+
+
स्थानीय तह निर्वाचन :

ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा, जित्नेमा दुवै ढुक्क

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २०:५३

१२ वैशाख, ललितपुर । सत्ता गठबन्धनका तर्फबाट ललितपुर महागनरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले टिकट दिएपछि नितर्वमान मेयर महर्जनले फेरि उम्मेदवारी दिएका हुन् ।

उनले ०७४ को चुनावमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सामान्य मतान्तरले पराजित गरेका थिए । एमालेले पनि फेरि व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । अर्थात् यसपटक पनि ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा दोहोरिएको छ ।

०७४ सालको चुनावमा २४ हजार ६४२ मत ल्याएर महर्जन मेयर निर्वाचित हुँदा व्यञ्जनकार ३२६ मतान्तरले पछि परेका थिए । पुरानै प्रतिस्पर्धा दोहोरिएको ललितपुरमा सोमबार मनोनयन दर्तापछि दुवै उम्मेदवारले आफ्नो जित पक्का भएको बताएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले गत चुनामा एक्लै लडेर जितेकाले यसपटक थप सजिलो रहेको प्रतिक्रिया दिएका छन् । एमाले र राप्रपाको गठबन्धनलाई पराजित गर्दै मेयर बनेपछि ललितपुरमा पाँच वर्षे अवधिमा राम्रो काम गरेको उनको तर्क छ ।

महर्जन जस्तै दावी व्यञ्जनकारले पनि गरेका छन् । निवर्तमान मेयर नै प्रतिस्पर्धामा उत्रिएकाले आफूलाई सजिलो भएको उनी बताउँछन् । मेयरका रुपमा महर्जनले जनतालाई सन्तुष्ट बनाउन नसककेको र एमालेप्रति जनविश्वास बढेको व्यञ्जनकार तर्क गर्छन् ।

तर बितेको चुनावी नतिजा र राजनीतिक समीकरण व्यञ्जनकारका निम्ति प्रतिकुलता देखिन्छ । ०७४ को चुनावमा साथ दिएको राप्रपा यसपटक विभाजित छ । राप्रपाबाट कमल थापाले विद्रोह गरेर राप्रपा नेपाल गठन गरेका छन् ।

यसपटक एमाले विभाजित भएको छ । तर एमालेले भने पार्टी विभाजनबाट पुगेको क्षति पूर्ति गरिसकेको तर्क गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतबाट प्रवेश गर्नेहरू बढेकाले एमाले यसपटक जित सुनिश्चित भएको दावी गरेको छ ।

मेयरमा सामान्य अन्तरले पराजित भए पनि ०७४ सालको चुनावमा एमालेले वडाध्यक्ष भने कांग्रेसभन्दा धेरै जितेको थियो । २९ मध्ये त्यो चुनावमा एमालेले १४, कांग्रेसले १० र माओवादी केन्द्रले ४ वडाध्यक्ष जितेको थियो । यसैलाई देखाएर एमालेले सांगठनिक रुपमा पार्टी बलियो रहेको तर्क गरेको छ ।

यसबाहेक एमालेको आशा नयाँ मतदाताप्रति छ । ०७४ सालको चुनावमा १ लाख १२ हजार ९२२ मतदाता थिए । यसपटक १० हजार २६८ मतदाता थपिएका छन् । नयाँ मतदाताले एमालेलाई मतदान गर्ने नेताहरुको दावी छ ।

नयाँ मतदाताप्रति गठबन्धनका उम्मेदवार महर्जनको पनि दावी एमालेसँग मिल्छ । यो भन्दा बलियो विश्वास भने यसपटक महर्जनलाई गठबन्धनका दलहरुको समर्थन गर्नु रहेको देखिन्छ । ०७४ सालको चुनावमा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार उठेका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए । यसपटक यो मत आफूले पाउने महर्जन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?