक हुन् । तर, उनी एक्लो अर्बपति होइनन् जसलाई अन्तरिक्षको तीव्र रुचि छ । अमेजनका संस्थापक जेफ बेजोसले ब्लू ओरिजिन कम्पनी स्थापना गरेका छन् । त्यसैगरी अन्तरिक्ष पर्यटनका लागि रिचर्ड ब्रान्सनले भर्जिन ग्यालेक्टिक कम्पनी खोलेका छन्।
थोमसका अनुसार यी बाहेक अरू कम्पनीहरू पनि छन् । त्यसमध्ये एक्सियम स्पेसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई सेवा पुर्याउने काम गर्दै आइरहेको छ ।
आगामी सन् २०३१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बन्द गरिने छ । सोही कुरालाई ध्यानमा राख्दै थुप्रै कम्पनीहरूले यसको विकल्प स्थापित गर्ने योजना बनाएका छन् । जिरो टू इनफिनिटी तथा रेडवायर कर्पोरेशन पनि यस उद्योगमा समावेश छन् । फायरफ्लाइ एयरोस्पेस कम्पनीले चन्द्रमामा ल्यान्डर उतार्ने धेरै सफल परीक्षणहरू गरेको छ ।
यसका अलावा, जापानका गाडी निर्माता कम्पनीहरूले पनि यस उद्योगमा कदम राखिसकेका छन् । मित्सुबिशीले लन्च रकेट बनाइसकेको छ र टोयोटाले पनि यस्तै योजना बनाएको छ।
डेविड थोमसका अनुसार युरोपको ‘एसईएस’ एउटा ठूलो स्याटेलाइट निर्माण कम्पनी हो । हाल संसारभर लगभग ५०० कम्पनीहरू अन्तरिक्ष उद्योगमा छन् र यो संख्या बढ्न सक्ने छ । स्पेस एक्सले अन्तरिक्षमा जाने खर्च घटाएर नयाँ कम्पनीहरूका लागि यस उद्योगको बाटो खोलिदिएको छ।
अर्को कुरा के हो भने, थुप्रै नयाँ कम्पनीहरूले स्पेस एक्सको विचारधारालाई अंगlकार गरिसकेका छन्।
थोमसको विचारमा, स्पेस एक्सलाई सबैभन्दा बढी चुनौती नयाँ स्टार्टअप कम्पनीहरूबाट आउनेछ।
उनी भन्छन्, ‘नासा ले चन्द्रमाको आर्थिक प्रयोग बढाउनका लागि थुप्रै कम्पनीहरूलाई प्रोत्साहन गर्ने योजना बनाएको छ, जसअन्तर्गत नयाँ कम्पनीहरूलाई नासाले करार दिएको छ । यी नयाँ कम्पनीहरूको कुनै लामो इतिहास छैन । ती विगत दस बाह्र वर्षभित्र बनेका छन् । यी कम्पनीहरू रचनात्मक, नयाँ र किफायती तरिकामा काम गर्दैछन् । यस्ता अरू कम्पनीहरू पनि अन्तरिक्ष उद्योगमा प्रवेश गर्नेछन्।’
अब मुख्य प्रश्नतिर फर्कौं – के स्पेस एक्सको अवस्था ठीक छ?
आफ्नो २३ वर्षको इतिहासमा स्पेस एक्सले ठूलो सफलता र ठूलो असफलता दुवै अनुभव गरेको छ। हालै यसका दुई अन्तरिक्षयान परीक्षणका क्रममा दुर्घटनाग्रस्त भए । यद्यपि, कम्पनीले अनुमान गरेको थियो कि यस्तो हुनसक्छ । स्पेस एक्सले अन्तरिक्षमा उडान भर्दा लाग्ने खर्च घटाएर देखाएको छ र नयाँ कम्पनीहरूलाई प्रेरित गरेको छ ।
अहिले पनि अन्तरिक्ष उद्योगमा यो सबैभन्दा शक्तिशाली कम्पनी हो । तर, आफ्नो उचाइलाई कायमै राखिरहनका लागि स्पेस एक्सलाई सजिलो भने हुनेछैन ।
-बीबीसीबाट
प्रतिक्रिया 4