+
+

भरतपुरका बागीको अडान : म ब्याक हुन्न, रेनुजी पछि हट्दा बढी न्याय हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १०:५२

१५ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई फकाउन नेताहरुको दौडधुप जारी छ । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे ।

तर पौडेल भने उम्मेदवारी फिर्ता नलिने अडानमा अहिलेसम्म कायमै छन् । राज्यमन्त्री श्रेष्ठलाई भेटिसकेपछि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नलिने बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए । आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनले बताए ।

प्रस्तुत छ, राज्यमन्त्री श्रेष्ठसँगको भेटपछि मेयर उम्मेदवार जगन्नाथ पौडेलसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी –

उम्मेदवारी फिर्ता लिइदिनुपर्यो भन्नुभयो होला नेताहरुले । तपाईंले के भन्नुभयो ?

फिर्ता हुँदैन, सम्भव छैन ।

केन्द्रबाटै तपाईंलाई दबाव आइरहेको छ । उम्मेदवार फिर्ता लिउँजस्तो मनमा कतै लागेको छैन ?

मलाई चिन्ने मान्छेले त जगन्नाथले त्यसरी कुरा गर्छ भन्दैनन् । तपाईंलाई पनि त्यस्तै लाग्नुपर्छ ।

जतिसुकै प्रेसर गरे पनि तपाईंको उम्मेदवारी फिर्ता हुन्न ?

प्रेसरको कुरा यस्तो छ- उहाँहरुले आफ्नो कठिनाइ भन्नुभयो । मैले आफ्नो कठिनाइ भनें । मेरो समस्यालाई राख्दाखेरि उहाँहरु कन्भिन्स हुनुहुन्छ ।

तपाईंले के भन्नुभयो ? तपाईंको कठिनाइ के हो ?

म फिर्ता गर्नेवाला छैन । किनभने यो सामूहिक कुरा, सार्वजनिक कुरा भयो । होला चितवनको कांग्रेसको भावनाको कुरा छ, त्यसो भएर त्यो त्यति इजी छैन भनेर मैले भनें ।

अनि उहाँहरु के भन्नुहुन्छ ?

उहाँहरुको त एकसूत्रीय कुरा छ ।

के छ ?

तपाईंले फिर्ता गर्दिए राजनीतिक संकट पूरा हुन्छ भन्नुभयो । मैले भनें- म एउटा सानो मान्छे, मैले एउटा नागरिकको हिसाबले एउटा अधिकारको प्रयोग गरेको हुँ । मसरहका ३२ जना त्यहाँ छन् नोमिनेसन गर्ने । त्यसलाई तपाईंले त्यही रुपमा लिनुस् न । असाधारण रुपमा यो के भयो भनेर तरंग उत्पन्न हुने गरी किन गर्नुपर्यो । यसलाई सामान्य हिसाबले लिनुपर्‍यो । यो केन्द्रले मलाई गराएको पनि होइन, केन्द्र यसमा संलग्न पनि छैन । केन्द्र गठबन्धनमा संलग्न भएको छ, गठबन्धनको पक्षमा जिल्ला कमिटी लागेकै छ । केही मान्छे लाग्ने लागेकै छन् । म स्वतन्त्र रुपमा हिंडेको छु । मलाई पनि मान्छे ठिक हो भनेर लाग्ने मान्छेहरु मसित लाग्या छन् । यो त डेमोक्रेसीमा भइहाल्छ । यसलाई हामीहरुले धेरै उचाल्नुपर्ने, यसले धेरै उतार चढाव सिर्जना गर्यो भन्नुपर्ने अवस्था केही छैन भन्ने कुरा हो ।

तपाईंलाई शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रचण्डलगायतले फोन गरिरहनु भएको छ । तपाईंको कुरामा उहाँहरूको कुरा के छ ?

उहाँहरुको कुरा पनि यही छ । फिर्ता लिइदिंदा राम्रो हुन्छ भन्नुहुन्छ ।

तपाईंले उम्मेदवारी फिर्ता लिनु भएन भने तपाईंमाथि कारबाही गर्नेसम्मको अधिकार बोकेर गृहमन्त्री आएका छन् भन्ने चर्चा छ, त्यसमा तपाईं के भन्नुहुन्छ ?

त्यो त स्वाभाविक छ । मैले नीति नियम पालना गरेको छैन, पार्टीको निर्देशन पालना गरेको छैन भने कारबाही गर्ने अधिकार उहाँहरूको हुन्छ, उहाँहरुमा निर्भर रहन्छ त्यो ।

तपाईंले पार्टीको नीति नियम उल्लंघन गर्नु भएको छ र ?

मैले पार्टीको नीति नियम उल्लंघन गरेको छैन । मेरो हिसाबमा मैले रुखको विरुद्धमा, चारतारे झण्डाको विरुद्धमा नोमिनेसन होइन । खाली हँसिया हथौडामा भोट हाल्ने कुरामा म सहमत छैन । मेरो यसमा अलग दृष्टिकोण छ भनेर मैले भनेको छु । यो पार्टीको अनुशासनको उल्लंघन होइन तर नेपाली कांग्रेसको विधानले नै रुख चिह्नमा भोट हाल भनेर आफ्ना कार्यकर्तालाई भन्दैन भने केन्द्रले नै कांग्रेसको त्यो आधारभूत सिद्धान्त पालना गरेको छैन भन्ने मेरो व्याख्या छ ।

तपाईंले अब कहिलेबाट चुनावी अभियान थाल्नुहुन्छ ?

तपाईंले देखिहाल्नुभयो यहाँ । सयौं साथीहरु यहीं हुनुहुन्छ । यस्तो लहर आइरहेको छ जिल्लामा कि हर व्यक्तिले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेस मात्र होइन, लोकतन्त्रविरुद्धको भविष्यका लागि हामीले हिंड्नुपर्ने बाटो यही हो । यो मान्छेलाई कमसेकम हामीले सहयोग गर्नुपर्छ भन्ने मनोविज्ञान जिल्लाभरिका मान्छेहरुमा छ । त्यसमा कुनै गुटको, कुनै पार्टी विशेषको, कुनै सीमा त्यसमा लागू भएको छैन ।

घरदैलो लगायतका कामहरु ?

त्यो त स्वतः, स्वचालित ढंगले भइरहेको छ । घर दैलो अब १७ गतेपछि होला । चुनाव चिह्न प्राप्त गरेपछि ।

तपाईं भूकम्पको केन्द्रविन्दु जस्तो बन्नु भएको हो ?

मलाई थाहा छैन म के भएको छु । बाहिरबाट मान्छेहरुले के देखेका छन् । म त एउटा साधारण मान्छे हुँ ।

गठबन्धनको वृत्तमा म पनि हुँ, रेनु जी पनि हो भने राजनीतिक समस्या समाधानका लागि मैलाई निकाल, मैलाई निकाल भनेर तपाईंहरुले भन्नुभयो । एकपटक अर्को साइडमा पनि सोच्नुस् न । रेनु जी एकपटक मेयर हुनुभयो । योङ्ग हुनुहुन्छ । उहाँका अनगिन्ती सम्भावना छ । उहाँले सहयोग गर्दिए पनि हुन्छ नि त ।

यसले गठबन्धनलाई पनि असर गर्दैन, हामी बीचको समझदारी पनि भंग हुँदैन, यसले भोलि हुने नोक्सानीबाट पनि बचाउँछ । त्यसो भएको हुनाले समग्रतामा जिल्लाको परिस्थितिको समीक्षा पनि गर्नुस् । यहाँको मनोविज्ञान पनि बुझ्नुस् । अनि मलाई र रेनुजीलाई तुलना गरेर हेरेर जगन्नाथलाई ब्याक गर्नुभन्दा रेनुजीलाई ब्याक गर्दा हित हुन्छ भन्ने हो भने त्यो साइडमा पनि सोच्नुस् न । त्यसो भयो भने डेमोक्रेटिक हुन्छ, अलि बढी न्याय हुन्छ । म त निर्धो मान्छे छु, सानो मान्छे छु, मेरो भन्दिने मान्छे कोही छैन, मेरो आवाज सुनिदिने ठाउँ छैन । मेरो माथि पहुँच छैन । पहुँचको हिसाबले मात्र मलाई मात्र किन यो सब भनिराख्नु भाछ, मलाई अप्ठेरो पर्यो । यस्तो नगरिदिनुस् । ममाथि दया-माया गरिदिनुस् । कसैलाई नोक्सान पुर्‍याउने मेरो अभिप्राय होइन । मचाहिं शुद्ध प्रजातन्त्रका निमित्त लडेको, हिंडेको सिपाही हुँ र त्यो लोकतान्त्रिक पद्दतीलाई संरक्षण गर्नुपर्यो भनेर मैले उम्मेदवारी दिएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?