+
+

‘अटेरी’ उम्मेदवार गनेसको ‘लौरो’ खोसियो !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १६:४७

१७ वैशाख, पोखरा । अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले पाएको चुनाव चिह्न ‘लौरो’ फिर्ता भएको छ । उनले शनिबार बिहानमात्रै उक्त चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका थिए ।

पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए । ‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन्न मिल्दैन भन्दै खबर पठाएको छ,’ उनले भने ।

मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले लौरो चिह्न पाएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिए । पोखराको मेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिए । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ ।

‘७ अंकसम्म भएको चुनाव चिन्ह बाँड्न हामीलाई निर्वाचन आयोगले राति परिपत्र पठाएको रहेछ । हामीले कामको व्यवस्तताका कारण दिउँसोमात्रै देख्यौं,’ भट्टराईले भने, ‘आयोगको निर्देशनभन्दा बाहिर हामी जान सक्दैनौं ।’ उनले पोखरामा स्वतन्त्र उम्मेदवार ७ भन्दा बढी संख्यामा भए लौरो चुनाव चिह्न दिन सकिने अवस्था रहेको बताए ।

वर्णानुक्रम ७ भन्दा पछिका चुनाव चिह्न बाँड्दा आवश्यकताबिनै ठूलो संख्यामा मतपत्र छाप्नुपर्ने र त्यसले असर पार्ने उनले जानकारी दिए ।

मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राखेका छन् । ‘सुरुमा आफैं वितरण गरेर पछि कसरी दिन्न भन्न पाउँछ ? मैले अर्को चुनाव चिह्न लिन आउँदिन भनेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?