+
+

महासंघ र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:२४

१६ वैशाख, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्न सहमत भएका हुन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे ।

समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्ति विकास गर्ने र त्यसको आदान प्रदान गर्ने सहमति भएको छ ।

नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने समझदारीपत्रमा उल्लेख छ । नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन -हिल स्टेसन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए । महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव गरे ।

यस कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?