+
+

‘अब वडालाई सबल र व्यवस्थित बनाउनुपर्छ’

मेयर केही साता नगरपालिका बाहिर गए कार्यालयबाट दिने सेवामा समस्या नआउला । तर वडामा वडाअध्यक्षको उपस्थिति अनिवार्य छ । ऊ नभए कामै रोकिन्छ । केही पूर्वाग्रहीको व्यवहारले विभेद महसुस भए पनि असल वडाअध्यक्ष भएको ठाउँमा जनताले दुःख पाएका छैनन् ।

गोपी खनाल गोपी खनाल
२०७९ वैशाख १२ गते १०:२०

स्थानीय तहको आधारभूत जग भनेकै वडा तह हो । जनताले आधारभूत रूपमा पाउने दैनिक सेवाहरू वडा कार्यालयबाट प्रवाह हुन्छन् । विभिन्न प्रकारका सिफारिसदेखि, टोल विकास समिति गठन, अन्य कामको समन्वय स्थानीय तहको वडा समितिले गरेको हुन्छ र वडाअध्यक्ष त्यसको नेतृत्वमा रहन्छन् ।

नागरिकता सिफारिसको काम वडा तहबाट हुन्छ र त्यसमा वडाअध्यक्षको अनिवार्य संलग्नता रहन्छ । चारकिल्ला प्रमाणितदेखि सम्पत्ति सिफारिसका काम समेत वडा कार्यालयबाट हुन्छन् । अड्डा अदालतबाट केही विषय बुझ्नुपरेमा वडाध्यक्ष नै जानुपर्छ । केही दिनअघि म छोराको नागरिकता बनाउन सिफारिस लिन गएको थिएँ । वडा कार्यालयबाट नै सबै काम भएकाले नगरपालिकाको कार्यालयमा पस्नै परेन । यसरी जनताको दैनिकी जोडिने कामहरू वडा कार्यालयबाट प्रवाह हुन्छन् र वडाअध्यक्ष त्यसमा संलग्न रहन्छन् ।

ठूला स्थानीय तहका वडा कार्यालयहरू सुविधासम्पन्न छन् । त्यहाँ इन्जिनियरहरू हुन्छन् । गाउँटोलमा केही बिग्रेमा, भत्केमा वा अरू कारणले समस्या भएमा वडा तहबाट नै सम्बोधनको प्रयास हुन्छ । त्यसका लागि वडा कार्यालयमा सानो आकारमा भए पनि बजेटको व्यवस्था छ । जनताको दैनिक आइपर्ने र साना कामका लागि अहिले नगरपालिकाको कार्यालयमा जानु पर्दैन वडा कार्यालयबाट नै सेवा लिन सकिन्छ । र वडाअध्यक्षहरूले त्यो कार्यालयको नेतृत्व गरेका छन् ।

स्थानीय तह सम्बन्धी धेरै काम अहिले वडाबाट सम्पन्न हुन्छन् । काठमाडौं महानगरपालिकामा करसम्बन्धी काम समेत वडा कार्यालयबाट हुन्छ । अहिलेका वडाहरू पहिले स्थानीय निकाय हुँदाका वडाहरू भन्दा शक्तिशाली छन् । पहिलेका गाविसहरू अहिले वडा कार्यालयमा रूपान्तरण भएका छन् । कतिपय गाविसहरू अहिलेका नगरपालिकाका २/३ वडामा व्यवस्थापन गरिएको छ । उनीहरूको ‘स्कोप’ पनि बढेको छ । त्यसैले दैनिक सेवाका लागि वडा कार्यालय पहिलेभन्दा व्यवस्थित देखिन्छन् ।

वडाहरूले स–साना प्रकृतिका सेवा प्रवाहका कामहरू गर्छन् । विकास निर्माणका कामहरू गाउँ तथा नगरपालिकाको केन्द्रबाट हुने गरेको छ ।

हामीले बनाएको संरचनामा मेयर उपमेयरहरू कमजोर छन् । कार्यपालिकाबाट हुने निर्णयमा मेयरको तुलनामा वडाअध्यक्षहरूको ज्यादा बोलवाला चल्छ । किनभने त्यहाँ वडाअध्यक्ष र मेयरको अधिकारमा खासै फरक छैन । वडाअध्यक्षहरूको सहयोग विना मेयर/उपमेयरले मात्रै चाहेर नगरको योजना पास गर्न सक्ने अवस्था छैन । त्यसैले उनीहरूले विभिन्न काममा ‘नेगोसिएसन’ गरेर आफ्नो वडामा केन्द्रित भई विकास निर्माणका गतिविधि लैजान प्रयासरत रहन्छन् । कतिपयमा धेरै बजेट पार्दा हुने लाभको लोभ पनि होला ।

कतिपय पालिकाहरूमा वडाहरू बढी भिजिवल छन् । मेयर वा उपमेयर अनि गाउँपालिकाका प्रमुख र उपप्रमुख प्रभावशाली भएको ठाउँमा प्रशासकीय अधिकृतहरू आफूले चुनेको लगेका छन् र वडा तहमा प्रभाव देखिने गरी काम गरेका छन् । यस्ता कुराहरू नेतृत्वमा पनि भर पर्ने रहेछ ।

स्थानीय तहका जनप्रतिनिधिहरूले पहिलो कार्यकालमा त ‘फाउण्डेसन’ बनाउने काम पनि गरे । कतिपय वडाहरूको भवन नै थिएन । धेरै स्थानीय तहले भवनहरू बनाए, आधारभूत संरचना तयार गरे । कर्मचारी थिएनन्, सवारी साधन थिएनन्, अनेक समस्या सामना गरेर समाधान पनि खोजे । उनीहरूले पहिलो पाँच वर्ष संस्थागत विकासमा लगानी गरे । यति हुँदाहँुदै पनि उनीहरूले विकास निर्माणका कामहरू गरेका छन् ।

अहिले गाउँगाउँमा बाटो पुगेको छ । कुनै पनि ठाउँमा चुहिएको छाना भएको विद्यालय भेटिंदैन । खानेपानीको सुविधा विस्तार हुँदैछ । अब आउने जनप्रतिनिधिहरूले यसअघिका वडाअध्यक्ष वा सदस्यहरूले जस्तो संस्थागत विकासमा समय खर्चिनुपर्ने अवस्था छैन । कर्मचारीको पदपूर्ति भएको छ, अव आउने जनप्रतिनिधिहरूले पूर्ण ऊर्जाका साथ काम गर्न सक्छन् ।

स्थानीय तहबाट अहिले वडालाई खासै आर्थिक अधिकार दिइएको छैन । अब भने स–सानो आकारमा दिएर त्यसको दायरा बढाउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । काठमाडौं महानगरपालिकाले निश्चित र सानो आकारको रकमहरू खर्च गर्न दिने गरेको छ र त्यहाँ वडाले सानो आकारको राजस्व पनि संकलन गर्छ ।

कति ठाउँमा वडा कार्यालयहरू कोही सेवाग्राही आए सिफारिस गरिदिने, संयोजन गरिदिने जस्ता सामान्य विकास अड्डामा रूपान्तरित भएका छन् । कतिपय त्योभन्दा अलि सक्रिय पनि छन् । अब स्थानीय तहले कामको बोझको आधारमा स्थानीय इन्जिनियरहरू राख्नुपर्छ जस्तो लाग्छ ।

जनताको दैनिक कामको लागि अहिले मेयर वा गाउँपालिकाको अध्यक्षसँग सम्पर्क गर्नुपर्दैन । स्थानीय तहको विकासका प्रमुखको रूपमा रहेका स्थानीय तहका प्रमुख जनताको दैनिक कामसँग जोडिंदैनन् । बरु त्यसको साटो सेवा प्रवाहको इकाइका रूपमा रहेका वडा कार्यालयहरूमा वडाध्यक्ष वा सदस्यहरू जोडिन्छन् । वडा सेवा प्रवाह गर्ने इकाइ हो ।

स्थानीय तहका प्रमुखहरूले गरेको काम देखिन्छ । उनीहरू गतिशील पनि छन् । तर दैनिक सेवा र अरू काममा वडाका जनप्रतिनिधिहरू हुन्छन् । ठूला वडामा बसोबास गर्ने जनताले सेवा लिनकै लागि फेरि स्थानीय तह प्रमुखको कार्यकक्षमा जानुपर्‍यो भने अर्को विडम्बना सुरु हुन्छ ।

स्थानीय तहको सुरुको कार्यकाल आधार बनाउनमै ज्यादा गयो । पुरानो ऐन विस्थापन गरेर नयाँ जारी भए पनि नियमावली आएको छैन । केही कामहरू अहिले संक्रमणकालमा जस्तै छन् । अहिले प्रदेश तहबाट पनि रकम हस्तान्तरणको काम भएको छ । वित्तीय आयोग गठन भएर समेत राजस्व र अनुदानको बाँडफाँट भएको छ ।

स्थानीय तह गठन हँुदै गर्दा वडा कार्यालयहरू यो तहमा सफल होलान् भन्ने परिकल्पना थिएन । अधिकार भइसकेपछि वडाहरू सक्रिय पनि हुन थाले । अहिले वडाहरू सक्रिय भएपछि दातृ निकायहरूले ल्याएका कतिपय कामहरू सोझै वडा तहबाट कार्यान्वयन गर्ने भनिएको छ । अब दोस्रो कार्यकालमा वडालाई प्राथमिकता दिनुपर्छ । वडा जति बलियो, पारदर्शी र राम्रो भयो, जनताले त्यति नै अपनत्व महसुस गर्छन् । त्यसका लागि थप केही अधिकार वडा तहमा जानुपर्छ ।

जनताको दिनैपिच्छेको काम वडा तहबाटै सम्पन्न हुनुपर्ने भएकाले होला, धेरै ठाउँमा मानिसले मेयरलाई चिन्दैनन् । वडाअध्यक्षलाई मज्जाले चिनेका हुन्छन् । जनताका स–साना गुनासा जोडिएका फोन र प्रतिक्रियाहरू वडाध्यक्षलाई नै बढी आउँछन् ।

वडाध्यक्ष केही दिन बाहिर गए भने वडाको काम रोकिन्छ । बरु मेयर केही साता नगरपालिका बाहिर गए कार्यालयबाट दिने सेवामा समस्या नआउला । तर वडामा वडाध्यक्षको उपस्थिति अनिवार्य छ । केही ठाउँमा पूर्वाग्रही स्वभावको वडाअध्यक्ष हुँदा सिफारिस लगायत सेवामा जनताले विभेद महसुस गरेका छन् । तर असल वडाध्यक्ष नियुक्त भएको ठाउँमा जनताले दुःख पाएका छैनन् ।

नेपालीको जन्मदेखि मृत्युसम्मका पञ्जीकरणको कामका लागि वडा तहबाटै सबै काम हुन्छन् । स्थानीय लोकतन्त्रलाई बलियो बनाउन जनतासँग प्रत्यक्ष जोडिने वडाध्यक्ष र वडा कार्यालयको सबलीकरण गर्नुपर्छ । वडा कार्यालयहरूलाई अबको दोस्रो कार्यकालमा थप सबल र व्यवस्थित बनाउनुपर्छ ।

वडालाई समुदायसँग जोड्न हामीले थप कामहरू गर्नुपर्नेछ । पहिलेका गाविसस्तरका वडा र समुदायबीचको सम्बन्धमा दूरी बढ्न नदिन टोल समिति, आमा समूह लगायतका सामुदायिक संस्थाहरूमा सक्रियतापूर्वक वडालाई जोड्नुपर्छ । वडालाई जति शक्तिशाली र बलियो बनायो, आम नागरिकले उति नै राहत पाउँछन् । स्थानीय लोकतन्त्रका लागि वडा कार्यालय र वडा तहका जनप्रतिनिधिहरू ‘भाइटल’ संस्था हुन् ।

हामीले यो कुरा गरिरहँदा गाउँदेखि महानगरपालिका कम महत्वका संस्था हुन् भन्न खोजेको होइन । उनीहरूको भूमिका नीति, कार्यक्रम तथा अलि ठूला प्रकृतिका विकास निर्माणका कामहरू गर्ने हो । तर, स्थानीय सेवा र विकास निर्माण जोडिएका काममा वडाहरू थप सशक्त बन्नुपर्छ ।

(संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख सहसचिव खनालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?