+
+

सर्लाहीमा अन्तिम नामावली टाँसिसक्यौं, अब परिवर्तन हुदैन : निर्वाचन अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते २१:५०

१६ वैशाख, काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएको उम्मेदवारी फिर्ताको पत्र अस्वीकृत गरेको छ ।

समयसीमाभित्र पत्र नआएको र पत्रमा विवरण खुल्ने गरी व्यहोरा सम्बोधन पनि नभएको भन्दै कांग्रेस उम्मेदवार बासुदेव अधिकारीको मनोनयन फिर्ता गर्न अस्वीकृत गरेको हो । उच्च स्रोतका अनुसार, पत्र अस्वीकृत गरेलगत्तै निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले निर्वाचन आयोगमा रिपोर्टिङ गरेका थिए ।

‘हामीले अन्तिम नामावली प्रकाशित गरेलगत्तै जिल्ला निर्वाचन कार्यालयबाट कांग्रेस सभापतिले पठाएको इमेल फरवार्ड भएर आयो’ उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘६ बजिसकेको थियो, हामीले अब हेर्न सक्ने अवस्था भएन । प्रक्रिया टुंगिइसक्यो ।’ स्रोतका अनुसार, ६ बजेर १६ मिनेटमा इमेल प्राप्त भएको भनी आयोगमा रिपोर्टिङ भएको थियो ।

सत्ता गठबन्धनका दलहरुबीच लालबन्दी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रल्हादकुमार बुढाथोकीलाई आधिकारिक उम्मेदवार मान्ने र कांग्रेस उम्मेदवार वासुदेव अधिकारीले नाम फिर्ता लिने सहमति भएको थियो ।

त्यस अनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय अपरान्ह ५ बजेभित्रै अधिकारीले नाम फिर्ता लिनुपर्ने थियो । तर उनले फिर्ता नलिएपछि कांग्रेसले सभापति देउवाले उनको नाम फिर्ता लिएको भनी केन्द्रबाटै पत्र पठाउने विकल्प रोज्यो । तर देउवाको पत्र समयमा नपुगेपछि अधिकारीको उम्मेदवारी कायमै रहेको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नगर प्रमुखका उम्मेदवार बासुदेव अधिकारीको नाम मनोनयनबाट फिर्ता हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा पठाएका थिए । निर्वाचन आयोगमा भएको रिपोर्टिङ अनुसार, दुईवटा कारणले त्यो पत्र स्वीकृत गर्नसक्ने अवस्था थिएन ।

पहिलो, उक्त पत्र सवा ६ बजेपछि मात्रै निर्वाचन अधिकृतको कार्यालयमा इमेल फरवार्ड भएर आएको थियो । दोस्रो, देउवाको नाममा प्रेषित पत्र यति हतारमा काटिएको थियो कि कहाँ पठाइयो भन्ने विवरण समेत थिएन ।

पत्रको सम्बोधनमा ‘निर्वाचन अधिकृतज्यू, निर्वाचन अधिकृतको कार्यालय, सर्लाही’ भनिएको छ । सर्लाहीमा स्थानीय तहको नाममा मात्रै निर्वाचन अधिकृतको कार्यालय छ ।

खासमा देउवाले निर्वाचन अधिकृतको कार्यालय, लालबन्दीका नाममा पत्र पठाउनुपर्ने आयोग स्रोत बताउँछ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन प्रक्रियाका विषयवस्तु हेर्दैन ।

शुक्रबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ताको समयसीमा थियो । धेरै निर्वाचन अधिकृतको कार्यालयले ५ देखि ६ सम्म अन्तिम नामावली प्रकाशन गरेका छन् ।  ‘घटनापछि अब हामीले कुनैपनि हालतमा रिभ्यू गर्न सकिदैन भनेर उहाँ(निर्वाचन अधिकृत श्रेष्ठ)ले रिपोर्टिङ गर्नुभयो’ आयोग स्रोतले भन्यो, ‘प्रकाशित अन्तिम नामावलीलाई नै आयोगले मान्यता दिन्छ ।’

सर्लाहीको लालबन्दी नगरपालिकाको प्रमुखमा ११ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये एकीकृत समाजवादीका उम्मेदवार रमा कुमारी पौडेलले मात्रै मनोनयन फिर्ता लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?