+
+

चन्दननाथमा एमालेको घोषणापत्र : १२ कक्षासम्म निःशुल्क शिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:५१

१९ वैशाख, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ । घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ ।

घोषणापत्रमा कक्षा १-१२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने उल्लेख छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष स्थापना गरिने जनाइएको छ ।

घोषणा पत्रमा हरेक वडामा कम्युटर प्रगोगशाला, बेबी केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्ने उल्लेख छ । जुम्लाको बस्ती विकासका लागि पाखे चक्रपथको अवधारणा अघि सारिने छ ।

स्थानीय स्तरमा जैविक ग्याँस, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

चन्दननाथ मन्दिरलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउने घोषणपत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो ।

कृषिमा हरेक वडामा ठूलो शीत भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिंचाइलाई प्रथामिकता दिइनेछ ।

यसैगरी नेकपा एमालेबाट तातोपानी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका सुरतबहादुर शाहीले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

उनले तातोपानीका सबै गाउँमा सड्क विस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिइने, जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैंगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?