+
+

पोखरामा तरंग : गठबन्धन फुट्यो, एमालेलाई धर्मसंकट !

एमाले मेयर उम्मेदवारलाई चोरीको आरोप, उपमेयरद्वारा पद अस्वीकार

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख ११ गते २२:०७

१२ वैशाख, पोखरा । मनोनयनको पहिलो दिन स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराइरहँदा सत्ता गठबन्धन र नेकपा एमालेभित्र भने धर्म संकट थियो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई एकातिर महानगरको नेतृत्व नछाड्न कार्यकर्ताको दबाव थियो भने अर्कोतिर गठबन्धन मिलाउनै सकस परिरहँदा पार्टी कार्यालयमा भने नारबाजी चलिरहेको थियो ।

नेकपा एमालेले पोखराको मेयर र उपमेयरको नाम टुंग्याउँदा पनि नयाँ संकट आइलागेको छ । मेयरका उम्मेदवारमाथि चोरीको आरोप लगाएर पुरानो भिडियो भाइरल बनाइएको छ भने उपमेयरले फेरि त्यही पदमा चुनाव नलड्ने बताएको ।

मुख्यतः यिनै दुई विषयले आइतबार पोखरा तरंगित बताए ।

कांग्रेस पदाधिकारी कार्यालयमै थुनिए

कास्कीमा सत्ता गठबन्धनको बैठक चलिरहेको थियो, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल पार्टी कार्यालय पुगेर बेलुका बैठक बस्ने भन्दै निस्किए । पार्टी कार्यालय पुगेका सभापति बराल लगायत पदाधिकारीलाई कार्यकर्ताले कार्यालयमै थुनेर नाराबाजी गरे, ‘गठबन्धन हामीलाई चाहिँदैन ।’

कांग्रेस एक्लै चुनाव जानुपर्ने उनीहरुको माग छ । कार्यकर्ताको माग र दबाव बढेपछि कार्यालयभित्र थुनिएका सभापति लगायत पदाधिकारीले साँझ निर्णय गरे, ‘पोखराको मेयर बाहेकमा सबै पदमा मित्रवत व्यवहार गर्ने ।’

पोखराको मेयर एकीकृत समाजवादीले पाउने खबर पाएदेखि नै कांग्रेस कार्यकर्ता रुष्ट थिए । अब मेयरमा एकीकृत समाजवादीलाई समर्थन त गर्ने भएको छ, तर महानगरको सबै वडा र जिल्लाका अरु पालिकामा अरु दलसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

कांग्रेसको यो निर्णयसँगै एकीकृत समाजवादी, मेयर पाएपनि कांग्रेसले अन्तर्घात गर्ने हो कि भनेर ससंकित भएको छ । सबभन्दा बढी घाटा माओवादीलाई लाग्ने भएको छ । कास्कीमा पोखराबाहेक ४ वटै पालिकाको प्रमुख नेपाली कांग्रेसले लिने र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भइसकेको थियो ।

माओवादीले २०७४ मा मादी गाउँपालिकाका ३ वडाबाहेक अन्यत्र जितेको छैन । यो पटक ४ वटा पालिका उपप्रमुख र पोखराका ६ वडा पाउने गरी सहमति नजिक पुगिसकेको थियो । ‘गठबन्धन सहमति नजिक पुगेर मनोनयनको तयारी भइरहँदा कांग्रेसले कार्यकर्ताको दबाव भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेछ । अब हामी पनि आफ्नो ढंगले अगाडि बढ्छौं,’ माओवादी कास्की संयोजक बखानसिंह तमुले भने, ‘सबै दल मिलेर जाने भन्दाभन्दै यस्तो निर्णय आयो ।’

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएर कांग्रेस र माओवादी मिलेर वडा तथा पालिकामा भागबन्डा गरेपछि जनता समाजवादी पार्टी (जसपा) शनिबारबारकै बैठकबाट बाहिरिएको थियो । अब पोखराको मेयरसहित सबै पदमा उम्मेदवारीको तयारी भइरहेको जसपाको गण्डकी प्रदेश उपाध्यक्ष किरण थापाले जानकारी दिए । कांग्रेसको नयाँ निर्णयले सत्ता गठबन्धन थप हल्लिएको छ ।

एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चालाई पनि वडा दिनुपर्ने भएपछि कांग्रेसभित्र नेतृत्वलाई दबाव थियो । एकीकृत समाजवादीले पनि ६ देखि ८ वटा वडा मागिरहेको थियो भने जनता समाजवादीले एक पालिका उपप्रमुख र महानगरको एक वडा, राष्ट्रिय जनमोर्चाले एक वडा मागेको थियो । तर मनोनयन हुने समय घर्किन लागिसक्दा दलहरु सहमतिभन्दा फुटतिर लागेका छन् ।

‘कार्यकर्ताको दबाव र मागलाई हामीले थेग्न सकेनौं । पोखराको नेतृत्व सुम्पिएपछि अरु कुनै पनि पालिका र वडा भागबन्डा गर्नुहुन्न भन्ने नेता, कार्यकर्ताको दबाव थियो । हामी कार्यालयमै थुनियौं,’ कास्की सभापति बरालले भने, ‘हामी बाध्य भएर पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुग्यौं ।’

गठबन्धनमा दरार आएसँगै कांग्रेस र अन्य दलका कार्यकर्ताको मत आफ्नो दलको उम्मेदवारलाई नआउने हो कि भन्ने चिन्ता एकीकृत समाजवादीका नेताहरुलाई परेको छ । त्यसैपनि पोखरा एमालेको सबभन्दा बढी सुरक्षित रहेको ठाउँ मानिन्छ । दलहरु छुट्टाछुट्टै लड्दा एमालेलाई जित्न अरु दललाई सहज छैन । पोखराको दोस्रो ठूलो दल कांग्रेसका केही प्रतिशत कार्यकर्ताले मात्र मत नदिने हो भने एकीकृत समाजवादीका धनराज आचार्यलाई जित्न सहज छैन ।

‘डालोको मत मानोमा खन्याउँदा पोखिन्छ भनेर नेतृत्व दाबी गरेका थियौं, तर केन्द्रीय नेताहरुले पोखरा समाजवादीलाई सुम्पिनुभयो,’ कास्की कांग्रेस सचिव भानु ढकाल भन्छन्, ‘मेयरमा गठबन्धनलाई बलियो बनाउन, साझा उम्मेदवारलाई जिताउन लाग्र्छौं । तर, सबैलाई अनुशासनमन राख्न सक्दैनौं कि भन्ने डर छ ।’

एमालेलाई धर्मसंकट

सत्तारुढ गठबन्धनमा मात्र होइन, एमालेलाई पनि पोखरा महानगरमा सहज छैन । पोखरा महानगरपालिकाको उम्मेदवार टुंगो लगाउँदै एमाले सचिवालय बैठकले सार्वजनिक गर्‍यो :– मेयरमा दीपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ ।

दुई सांसदसहित १२ जनाको नाम सिफारिस भएकोमा टुंगो लागेको नाम सार्वजनिक भएसँगै एमाले नेता, कार्यकर्ता मात्रै होइन, स्वयं उम्मेदवार समेत तीन छक पर्‍यो । पोखरामा चर्चा बाहिर रहेका र धेरैले अनुमान समेत नगरेका पौडेलको नाम सुनेर नेता, कार्यकर्ता अचम्ममा परे । दाबी नै नगरेको उपमेयर पदमा फेरि नाम टुंगो लागेपछि मञ्जुदेवी दोधारमा परिन्, ‘लड्ने भए मेयरमै निवेदन दिन्थें, उपमेयरमा त उठ्ने चाहनै छैन । उठ्ने कुरा नि भएन ।’

पोखरामा उम्मेदवारको टुंगो लगाएको केही समयमै एमालेलाई अर्को झड्का लागिहाल्यो । मेयरका उम्मेदवार पौडेल सुन चोरी केसमा फसेको भन्दै भिडियो पोस्ट हुन थाल्यो । सुन पसलमा बसेर गहना हेरिरहेका पौडेलले केही ख्ुसुक्क खल्तीमा हालेको यो भिडियोमा देखिन्छ । उनले सिक्री चोरेको र थाहा पाएर माफ मागेको तथा पार्टीले मिलाएको चर्चा पोखरामा छ ।

भिडियोले मेयरका उम्मेदवार पौडेललाई मात्र होइन, पार्टीमाथि नै प्रहार गरेपछि एमालेलाई अप्ठ्यारो पारेको छ । ‘पहिलो दिन नै हामीलाई झड्का लाग्यो । तर सानोतिनो झड्काले एमालेलाई हल्लाउँदैन, हामी सामना गर्र्छौं,’ एमाले महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले भने, ‘मेयरको विषयमा पनि नेताहरु छलफलमै हुनुहुन्छ, उपमेयरले पनि नउठ्ने भनेपछि अर्को पात्र खोज्नुपर्ने भयो ।’

मेयरका आकांक्षी समेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरामा एमालेलाई शनि संकटा लागेको बताए । भन्छन्, ‘मनोनयन गर्ने बेलामा पार्टीले छानेको उम्मेदवारमाथि प्रहार भइरहेको छ । शंकट मोचन गर्ने दिशामा नेताहरु हुनुहोला ।’

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रतिस्ठाको लडाइँका कारण पोखरामा मेयरको टिकटमा पनि निषेध गरिएको एकाथरि नेताहरुको गुनासो छ ।

पूर्वमेयर तथा सांसद कृष्ण थापा पनि मेयरका आकांक्षी थिए । खगराज समूहका पूर्व सांसद थापालाई मेयर नदिन सांसद मेयर बन्न नपाउने गरी पृथ्वीसुब्बाले रोकेको कास्कीका नेताहरु बताउँछन् । थापासँगै राजीव पहारी पनि आकांक्षी थिए । पहारी पृथ्वीसुब्बा गुरुङ पक्षका हुन् । पोखरा महानगर कमिटीको अध्यक्ष बन्न खगराज समूहबाट पृथ्वीसुब्बा समूहमा लागेका पौडेललाई टिकट दिइएको गुनासो एमाले नेताहरुकै छ ।

तर उम्मेदवार पौडेलले समूहका कारणभन्दा पनि लामो समय आफूले पार्टीमा गरेको योगदान अनुसार टिकट पाएको बताएका छन् । तर आफूलाई बद्नाम गराउन पुरानो भिडियो खोजेर भाइरल गराइएको बताए । ‘हामी सामाजिक काम गर्ने मान्छे, गाउँमा विवाह, व्रतवन्ध हुन्छ, गाउँमा गाइभैंसी किन्नेदेखि कपडा किन्नसमेत सँगै जाउँ भन्छन् । त्यसरी नै गइयो होला,’ पौडेलले अनलाइनखबरसँग भनेका छन्, ‘कुनै पनि सुन पसलको मान्छेले भन्छ भने म कारबाही खान तयार छु । यो बद्नाममात्र गराउने काम हो ।’

सिक्री चोरीको गम्भीर आरोप लागेपछि एमालेले पनि पौडेलसँग जवाफ मागेको छ । पौडेलको नाम बढी विवादित हुने र विपक्षीहरुको चुनावी हतियार बन्ने देखेपछि मेयरकै नाम फेर्नेबारे समेत अहिले छलफल भइरहेको एक नेताले बताए ।

मेयर मात्र होइन, उमपेयरको पनि उस्तै संकट छ । केही समय कार्यवाहक मेयर बनेर काम गरेकी उपमेयर मञ्जुदेवी गुरुङ फेरि दोहोरिन अनिच्छुक रहेको बताएपछि एमालेलाई संकट परेको छ ।

वर्तमान उपयेम समेत रहेकी उनले उपमेयरमा आफूले इच्छा नदेखाएको र फेरि चुनाव लड्ने नै भए मेयर लड्ने बताइन् । ‘मेरो त फेरि दोहोरिने इच्छा नै होइन, पार्टीले एक चोटी मलाई सोधेर निर्णय गरेको भए हुन्थ्यो भन्ने हो,’ उपमेयर गुरुङले अनलाइनखबरसँग भनिन्, ‘चाहना राख्ने त्यतिका धेरै मानिस हुँदा हुँदै मैले किन उठ्ने भनेर नउठेकी हुँ । तर अब फेरि उपमेयरमै दोहोरिन मलाई मन छैन ।’

मेयरका उम्मेदवारलाई बद्नाम गराउने गरी भइरहेको चार र उपमेयरले अस्वीकार गरेपछि एमालेले पोखराको मेयर÷उपमेयर फेरि निर्णय गर्नुपर्ने भएको छ । मञ्जुदेवीलाई मेयर दिएर रश्मी आचार्य वा दिलिप न्यौपानेलाई उपमेयरको टिकट दिने भन्ने विषयमा अहिले छलफल चलिरहेको एक नेताले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?