+
+

एसियाडका लागि एथलेटिक्स छनोट, २० खेलाडी बन्द प्रशिक्षणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १५:०७

१६ वैशाख, काठमाडौं । नेपाल एथलेटिक्स संघले आसन्न एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट सम्पन्न गरेको छ । पाँच स्पर्धाका लागि २० खेलाडी छनोट गरिएकाे र छिट्टै बन्द प्रशिक्षण सुरु गरिने संघका सचिव राधाकृष्ण विष्टले जानकारी दिए ।

संघले छनोट प्रतियोगितामा सहभागिताको मापदण्ड निर्धारण गरी विहीबार र शुक्रबार दशरथ रंगशालामा प्रतिस्पर्धा आयोजना गरेको थियो । ८०० र १५ सय मिटर दौडमा पुरुषमात्र तथा ५ हजार, १० हजार मिटर र म्याराथनमा पुरुष र महिला दुवैको छनोट प्रतिस्पर्धा गरिएको थियो ।

८०० र १५ मिटर दौडका लागि ५ जना खेलाडी छनोट गरिएको छ । एसियन युथ एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवसहित सुनील सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जीव नेपाली छनोट भएका छन् ।

५ हजार मिटरका लागि मुकेश पाल, गजेन्द्र राई र नागेश्वर अहिर छनोट भएका छन् । १० हजार र ५ हजार मिटर गरी दुवै स्पर्धाका लागि पुरुषतर्फ गोपीचन्द्र पार्की र दीपक अधिकारी तथा महिलातर्फ सन्तोषी श्रेष्ठ, राजपूरा पछाई र फूलमती राना छानिएका छन् ।

म्याराथनतर्फ चार पुरुष र तीन महिला गरी ७ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ कृष्णबहादुर बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत र होमलाल श्रेष्ठ तथा महिलातर्फ ढाका म्याराथनकी स्वर्ण विजेता पुष्पा भण्डारी, विन्द्रा धानके श्रेष्ठ र रेखा विष्ट छनोट भएका छन् ।

‘यो प्रारम्भिक छनोटमात्र हो । बन्द प्रशिक्षण र आसन्न नवौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा चीनमा प्रतिस्पर्धा गर्ने खेलाडीको टुंगो हुनेछ,’ संघका सचिव विष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?