+
+

माओवादीले खोस्यो सुदूरपश्चिम इञ्चार्ज भट्टको अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १९:२६

१६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।

निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो ।

माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरे ।

‘यसअघि अध्यक्ष निर्वाचित नभएकाले इन्चार्जलाई जिम्मा दिइएको थियो, अहिले अध्यक्ष निर्वाचित भइसकेकाले अध्यक्षकै हस्ताक्षर चल्छ’ उनले भने । यसअघि इन्चार्ज भट्टले गरेको हस्ताक्षर मान्य हुने तर अबदेखि भने चौधरीको हस्ताक्षर चल्ने ढकालले बताए ।

शुक्लाफाँटाबाट बढ्यो विवाद

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम इञ्चार्जको रुपमा खगराज भट्ट थिए । त्यसैले चुनावमा मनोनयन पत्र दर्ता लगायतका काममा निर्वाचन आयोगको अभिलेखमा भट्टको हस्ताक्षर चल्थ्यो । तर पार्टीको कार्यकारी प्रदेश समिति हो ।

त्यसैले तल्ला कमिटीबाट आएका सिफारिसको आधारमा भट्टको समेत उपस्थितिमा प्रदेश समितिले कुन पालिकामा कसलाई उम्मेदवार बनाउने भनेर निर्णय गर्नुपर्थ्यो ।

स्रोतका अनुसार ती निर्णयमा केही स्थानमा भट्टले हस्तक्षेप गरे र उम्मेदवारको नाम परिवर्तन गरी पठाए । त्यसमध्येको एक हो कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर उम्मेदवार चयनको विषय ।

नगर कमिटीले पहिलो नम्बरमा लोकबहादुर ऐरलाई शुक्लाफाँटाको मेयर उम्मेदवार बनाउन सिफारिस गरेको थियो । जिल्ला संयोजक खेम पाण्डेले पनि लोकबहादुरलाई नै सदर गरे । त्यसैको आधारमा प्रदेश समितिले लोकबहादुरलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो ।

तर भट्ट भने लोकबहादुरलाई नभई नवराज ऐरलाई उम्मेदवार बनाउनुपर्ने अडानमा थिए । नवराज पूर्वगृहमन्त्री जनार्दन शर्माको सचिवालयमा र सभामुख अग्नि सापकोटाको सचिवालयमा समेत थिए ।

स्थानीय नेताहरुका अनुसार सत्ता गठबन्धनमा भागबन्डा गर्दा शुक्लाफाँटा नगरपालिकामा मेयर माओवादी केन्द्रले लिने र उपमेयर एकीकृत समाजवादीले लिने तय भएको थियो ।

सोही अनुसार माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी तथा इञ्चार्ज भट्ट दुबैले मेयरमा लोकबहादुर ऐरलाई सिफारिस गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्दा भट्ट आफैं निर्वाचन अधिकृतको कार्यालय गएर लोकबहादुरको सट्टा नवराजको उम्मेदवारी दर्ता गराउन भूमिका खेलेका थिए ।

त्यसबाट असन्तुष्ट लोकबहादुरले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराए । यसरी शुक्लाफाँटाको मेयर उम्मेदवार माओवादी केन्द्रबाट दुई जना भए ।

आधिकारिकताको विवाद उठेपछि भट्टले आफू प्रदेश कमिटी इञ्चार्ज रहेको र आफ्नो हस्ताक्षर नै आधिकारिक हुने भन्दै नवराजको पक्ष लिए । त्यसपछि सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले विज्ञप्ति निकालेर नवराज ऐर माओवादी केन्द्रको आधिकारिक उम्मेदवार भएको सार्वजनिक गरे ।

माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ताहरुले नवराजको उम्मेदवारी दर्ताको विरोध गरे । त्यसपछि यो विवाद प्रदेश हुँदै पार्टी केन्द्रमा पुग्यो ।

‘यही विवादपछि माओवादी केन्द्रीय कार्यालयले लोकबहादुरको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न लगाउने र खगराज भट्टले पार्टीको निर्णय विपरीत काम गरेकाले आइन्दा उनको हस्ताक्षर निर्वाचन प्रयोजनका लागि नचल्ने निर्णय गर्यो’, माओवादी स्रोतले भन्यो ।

‘निर्वाचनकै सन्दर्भमा अझै पनि धेरै कामहरु बाँकी छन् । तर भट्टजीले कतिबेला के गर्दिनुहुन्छ ठेगान छैन, त्यही भएर केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर चल्ने निर्णय गरेको छ,’ स्रोतले भन्यो ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतले पनि अबदेखि भट्टको सट्टा चौधरीको हस्ताक्षर भएको पत्रलाई मात्र मान्यता दिन भनेर माओवादी केन्द्रले जानकारी गराएको पुष्टि गर्यो ।

निर्वाचन कार्यालयका एकजना कर्मचारीले अनलाइनखबरसँग भने, ‘निर्वाचन प्रयोजनका लागि आइन्दा प्रदेश अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भनेर माओवादी केन्द्रीय कार्यालयले हामीलाई जानकारी गराएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?