+
+

उपत्यकाका स्थानीय तहमा दलित महिला सदस्य : २६ वटा खाली, १६ वटामा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १५:००

१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका २१ स्थानीय तहका २६ वटा वडामा दलित महिला सदस्य खाली हुने भएको छ । ती वडामा कसैले पनि प्रतिस्पर्धा गरेका छैनन् । दलहरुले दलित महिला सदस्य उम्मेदवार खडा गर्न नसक्दा ती वडाहरु दलित महिला प्रतिनिधित्वविहीन बनेको छ ।

उपत्यकाका स्थानीय तहका १६ वटा वडामा एकजनाका दरले मात्रै प्रतिस्पर्धा हुँदा दलित महिला सदस्यहरु निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदा उनीहरु आ–आफ्नो वडामा एक्लै छन् । उनीहरु निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ ।

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिका –१८ मा एमालेबाट अम्बिका सुनार निर्विरोध भएकी छन् । २२ मा एमालेबाट गिता परियार र २३ मा कांग्रेसबाट कञ्चना हरिजन निर्विरोध भएका छन् ।

वडा नम्बर २७ मा एमालेबाट प्रभा परियार निर्विरोध भएकी छन् । काठमाडौं–२४ र २५ नम्बर वडामा कसैले पनि महिला वडा सदस्यमा उम्मेदवारी दिएनन् ।

पाँचवटा नगरपालिकामा सीमित प्रतिस्पर्धा

कीर्तिपुर नगरपालिका–८ मा एमालेबाट सरस्वती परियार र १० बाट माओवादी केन्द्रकी मञ्जु परियार निर्विरोध भएका छन् । १ नम्बर वडामा कसैले पनि उम्मेदवारी दिएनन् ।

दक्षिणकाली नगरपालिकाको ३ र ७ वडामा कसैको पनि प्रतिस्पर्धा छैन भने नागार्जुन नगरपालिका–४ मा कांग्रेसकी शोभा नेपाली निर्विरोध भएकी छन् ।

टोखा नगरपालिका–२ मा कांग्रेस उम्मेदवार लक्ष्मी हिङमाङ निर्विरोध हुँदा शंखरापुर–२ मा माओवादी केन्द्रकी मनिषा परियार निर्विरोध भएकी छन् । ८ नम्बर वडामा कोही पनि प्रतिस्पर्धी छैनन् ।

पाँचवटामा मात्रै पूर्ण प्रतिस्पर्धा

काठमाडौंको ११ मध्ये ५ वटा नगरपालिकामा मात्रै सबै वडामा दलित महिला सदस्यहरुको प्रतिस्पर्धा रहेको देखिन्छ ।

चन्द्रागिरी, तारकेश्वर, बूढानीलकण्ठ, गोकर्णेवर र कागेश्वरी मनहरामा मात्रै सबै वडामा प्रतिस्पर्धा छ ।

भक्तपुर पनि उस्तै

भक्तपुरको मध्यपुर–४ मा कोही पनि प्रतिस्पर्धामा छैनन् । ५ मा लक्ष्मी देउला कांग्रेसबाट निर्विरोध भएकी छन् ।

भक्तपुर नगरपालिका–१, २, ३, ४, ७, ८ र ९ मा दलित महिला सदस्य उम्मेदवार बनेनन् । वडा नम्बर ५ मा नेपाल मजदुर किसान पार्टीबाट सरिना द्योला निर्विरोध भएकी छन् ।

वडा नम्बर १० मा नेमकिपाबाट नै विष्णुमाया कामी निर्विरोध भएकी छन् । सूर्यविनायक–३ मा कोही उम्मेदवार छैनन् । चाँगुनारायण नगरपालिकाका सबै वडामा महिला दलित सदस्यको प्रतिस्पर्धा छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाका १० वटा वडामा दलित महिला सदस्य पद खाली छ । ललितपुर महानगरपालिकाको १, ६, ७, ८, १२, १६, १७, २१, २६ र २७ नम्बर वडामा दलित महिला वडा सदस्यमा कसैको उम्मेदवारी परेन । वडा नम्बर ११ मा एमालेबाट सचिना परियार निर्विरोध भएकी छिन् । ललितपुरको गोदावारी र महालक्ष्मी नगरपालिकाका सबै वडामा प्रतिस्पर्धा छ ।

ललितपुरको महांकाल गाँउपालिका–१ मा दलित महिला सदस्य पद खाली छ । बागमती गाउँपालिका–१ मा कांग्रेसकी संगिता नेपाली निर्विरोध भएकी छन् ।

कोञ्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट कृष्णकुमारी नेपाली र ४ मा माओवादी केन्द्रबाट सपना मंग्राती निर्विरोध भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?