चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।
बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रुपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्व. लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरुलाई विशेष सम्मान समेत गरियो । त्यसरी सम्मानित हुनेहरुमा राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङ छन् । उनीहरुले सम्मानपत्रको साथमा नगद समेत प्राप्त गरेका थिए ।
सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाई तथा परिवारका अन्य सदस्यहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा स्व. चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।
भिडियो सामाग्री तथा पुस्तिकामा लूनकरणदास चौधरीले कसरी चौधरी ग्रुपको आधारशिला तयार गरेका थिए भन्ने चाखलाग्दो विषयलाई समेटिएको छ ।
ती सामाग्रीमा उल्लेख भएअनुसार वि.सं. १९७९ साल बैशाख ९ गते काठमाण्डौको मखनमा जन्मिएका लूकनरणदास २० वर्षको हुँदा पिता भूरामलको निधन भएको थियो । त्यसपछि उनले चौधरी परिवारको व्यापार र पारिवारिक दायीत्वको बोझ उठाएका थिए ।
काठमाडांैमा कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको शुरुवात गरेका थिए । त्यसपछि दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो ।
‘त्यसबेलाका यिनै उद्योगहरुको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैंचा तयार भएको हो,’ सार्वजनिक पुस्तिकामा भनिएको छ–‘आज यिनै कर्मयोगी लूनकरणदासले रोपेको उद्योग वाणिज्यको बीउ उम्रिँदै, फूल्दै र फल्दै चौधरी ग्रुपमा रुपान्तरण भई नेपालको उद्योग–वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्वित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ ।’
कार्यक्रममा स्व. लूनकरणदासलाई नजिकबाट चिन्ने साथीभाई तथा परिवारका सदस्यहरुले उनको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।
एमडी अग्रवालले स्व. लूनकरणलाई सम्झिँदै उनमा पैसा र प्रशस्त धनसम्पत्ति भएर पनि अहंकार नभएको बताएका थिए ।
‘उहाँमा ईश्वरप्रति अगाध सम्मान र परिवारप्रति अविचलित प्रेम थियो,’ अग्रवालले भने,‘जीवनको अन्तिम सासहरु लिइरहँदा समेत उहाँको अनुहारमा मलीनता मैले देखिन ।’
वरिष्ठ कलाकार हरिहर शर्माले चौधरी कर्मयोगी भएकै कारण आज पनि नेपालीहरुको स्मृतिमा जीवित नै रहेका बताएका थिए ।
‘उहाँका विचार राष्ट्रप्रेमबाट ओतप्रोत थिए,’ शर्माले भने,‘उद्योग–व्यवसाय नफस्टाएसम्म देशमा रोजगारी सिर्जना हुँदैन भन्ने कुरामा उहाँ प्रष्ट हुनुहुन्थ्यो । उद्योग–व्यवसाय अर्थलाभका लागि मात्र नभएर राष्ट्र र समाज सेवाका लागि पनि समर्पित हुनुपर्छ भन्ने उहाँमा धारणा थियो ।’
लूनकरणदास चौधरी सार्वजनिक सेवाभावबाट अभिप्रेरित व्यक्तित्व रहेका उनको भनाई थियो ।
‘उहाँको साहित्यकला क्षेत्रमा पनि विशेष रुचि र देन थियो,’ उनले भने,‘जनतादेखि राजासम्मलाई देखेको र भोगेको व्यक्तित्व हुनुहुन्थ्यो ।’
स्व. चौधरीका ज्वाई महेशकुमार अग्रवालले आफ्ना ससूरा युगपुरुष रहेका बताए ।
‘ईश्वरीय कानून र देशको कानूनलाई मानेर अगाडि बढेकै कारण उहाँले चौधरी ग्रुपको आधारशीला तयार गर्नुभयो,’ उनले भने–‘उहाँमा सोलिड देशप्रेम थियो । सटिक निर्णय लिनसक्ने विचित्रको क्षमता थियो ।’
स्व. चौधरीकी नातिनी मेगा चौधरी तथा नाति निर्वाण चौधरीले समेत आफ्नो हजूरबुबाको विषयमा मन्तव्य दिएका थिए ।
मेगाले आफ्नो हजूरबुबाले देखाएको सत्मार्गमा आफू बढिरहने प्रण गरेकी थिइन् भने निर्वाणले हजूरबुबा भिजिनरी व्यक्तित्व, धरातल नबिर्सिने, इथिकल व्यवसायिक सेन्स भएको, समाज र देशप्रति चिन्तित व्यक्तित्व रहेका बताएका थिए ।
स्व. लुनकरणदासका कान्छा छोरा उद्योगपति अरुण चौधरीले आफ्ना पिता वास्तविक सेल्फमेड म्यान रहेका बताएका थिए ।
‘आजको आधुनिक चौधरी ग्रुपको फाउण्डर हुनुहुन्थ्यो उहाँ,’ उनले पितालाई सम्झिँदै भने–‘उहाँमा रहेका गुणहरुको १० प्रतिशत मात्रै गुण भएमा पनि मानिसको जीवन पूर्ण हुन्थ्यो होला ।’
आफ्ना पिताले पैसा र धनसम्पत्तिलाई कहिल्यै प्राथमिकतामा नराखेको, बरु अरुको पीडा र व्यथामा मल्हमपट्टि गर्नतर्फ ध्यान दिएको उनको भनाइ थियो ।
‘मानिसलाई कति पैसा कमायो, कति धेरै गरगहना जोड्यो भन्ने विषयले धेरै अर्थ नराख्ने रहेछ,’ उनले पितालाई सम्झिँदै भने–‘त्यो मानिसले जिवित छउञ्जेल कति मानिसको हृदय छुन सक्यो, कतिको आँसु पुछ्न सक्यो र कतिलाई काँध दिन सक्यो भन्ने कुराले जीवन सार्थक बनाउने रहेछ । त्यसकै मूर्त रुप मेरो बुबा हुनुहुन्थ्यो ।’
माइला छोरा उद्योगपति तथा चर्चित साहित्यकार बसन्त चौधरीले आफ्ना पिता आफ्नो जीवनमा प्रेरणाको साँझबिहान बनेर उभिएका भन्दै स्मरण गरेका थिए । उनले आफ्ना पिताको स्मरणमा लेखेको कविता पनि सुनाएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4