+
+

वीरेन्द्रनगरमा एमालेले ल्यायो घोषणापत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १९:३९

१७ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नेकपा एमालेका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको वीरेन्द्रनगर नगर कमिटीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

एमालेबाट वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा नीलकण्ठ खनाल उम्मेदवार बनेका छन् । घोषणापत्रमा भेरीको पानी लिफ्टिङ गरी तीन वर्षभित्र वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने र वीरेन्द्रनगरमा सहायक राजमार्ग निर्माण गर्ने उल्लेख छ ।

त्यस्तै वैकल्पिक बसपार्क निर्माण गर्ने, नगर क्षेत्रभित्रका सडक र प्रत्येक घरधुरीको नम्बरिङ गरी मेट्रिक ठेगाना प्रणाली लागू गर्ने, वीरेन्द्रनगरको गुरूयोजना अनुसार नक्सांकन गरिएका सडकको लगतकट्टा गर्न सहरी नापीलाई निरन्तरता दिने र फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणलाई तीव्रता दिने प्रतिबद्धता गरिएको छ ।

घोषणा पत्रमा ‘एक घर एक महिला स्वरोजगार’, एक घर दुई बिरुवा, हामी आफैं कुरुवा’ जस्ता नाराहरू समेटिएका छन् । नगर बस सञ्चालन गर्नेदेखि उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

विद्युतीकरण हुन नसकेका ठाउँमा विद्युतीकरण गर्ने, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारका योजना निर्माण गरिने, रत्न राजमार्गदेखि दक्षिणतर्फको क्षेत्रको बाटोको क्षेत्राधिकार तोकी सडक कालोपत्रे र स्तरोन्नति गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

स्वास्थ्यतर्फ योग, प्राणायाम, आयुर्वेद, आहार, विहार र विचारमा जोड दिइने, अपाङ्गमैत्री संरचना लगायतका योजना घोषणापत्रमा समावेश गरिएको छ ।

हेर्नुहोस् घोषणापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?