+
+
अन्तर्वार्ता :

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ वैशाख १५ गते २१:४५

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु छन् ।

तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टोलीमार्फत् सर्वेक्षण गरेर आसन्न स्थानीय चुनावमा प्राप्त हुने मतपरिणामको आँकलन पनि उनले गरिसकेका छन् । ‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ’ उनी दाबीका साथ भन्छन् ।

परम्परागत पार्टीका नेताले दलीय स्वार्थ हेर्दा विकास गर्न नसकेको निष्कर्षसहित आफू मेयर बन्ने दौडमा होमिएको उनी बताउँछन् । ‘जब कोही राजनीतिक दलबाट मेयर बन्छ भने उसले त्यहाँ गलत काम गरे पनि कारबाही हुँदैन,’ शाह भन्छन्, ‘किनकि कारबाहीमा पर्ने व्यक्ति पनि उसकै पार्टी हुन्छ, त्यसैले भ्रष्टाचार अन्त्यका लागि पनि स्वतन्त्र व्यक्ति त्यो पदमा पुग्नु जरुरी छ भन्ने मेरो निष्कर्ष हो ।’

फेरि आफ्नो पृष्ठभूमिले पनि काठमाडौंको विकासका लागि सहयोग गर्ने उनी बताउँछन् । प्रस्तुत छ, स्ट्रक्चरल इञ्जिनियरसमेत रहेका मेयरका उम्मेदवार शाहसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीः

राजनीति गर्न यत्तिका धेरै पार्टीहरु छन्, नेताहरु छन् । तर, उनीहरु हुँदाहुँदै एउटा सांगीतिक क्षेत्रको जम्दै गरेको व्यक्ति किन चुनावी प्रतिस्पर्धामा होमिनु पर्‍यो ?

हामीले गीतमार्फत पनि समाज परिवर्तका लागि एड्भोकेसी गरिरहेका थियौं । समाजका विसंगति, विकृतिका कुरा गरिरहेका थियौं । तर एड्भोकेसी सधैं एउटा तहमा हुन्छ, त्यसले कतिपय कुरामा साँच्चिकै परिवर्तन नहुँदा रहेछन् । त्यसैले कार्यान्वयन गर्ने ठाउँमा पुगेर काम गर्नुपर्छ भनेर लागेर मैले उम्मेदवारी दिएको हुँ ।

फेरि काठमाडौं म आफैं बस्ने ठाउँ पनि हो । म आफैं मास्क लगाएर धुलोमा हिँड्नु परेको छ, खाल्डाखुल्डीहरुमा म आफैं परेको छु । आफ्नै सम्पत्ति कर, घरबहाल कर तिर्न जाँदा आफैं लाइन बस्नु परेको छ । ई–पेमेन्ट सिस्टम छैन, जताजतै फोहोर आफैंले देखेको छु । दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न । यी सबै कुरा आफैंलाई गाह्रो परेको हुनाले बस्नलायक शहर चाहिँ आफैंले बनाउनुपर्छ भन्ने लागेको हो । यहाँ बस्दा म नै खुशी हुनुपर्‍यो नि, म भनेको महानगरका सम्पूर्ण वासिन्दा खुशी हुनुपर्‍यो भनेर मेयर बन्ने निर्णय गरेको हुँ ।

पुराना पार्टी र नेताहरुले नगरेको काम तपाईंले स्वतन्त्ररुपमा उम्मेदवार बनेको व्यक्तिले गर्नुहुन्छ भनेर नागरिकले कसरी पत्याउने ? 

राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति हो । त्यो नीतिमा विकास गर्ने कुरा हुनुपर्छ । मेयरले गर्ने पनि विकास हो । विकासका गर्नका लागि मेरो पृष्ठभूमि पनि सहयोगी हुन्छ भन्ने मलाई लाग्छ । मैले स्नातक तह सिभिल इञ्जिनियरिङ पढेको छु । स्नातकोत्तर चाहिँ स्ट्रकचरल अर्थक्वेक इञ्जिनियरिङमा गरेको छु ।

अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु, यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएका छु ।

अविकसित देशमा एउटा गाउँपालिका वा नगरपालिकामा सिभिल इञ्जिनियरिङ पृष्ठभूमिको मान्छे आइदियो भने थोरै विकासोन्मुख अथवा विकसितरुपमा लान सकिन्छ भन्ने मलाई लाग्छ । त्यही आधारमा अहिलेका लागि हाम्रो महानगर हेर्दा यो पृष्ठभूमिको उम्मेदवारहरु हरेक पालिकामा आउनु पर्छ भनने मलाई लाग्यो र म मैदानमा आएको हुँ । मेरो पृष्ठभूमिका कारणले पनि मतदाताले मलाई विश्वास गर्नुहुन्छ भन्ने लाग्छ ।

अरु उम्मेदवारभन्दा फरक छौं भन्न खोज्नु भएको हो ?

हामी राजनीति पार्टीमा त आबद्ध छैनौं । तर, हाम्रो आबद्धता कन्सल्ट्यान्टहरुसँग छ, विज्ञहरु छ । शिक्षा, स्वास्थ्य, यातायात, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सबैका विज्ञहरु राखेका छौं । विज्ञहरु राख्न सबैले सक्छन्, अरु राजनीति दलले पनि विज्ञ राख्न सक्छन् । तर, विज्ञहरुले दिएका सल्लाह, सुझावलाई बुझेर कार्यान्वयन गर्नसक्ने व्यक्तिहरु चाहिँ त्यो ठाउँमा पुगेका छैनन् । त्यो बुझ्न सक्ने व्यक्ति भयो भने काम गर्नसक्छ, त्यही चाहिँ हाम्रो फरक कुरा हो ।

हाम्रो मुख्य प्राथमिकता भनेको स्वास्थ्य हो, जसमा शारीरिक र मानिसक दुवैका लागि खाका तयार पारेका छौं । शिक्षा, सरसफाई र फोहोर व्यवस्थापन पनि प्राथमिकतामा पर्छ । तीन मुख्य प्राथमिकता यी हुन्, त्यसबाहेक पानी, पर्यटन र प्रदुषण पनि प्राथमिकताका विषय हुनेछन् ।

यदि तपाईं मेयर हुनु भयो भने ५ वर्षमा काठमाडौं महानगरवासीले के–के परिवर्तन पाउँछन् ?

अहिले महानगरवासीले घरबाट निस्किँदा बाहिर खाल्डाखुल्डी देख्नुपर्छ । त्यो खाल्डाखुल्डीबाट जोगाउन इन्फ्रास्ट्रकचरल एम्बुलेन्स ल्याउने योजना छ । पूर्वाधारमा एकदमै सुधार गरिनेछ ।

यहाँको शिक्षा एकदमै गुणस्तरीय हुनेछ । निजी विद्यालयको भन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा हुनेछ । अहिलेसम्मको शिक्षा भनेको पाठ्यक्रम र किताबको अध्ययन मात्र हो । तर पाँच वर्षपछि हरेक विद्यालयमा व्यवहारिक ज्ञान पढाइ हुनेछ ।

विद्यार्थीले किताबमा भएका ज्ञानबाहेक एक वा दुई वटा सीप सिकेर जानुहुन्छ । त्यसले गर्दा पढाइको सर्टिफिकेटले जागिर नपाए पनि त्यो सीपले जागिर पाउन सकिन्छ । यहाँका सरकारी कार्यालयहरु एकदमै व्यवस्थित हुनेछ । फर्म भर्नेदेखि लिएर पेमेन्टहरु सबै डिजिटल हुनेछन्, त्यतिबेलासम्म होम डेलिभरी सरकार हुनेछ ।

जन्म दर्ता, बिहे दर्ताहरु जस्ता कागजहरु घरमै डेलिभर गर्ने सिस्टम हुनेछ । समग्रमा ई–सरकार हुनेछ । यहाँका स्थानीय उत्पादनको व्यवस्थापनका लागि हरेक मार्टमा १०÷२० प्रतिशत स्पेश छुट्टयाइएको हुन्छ । महानगरले तालिम गराउँछ र त्यसका लागि सिड मनी ऋणका रुपमा महानगरपालिकाले नै दिन्छ । बिक्रीका लागि पनि महानगरपालिकाले सहयोग गर्छ ।

हामीले वार्षिकरुपमा एक हजार जना तालिम प्राप्त सीपयुक्त जनशक्ति उत्पादन गर्ने सोचेका छौं । उनीहरुलाई चाहिं यहाँको सभ्यता, सम्पदालाई एकदमै संरक्षण गर्ने जनशक्तिको रुपमा पाउनु हुनेछ, त्यसले गर्दा पर्यटन बढ्छ । त्यसपछि होटल, गेस्टहाउसले धान्न नसकेर सम्पादा वरिपरि भएका हरेक घरहरुमा एउटा होमस्टे पाउनुहुनेछ । जसका लागि मानिसहरुमा हस्पिटालिटी तालिम हुन्छ । सम्बन्धित ठाउँको विशेषता के हो ? कस्तो खाले खाने कुरा खुवाउने ? भन्नेबारे पनि तालिम दिइन्छ ।

मैले ३२ वटै वडाको वरपरको बुथमा डाटा एनालाइसिस गरेको छु, सर्भे गरेको छु । हरेक घर, चिया पसल र चेस खेल्ने ठाउँमा गएर वास्तविक डाटा लिँदा मेरो ९० हजार ८३५ भोट आउँछ भन्ने देखिएको छ ।

त्यहाँको इतिहास जानेका व्यक्तिहरु घरमा हुनेछन् । यस्तो खाले जागर विद्यालय पढ्ने विद्यार्थीबाटै ल्याइनेछ । समग्रमा ट्राफिक व्यवस्थापन हुनेछ । फोहोर व्यवस्थापन भएको हुनेछ ।

सुरक्षाका लागि सुरुमा १० हजार सीसी टीभी जडान गर्ने भनेका छौं । त्यसले महानगरलाई एकदम सुरक्षित बनाउनेछ । विद्युतीय बसहरु तपाईंले रातिसम्म पाउनु हुनेछ । कार्यालयहरु रातिसम्म खुल्नेछन् । रेष्टुरेन्टहरु बजारहरु रातिसम्म खुल्ने र हिँडडुल गर्नलाई एकदमै सुरक्षित वातावरण हुनेछ । नगर प्रहरीहरु थपिनेछ र समग्रमा पाँच वर्षपछि काठमाडौं एउटा बस्न लायक शहर हुनेछ ।

काठमाडौंको मुख्य समस्या सडक जाम र प्रदूषण हो, यसमा परिवर्तन ल्याउने परिकल्पना गरेको भन्नु भयो । यसको समाधानका लागि तपाईंसँग के उपाय छ ?

धुलो, ढल फुटेको जस्ता कुराका लागि इन्फ्रास्ट्रक्चरल एम्बुलेन्सको कुरा गरेका छौं, त्यो स्वास्थ्य एम्बुलेन्स जस्तै हो । तर त्यहाँ डक्टरको ठाउँमा इञ्जिनियरहरु हुन्छन् । इञ्जिनियरिङका उपकरणहरु हुन्छन् । त्यो कल सेन्टरसँग जोडिएको हुन्छ, जहाँ इन्फ्रास्ट्रक्चरल एम्बुलेन्स, एनिमल एम्बुलेन्स, हेल्थ एम्बुलेन्स लगायतका सुविधा पनि हुन्छ । त्यसलाई कल गरेर तपाईंले बाटोमा खाल्डो भयो, धुलो उडिरहेको छ अथवा ढल फुटेको छ, दुर्गन्धित भएको छ, केही बिग्रिएको छ भने फोन गरेर बेलाउन सक्नुहुन्छ ।

अर्को, काठमाडौं महानगरमा ६०० मेट्रिक टन फोहोर घरबाट निस्किँदो रहेछ, त्यसका लागि इन्सिनिरेटर मेसिन ल्याएर त्यसमार्फत अर्गानिक फोहोरलाई मलमा परिणत गर्न सकिन्छ र नजिकका काभ्रे, धादिङ जस्ता जिल्लामा खेतीजन्य उत्पादन गर्न सकिन्छ । पालिस्टकजन्य फोहोरलाई चाहिँ कालोपत्रेमा प्रयोग गर्न सकिन्छ । सीसाजन्यलाई रिसाइकल गर्ने भन्ने योजना छ ।

तपाईं स्वतन्त्र उम्मेवादर, अधिकांश मतदाता कुनै न कुनै पार्टीमा आबद्ध छन् । त्यस्ता जनताले तपाईंलाई किन भोट दिने ?

लगभग ४० देखि ४५ प्रतिशत पार्टीका मतदाता छन् । ५५ देखि ६० प्रतिशत न्यूट्रल मतदाता छन्, उहाँहरुमध्ये प्रायको भोट आउँछ भन्ने मेरो बुझाइ हो । अझ पार्टीमा भएका मतदाताको मनोविज्ञानको विश्लेषण गर्दा उहाँहरु आफ्नो पार्टीसँग रुष्ट भएको पाएँ । यत्रो वर्षसम्म पनि पार्टीले काम गर्न सकेन । किन सकेन भन्दा त्यो पोजिसनमा बसिसकेपछि कर्मचारीतन्त्रमा त्यो पार्टीका मान्छे भएपछि उहाँहरुले कारबाही गर्न सक्नुहुन्न । उहाँहरुलाई अनुशासनमा ल्याउन सक्नुहुन्न, किनकि आफ्नै पार्टीको पर्नुभयो । प्रतिपक्षीमा भएका व्यक्तिलाई सधैं विरोध गर्नुपर्ने भयो, यो सिण्डिकेट तोड्न पनि स्वतन्त्र व्यक्ति चाहिएको हो । यो सबैले यसपालि बुझ्नु भएको छ र यसको हिसाबले भोट हाल्नुहुन्छ ।

तपाईंको अहिले जति पनि चर्चा र प्रशंसा भइरहेको छ, त्यो सामाजिक सञ्जालमा बढी केन्द्रित छ । तर, सामाजिक सञ्जालको बलले चुनाव जितिन्न भन्ने त ०७४ सालको परिणामले पनि देखाइसकेको छ नि, होइन र ?

२०७४ सालको चुनावमा सामाजिक सञ्जालको हल्लाले ४१ हजार भोट ल्याएको हो । मेरो सामाजिक सञ्जालबाहेक घरदैलो पनि भइरहेको छ । मैले ३२ वटै वडाको वरपरको बुथमा डाटा एनालाइसिस गरेको छु, सर्भे गरेको छु । हरेक घर, चिया पसल र चेस खेल्ने ठाउँमा गएर वास्तविक डाटा लिँदा मेरो ९० हजार ८३५ भोट आउँछ भन्ने देखिएको छ ।

स्वतन्त्र भएर चुनाव लड्छु भन्नेलाई त अरु पार्टीले पनि बोलाउँदा रहेछन् नि ? स्वतन्त्र भएर उठ्छु भन्नु भएकोलाई एमालेले उम्मेदवार बनायो । तपाईंलाई चाहिँ कुनै पार्टीले बोलाएनन् ?

एमाले, कांग्रेस, राप्रपा लगायतका अन्य पार्टीको पहिलो विकल्पमा बालेन शाह थियो । म आफैं  उहाँहरुको पार्टीमा नगएको हो । उहाँहरुको पार्टीमा अहिले जति पनि उम्मेदवार उठ्नु भएको छ, त्यो उहाँहरुको दोस्रो विकल्प हो ।

अहिले हाम्रो पक्षमा अभियान चलाउन हरेक वडामा स्वयंसेवक छन् । सुरुवातमा १५०० जना स्वयंसेवकले काम गरिरहेका छन् ।  अहिले चाहिँ बढेर अंक धेरै माथि गएको छ । त्यो चुनावी अभियन्ताले काम गरिरहेका छन्, हरेक वडामा काम गरिरहेका छौं । चुनाव जित्छौं ।

विज्ञहरु सबै राजनीतिक दलले राख्न सक्छन्, उनीहरुका सल्लाह, सुझावलाई बुझेर कार्यान्वयन गर्नसक्ने व्यक्तिहरु चाहिँ त्यो ठाउँमा पुगेका छैनन् । त्यो बुझ्न सक्ने व्यक्ति भयो भने काम गर्नसक्छ, त्यसैले स्ट्रक्चरल इञ्जिनियरिङ अध्ययन गरेको मैले कार्यान्वयनको तहमा जान खोजेको हुँ

तपाईंको विचारमा काठमाडौं महानगरको चुनौति के हो ?

काठमाडौं विश्वको उत्कृष्ट शहर हो । मन्दिरै मन्दिर भएको यो शहर आफैंमा एउटा संग्रहालय हो । यहाँ कुनै घरलाई संग्रहालय बनाउनु जरुरी नै छैन । किनभने, जहाँ जानुभयो भने पनि मन्दिरै मन्दिर, चैत्य र गुम्बाहरु पाउनुहुन्छ । यसको फरक खाले विशेषता छ र यसलाई हामीले ग्लोबलरुपमा ब्राण्डिङ गर्नुपर्छ । जसरी हामीले हरेक उत्पादनलाई विभिन्न देशमा ब्राण्डिङ गर्छौं, त्यसैगरी हाम्रो प्रोडक्ट भनेको काठमाडौं महानगरपालिका र उपत्यका हो । यसलाई विश्वभरि ब्राण्डिङ गरेर पर्यटक भित्र्याउन सक्छौं । चुनौति चाहिँ हाम्रो सोचाइमा छ, जसका लागि एड्भोकेसी तहमा काम गरेर हरेक माध्यममार्फत सोचमा परिवर्तन ल्याउनुपर्ने छ ।

काठमाडौंमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउनुपर्ने छ । अहिले भइरहेका निजी र सरकारी कम्पनीलाई एउटै छातामा ल्याएर विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने योजना छ । यसो भन्दै गर्दा अहिले चलाइरहनु भएकाको रोजिरोटी खोस्ने होइन, उहाँहरुलाई पनि शेयर दिने हो । विद्युतीय गाडीको प्रयोगलाई चाहिँ बढाउने हो ।

हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । म मेयर भएँ भने रेष्टुरेन्टहरु बेलुकीसम्म खुल्छन्, बेलुकीसम्म सरकारी कार्यालय खुल्छन् । त्यसपछि बल्ल सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसका लागि पद्धति बसाउने हो । विद्युतीय सवारीसाधनले जाम घटाउन पनि सहयोग गर्छ ।

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?