+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गठबन्धनले साझा उम्मेदवार बनाउन नसक्दा उत्साहित एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २२:२२
गुल्मीको रेशुङ्गामा उम्मेदवारी दर्ता गर्न जाँदै एमाले उम्मेदवारहरू

१३ वैशाख, काठमाडौं । स्थानीय चुनावका लागि सत्ता गठबन्धनले देशैभर साझा उम्मेद्वार तय गर्ने योजना बनाएको थियो । त्यसका लागि फागुन तेस्रो सातादेखि सत्ता गठबन्धनका शीर्ष नेताहरू लगातार छलफलमा जुटेका थिए । २८ चैतमा संयुक्त बक्तव्य सार्वजनिक गरेरै देशभर साझा उम्मेद्वारी रहने प्रतिबद्धता जनाए ।

‘..नेपाल राष्ट्रको सर्वाङ्गीन विकास, अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं’, गठबन्धनको संकल्प थियो । पाँच दल मिल्दा संघ र प्रदेश सरकारबाट एमालेलाई सत्ताच्यूत गरेको गठबन्धनले राष्ट्रियसभा चुनावको नतिजा एक्लौटी गरिसकेको थियो । स्थानीय चुनावमा पनि गठबन्धन गर्ने तयारीबाट एमाले नराम्रोसँग झस्कियो ।

जनमत नै नभएको परिवार दल र राप्रपाबाट विद्रोह गरेका कमल थापासँग तालमेल गर्ने एमाले निर्णय त्यसैको परिणाम थियो । ०७४ को नतिजाले पनि गठबन्धन कायम रहे स्थानीय चुनावको नतिजा एमालेका निम्ति प्रतिकुल आउन सक्थ्यो । त्यसैले कुनै हालतमा गठबन्धन तोड्न एमालेले अनेक प्रयत्न ग¥यो ।

एमसीसी अनुमोदनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको सहयोगको प्रस्तावमै एमालेले गठबन्धन भत्काउनुपर्ने सर्त राखेको थियो । ‘गठबन्धनले देशभर साझा उम्मेद्वार दिँदा स्वभाविक रुपमा हामीले जित्न गाह्रो पथ्र्यो । त्यो बुझेका थियौं’, एमालेका एक पदाधिकारी भन्छन् ।

एमाले जसरी गठबन्धन तोड्न चाहन्थे, त्यसैगरी सत्तारुढ दलहरू जुनसुकै हालतमा जोगाउने प्रयत्नमा थिए । मनोनयन दर्ताको समय दुई दिन राख्ने र ६ महानगरसहित १० स्थानीय तहमा उम्मेद्वार नभएको चुनाव चिन्ह नराख्ने निर्वाचन आयोगको निर्णयलाई समेत एमालेले सत्ता गठबन्धन जोगाउने प्रयत्नकै आरोप लगायो ।

तर सोमबार मनोनयन दर्ता हुँदा भने सत्ता गठबन्धनका नेताहरूको लामो प्रयत्न सफल हुन सकेन । ‘तालमेलबारे वैज्ञानिक मापदण्ड नै बनाउन सकिएन । शक्तिका आधारमा भागबण्डाको अनुपात निर्धारण गरिएको थियो भने देशैभर गठबन्धन रहन्थ्यो’, नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल भन्छन् । तर शीर्ष नेताहरूले नै कार्यकर्ता अन्योलमा राख्ने काम गर्दा गठबन्धनमा समस्या देखिएको उनको बुझाइ छ । ‘कहिले माथिबाटै टुंग्याउने भन्ने, कहिले तल मिल भन्दा अलमल भयो । स्थानीय तहमा धेरै छलफल नै हुन सकेन’, उनी भन्छन् ।

हुन पनि देशभर साझा उम्मेद्वार टुंग्याउने गठबन्धनका नेताहरूको चाहना र प्रयत्न बिपरीत केन्द्रबाट भागबण्डा टुंगिएका ठूला शहरमा समेत समस्या देखियो ।

१० वैशाखमा गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डा टुंग्याएको थियो । तर गठबन्धनका दलहरुभित्रको असन्तुष्टिका कारण बागी उम्मेद्वारको चुनौती खेप्नुपर्ने परिस्थिति बनेको छ ।

गठबन्धनकै प्रतिष्ठाका रूपमा हेरिएको भरतपुर महानगरपालिका कांग्रेस नेताको बागी उम्मेद्वारी परेको छ । पूर्व उपमेयर तथा राष्ट्रियसभाका पूर्व सांसद जग्गनाथ पौडेलले कांग्रेसको झण्डा र चुनाव चिन्ह प्रयोग गरी गाजाबाजासहित उम्मेद्वारी दिए । भरतपुर माओवादी केन्द्रलाई यसपटक पनि छोड्ने निर्णयप्रति चितवन कांग्रेस असन्तुष्ट छ । यसपटक माओवादी केन्द्रलाई नछोड्न नेतृत्वलाई दबाव दिइएको थियो । तर कांग्रेस नेताको उम्मेद्वारी परेपछि भरतपुर महानगरपालिकाको चुनावी चासोमा चर्चामा पौडेल छन् ।

भरतपुर बाहेक पनि भागबण्डा टुंग्याइएको स्थानीय तहमा चर्को असन्तुष्टि देखियो । एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिकामा पनि कांग्रेस नेताको बागी उम्मेद्वारी परेको छ । पार्टी केन्द्रको निर्णय बिपरीत कांग्रेस नेता नन्दूप्रसाद तिवारीले पोखरा महानगर पालिकाको मेयरमा उम्मेद्वारी दर्ता गरेका छन् ।

उपमहानगरपालिकाहरूमा पनि त्यस्तै समस्या देखिएको छ । बाँकेको नेपालगञ्ज र दाङको घोराही उपमहानगर पालिकामा गठबन्धन जोगिन सकेन । यी दुवै उपमहानगरको निर्णय बालुवाटार बैठकबाट भएको थियो । तर नेपालगञ्जमा माओवादी केन्द्र र घोराहीमा एकीकृत समाजवादीले अलग्गै उम्मेद्वारी दिएको छ ।

कर्णाली प्रदेशमा पनि धेरै पालिकामा गठबन्धनको साझा उम्मेद्वारी परेन । मनोनयन दर्ताको अन्तिम दिन (सोमबार) १० मध्ये ८ जिल्लामा तालमेल गर्ने प्रदेश स्तरीय संयन्त्रमा रहेका नेताहरुले सहमति गरेका थिए । तर प्रदेश तहका नेताहरुले जुटाएको सहमतिमा स्थानीय नेताहरूले बिमती राखे । जिल्लाअनुसार फरक–फरक गठबन्धन भयो । संयन्त्रले ८ जिल्लाको ३४ पालिकाका पदाधिकारीमा कांग्रेसबाट ५१, कांग्रेसबाट ४७ र एकीकृत समाजवादीबाट २९ पदाधिकारीमा उम्मेद्वारी दिने सहमति गरेको थियो । संयन्त्रले पनि सुर्खेत र पश्चिम रुकुममा सहमति जुटाउन सकेको थिएन ।

तुलनात्मक रूपमा प्रदेश–१ मा गठबन्धन बनेको छ । विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगर पालिकाको भागबण्डा केन्द्रबाट टुंगिएको थियो । यसबाहेक भोजपुर, खोटाङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा लगायत जिल्लामा गठबन्धनका आधारमा उम्मेद्वारी परेको छ ।

तर असन्तुष्टि भने कायमै छ । ‘कांग्रेसभित्रको गुटबन्दीले गठबन्धनमा समस्या देखियो । जति समस्या देखिएको छ, त्यहाँ कांग्रेसको अडानकै कारण देखिएको छ’, माओवादी केन्द्रका एक नेता भन्छन् । एकीकृत समाजवादीले शक्ति भन्दा धेरै भाग खोज्दा पनि समस्या देखिएको उनी बताउँछन् । ती नेताका अनुसार, केन्द्रबाट भागबण्डा टुंगिएको बाहेक अन्यत्र गठबन्धन जोगिन सकेन ।

तर गठबन्धनभित्रका दलहरुभित्रै गठबन्धन भने कयौं स्थानमा भएको छ । धेरैजसो स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको छ । कतिपय स्थानीय तहमा भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल भएको छ ।

उत्साहित एमाले

प्रमुख शहर बाहेकका स्थानीय तहमा गठबन्धनले साझा उम्मेद्वार उठाउन नसक्दा एमाले भने उत्साहित बनेको छ । जसरी पनि एमाले रोक्ने भनेर सत्तारुढ दलका नेताहरुले ठूलो प्रयास गरेपनि सफल हुन नसकेको एमाले नेताहरूको निष्कर्ष छ । ‘यो गठबन्धन बालुवा र पानी जस्तै हो भन्दै आएको थिएँ । त्यस्तै भयो’ एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘यो गठबन्धन चिनी र पानी होइन, एउटै ग्लासमा राख्दैमा एउटै हुनुलाई ।’

मनोनयन दर्तामा गठबन्धनभित्र देखिएको संकट र निर्विरोध निर्वाचित हुने जनप्रतिनिधिको प्रारम्भिक सूचनाबाटै एमाले पहिलो दल बन्ने प्रष्ट संकेत देखिएको उनी बताउँछन् । ‘माथिका नेताहरु मिलेर मात्रै हुँदैन नि, तलको समस्या अर्कै छ । एमाले फेरि पनि पहिलो दल बन्ने पक्का भइसक्यो’, गुरुङ भन्छन् ।

सत्तारुढ नेताहरुको योजना अनुसार, देशभर गठबन्धनको साझा उम्मेद्वार पर्न नसक्नु बाहेक पनि पहिलो शक्ति बन्ने आधार रहेको एमाले नेताहरुको दावी छ । विशेषगरी पार्टी प्रवेश, अध्यक्ष केपी शर्मा ओलीको आकर्षण र थपिएको मतदातालाई एमालेले आफ्नो शक्ति बनेको छ ।

२ भदौ २०७७ मा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपनि त्यो क्षति माओवादी केन्द्रबाट आएका नेताहरुले पूर्ति भएको एमालेको तर्क छ । १५–१७ असोज २०७७ को प्रथम विधान महाधिवेशनमा एमालेले विभाजनबाट पार्टी संगठनमा २० प्रतिशत र संसदीय मोर्चामा १० प्रतिशत क्षति पुगेको निष्कर्ष निकालेको थियो । त्यो क्षतिबाट एमालेको पाँच लाख मत गुम्न सक्ने आन्तरिक बुझाइ छ ।

तर माओवादीबाट आएकाहरुबाट त्यो पूर्ति नेताहरु दावी गर्छन् । ‘देखिने नेता कम हुन सक्छ । तर कार्यकर्ता ठूलो संख्यामा आएका छन्’, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । माओवादी केन्द्रबाट मात्रै नभएर अन्य दलबाट पनि एमाले प्रवेशको लहर चलेको रिजाल बताउँछन् । विशेषगरी जनप्रतिनिधिहरुको प्रवेशलाई एमालेले उपलब्धि मानेको छ ।

यसबाहेक भने अध्यक्ष ओलीको आकर्षण र थपिएका युवा मतदाताबाट एमाले आशावादी देखिन्छ । ‘३६ लाख युवा मतदाता थपिएका छन् । ती मतदाताको आकर्षण समकालीन नेताहरु मध्ये केपी ओलीप्रति नै धेरै छ’, एक नेता भन्छन् ।

तर गठबन्धनमा जस्तै एमालेभित्र पनि उम्मेद्वारीप्रति असन्तुष्टि कम छैन । पोखरा महानगरपालिकामा त मनोनयन दर्ताकै दिन उम्मेद्वार नै फेर्नु परेको थियो । सचिवालय बैठकबाट उम्मेद्वार बनाइएका दीपक पौडेलको उम्मेद्वार खोसेर अध्यक्ष ओलीले कृष्ण थापालाई टिकट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?