+
+

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ९६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १३:२३

सन् २०२२ सुरु भएयता फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पुनः बढ्न थालेको छ । कम्पनीको आम्दानीको वृद्धिदर एक दशक यताकै सबैभन्दा कम रहेको रिपोर्ट आइरहेका बेला यो वर्ष फेसबुकले आफ्ना प्रयोगकर्ता गुमाउने क्रम भने रोकिएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले बुधबार सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा वृद्धि भई एक अर्ब ९६ करोड पुगेको छ ।

स्मरण रहोस् सन् २०२१ मा फेसबुकले पहिलोपटक आफ्नो दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा गिरावट आएको बताएको थियो । त्यस्तो गिरावटको रिपोर्टसँगै फेसबुकको शेयर मूल्य घट्दा मेटा कम्पनीले अर्बौँ डलर गुमाएको थियो । त्यसबेला फेसबुकको शेयर मूल्य करिब आधाले घटेको थियो । तर बुधबार सार्वजनिक भएको रिपोर्टसँगै कम्पनीको शेयर मूल्यमा १९ प्रतिशतले बढोत्तरी भएको छ ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले भनेका छन् – अहिले हाम्रो सेवा हालसम्मकै सबैभन्दा धेरै मानिसले प्रयोग गर्दछन् । र, हाम्रा प्रडक्टले विश्वभरका मानिसहरुलाई सेवा पर्‍याइरहेको विषयले म गौरवान्वित छु ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या झण्डै दुई अर्ब पुगे पनि इन्स्टाग्राम र ह्वाट्सएपको समेत स्वामित्व रहेको मेटा कम्पनीको आम्दानीमा भएको वृद्धिदर भने एक दशक यताकै कम देखिएको छ ।

सन् २०२२ को पहिलो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी २७ अर्ब ९० करोड पुगेको छ । जुन गतवर्ष सन् २०२१ को पहिलो त्रैमासिकको तुलनामा केवल ७ प्रतिशतले बढी हो ।

युक्रेनमा जारी रुसी आक्रमणलगायतका कारणले गर्दा विश्वमा व्याप्त मूल्यवृद्धि तथा आर्थिक अनिश्चितताका कारण विश्वका उद्योग व्यवसायहरूले फेसबुकमा दिने विज्ञापनमा कमी आएका कारण फेसबुकको आम्दानी उल्लेख्य रुपमा बढ्न नसकेको बताइएको छ ।

साथै फेसबुक तथा गुगललगायतले टिकटक तथा अमेजनलगायतका सोसल मिडिया तथा अनलाइन सपिङ प्लाटर्फमबाट कडा प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ ।

फेसबुकले टिकटकसँग प्रतिस्पर्धा गर्नका लागि पछिल्लो सयममा इन्स्टाग्राम रिल्समा लगानी गरिरहेको छ । तर एप्पलको नयाँ गोपनीयता नियमले फेसबुकलाई आईओएस डिभाइसमा लक्षित विज्ञापनमा समस्या परेको छ । यसले फेसबुकलाई यो वर्ष विज्ञापन आयमा १० अर्ब डलर घाटा लाग्ने बताइएको छ ।

यस्तै सन् २०२२ को पहिलो त्रैमासिकमा मेटा कम्पनीको मुनाफा ७ अर्ब ४६ करोड रहेको छ, जुन विश्लेषकहरूको अपेक्षा भन्दा कम भए पनि गत वर्षको पहिलो त्रैमासिकमा भन्दा २० प्रतिशत कम हो ।

गतहप्ता गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको यो वर्षको पहिलो त्रैमासिकको वित्तीय रिपोर्ट अनुसार यस अवधिमा कम्पनीको आम्दानीको वृद्धिदर अपेक्षाभन्दा कम भएको छ ।

गतवर्षको तुलनामा यो वर्षको त्रैमासिकमा अल्फाबेटको आम्दानीमा २२ प्रतिशतले वृद्धि भएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?