+
+

आमाको लागि सर्वोत्तम हुनसक्छन् यी पाँच उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १७:२२

काठमाडौं । आमा संसारकै सबैभन्दा प्रेमिल रचना, अनि पवित्र नाता । आमा, जुन शब्दमा जीवन र जगतको विराट अर्थ समेटिएको हुन्छ ।

आमा जस्तोसुकै दुःख झेल्न तयार हुन्छिन् । जस्तोसुकै पीडा लुकाउन तयार हुन्छिन् । आमा जस्तोसुकै कष्ट छिचोल्न तयार हुन्छिन् । केवल आफ्ना सन्तानको खातिर । सन्तान सुखले नै आमालाई परम् सन्तोष मिल्छ ।

भोलि (शनिबार) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमालाई स्मरण गर्ने विशेष दिन । हुन त आमाप्रति माया दर्शाउन कुनै सन्दर्भ चाहिंदैन । यद्यपि मातातीर्थ औंसी आमाको निम्ति विशेष र स्मरणीय बनाउन सकिन्छ । अतः यसबेला आमालाई मीठो मसिनो खुवाएर उपहार दिने प्रचलन छ ।

यस्ता उपहारले आमालाई मात्र नभई छोराछोरीलाई समेत खुसी र आनन्द दिन्छ ।

मोबाइल

मोबाइल अहिले अत्यावश्यक जस्तै  भएको छ । अहिले बढ्दो सहरीकरणले लाखौं आमाहरु सन्तानबाट टाढिएका छन् । आमाहरु गाउँमा छन्, छोराछोरी सहरमा । आमाहरु देशमा छन्, छोराछोरी विदेशमा ।

यस्तोमा कुराकानी गर्नका लागि, माया साट्नका लागि मोबाइल एउटा सेतु बन्नसक्छ । टाढिएका सन्तानसँग अडियोमा मात्र होइन, प्रत्यक्ष देखादेख गरेर भिडियोमा कुराकानी गर्न सक्छिन् । त्यति मात्र होइन, एक्लोपन वा पट्यारलाग्दो दिन कटाउने साधन पनि बन्छ यो ।

चाहे रेडियो सुन्न होस् वा फोटो र भिडियो हेर्नका लागि, मोबाइल उपयोगी हुन्छ । पहिले पहिले आमाबुवाहरु धार्मिक ग्रन्थ पढ्थे । अहिले अडियोमा यस्तो सामग्री उपलब्ध हुन्छन् । त्यसो त टर्च बाल्न होस् वा घडी हेर्न, मोबाइलले सबै काम गर्छ ।

मोबाइलमा अरु थुप्रै फिचर्स वा एप हुन्छन्, जो उनीहरुको लागि उपयोगी हुनसक्छ ।

व्यायाम गर्दा र हिंड्दा लगाउने लुगा

अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । उनीहरु व्यायाम गर्न थालेका छन् । बिहान र साँझ हिंड्न वा दौडिन थालेका छन् । आमाबुवाहरु स्वास्थ्य र तन्दुरुस्तीका लागि यसरी नै हिंड्ने गर्छन् । उनीहरु व्यायाम पनि गर्न सक्छन् । योग, प्राणायाम गर्न सक्छन् । यस्तोे अवस्थामा साडी, लुंगी, कुर्ता सुरुवाल आदि असहज हुनसक्छ । त्यसैले उनीहरुलाई खुकुलो टाउजर, टिसर्ट, स्पोर्टस् सुज खरिद गरिदिन सकिन्छ । यस्तो उपहार आमाको लागि निकै उपयोगी हुन्छ ।

इन्डोर प्लान्ट

इन्डोर प्लान्ट पनि आमाको लागि राम्रो उपहार हुनसक्छ । आमाले जुन कोठामा बढी समय बिताउँछिन्, त्यहाँ यस्ता बुट्याउन सजाउन सकिन्छ । यस्ता थुप्रै इन्डोर प्लान्ट हुन्छ, जो घरभित्र राख्दा वायु शुद्धीकरण गर्ने काम गर्छ । त्यसैगरी हेर्दा आकर्षक हुन्छ ।

चिरिच्याट्ट कोठा अनि त्यही अनुरुपको सजावट देख्दा आमाको मन प्रफुल्ल हुन्छ । उनीहरुलाई यसले मानसिक रुपमा पनि स्वस्थ राख्छ । साथसाथै फूललाई स्याहार्नुपर्ने, मलपानी लगाउनुपर्ने भएकाले शारीरिक रुपमा पनि सक्रिय राख्छ ।

घरेलु सामग्री

अहिले धेरैजसो छोराछोरी कामकाजी हुन्छन् । कुनै रोजगार, उद्यम, व्यवसाय गरिरहेका हुन्छन् वा पठनपाठन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा दिनभर घरमा आमा एक्लै बस्नुपर्ने हुनसक्छ । घरमा बसेको बखत तातोपानी खान, तातो नास्ता खानुपरेमा सोही किसिमको भाँडावर्तनको व्यवस्था गरिदिन सकिन्छ । जस्तो, पानी तताउन विद्युतीय जग, खानेकुरा तातो राख्न हटकेस, खानेकुरा तताएर खान ओभन आदि उपयोगी हुन्छ । अतः आमाका लागि यस्ता सामग्री पनि उपहारमा दिन सकिन्छ ।

फोटो एल्बम

फोटो एल्बमको जमाना हराइसक्यो । प्रिन्टेट फोटो सजाएर संग्रहित गर्ने चलन हराउँदै छ । यद्यपि आमाहरु जुन समयमा हुर्किए, उनीहरुको समयमा फोटो एल्बमको खास महत्व हुन्थ्यो । यस्तो फोटो एल्बमले उनीहरुलाई नोस्टाल्जिक बनाउन सक्छ । अर्थात् आफ्नो बाल्यकाल, युवा अवस्थामा फर्कन सक्छन् र यसले उनीहरुको मुड रोमान्टिक बनाउनेछ । यसमा आमाको फोटो संकलन गरेर विभिन्न समय र परिवेशको फोटो राख्न सके अरु काइदा हुन्छ ।

सर्वोत्तम उपहार

आमाको लागि सर्वोत्तम उपहार भनेको तपाईंको खुसी र स्वास्थ्य हो । तपाईंले कुनै मदिरापान, धुमपान गर्नुहुन्छ वा अन्य कुलतमा हुनुहुन्छ भने,त्यसले सबैभन्दा पिरोलेको आमालाई नै हुन्छ । यदि यी लतबाट छुट्नुभयो र त्यसको खबर आमालाई सुनाउनुभयो भने आमाको लागि योभन्दा ठूलो खुसी अरु हुँदैन ।

मानौं, तपाईंको प्रवृत्ति भ्रष्ट छ, दूराचारी छ, परपीडक छ, स्वार्थी छ, असामाजिक छ भने कुनै न कुनै क्षण तपाईंको असली अनुहार उदांगो हुनेछ । यस्तो बेला तपाईंकी आमा सबैभन्दा बढी पिरोलिनेछन् । यदि यस्ता भ्रष्ट प्रवृत्तिलाई त्याग्नुभयो भने त्यो आमाको लागि सर्वोत्तम उपहार हुनेछ ।

तपाईं जति सरल जीवन बाँच्नुहुन्छ, आमा उति खुसी रहन्छिन् । तपाईंको खुसीमा नै आमाले परम् सन्तोष मान्ने हो । त्यसैले तपाईंको स्वास्थ्य र खुसी आमाको लागि सर्वोत्तम उपहार हुनसक्छ । आमाको स्वास्थ्य र खुसीको पनि उत्तिकै ख्याल गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?