निर्वाचनले राज्य व्यवस्थामा साधारण जनताको संलग्नता र भूमिकालाई सुनिश्चित गर्दछ। आवधिक निर्वाचन प्रजातन्त्रको आत्मा हो र यसद्वारा जनअपेक्षा प्रतिबिम्बित गर्ने अभ्यास नियमित रूपमा गरिन्छ। बीपी कोइराला भन्नुहुन्थ्यो- ‘चुनाव भनेको स्वेच्छाको वरण हो।’
निर्वाचनको समय जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण र निर्णायक समय हो। यो समयमा विवेकलाई बन्धकी राखेर गलत निर्णय गरियो भने त्यस परिणामको पीडा पलपलमा भोग्नुपर्छ, हामीले मात्र होइन हाम्रा सन्ततिले समेत भोग्नुपर्दछ। गलत व्यक्तिलाई गाडीको चालक बनाउँदा दुर्घटना हुनु कुनै आश्चर्य नभए जस्तै त्यस्ता व्यक्तिलाई हाम्रा निर्णायक तहमा पुर्याउँदा हाम्रो यात्रा दुर्घटनाउन्मुख हुन जान्छ।
जनता जनार्दन हौं। प्रजातन्त्रलाई वास्तवमै प्रजाको तन्त्र हो भन्ने प्रमाणित गर्ने अत्यन्तै संवेदनशील अवसर निर्वाचन हो। यसलाई दाइतन्त्र, धनतन्त्र वा बलतन्त्र बन्न दिनुहुँदैन। हामीले शासकीय अधिकार विवेकहीन रूपमा कोही भ्रष्ट, अकर्मण्य व्यक्तिलाई सुम्पिनु भनेको हाम्रो आफ्नो भविष्यको रेखांकन गर्ने जिम्मा कुनै नालायकलाई लगाउनु हो। हामीले आफ्नो मतको शक्तिलाई किमार्थ कमजोर ठान्नुहुँदैन।
यही मत राष्ट्र रुपान्तरणको साँचो बन्न सक्छ भने यही मत कसैलाई देश लुट्न दिने लाइसेन्स बन्न सक्छ। निहित स्वार्थ, डर वा क्षणिक प्रलोभनमा परेर आफ्नो मतको अझ भनौं मतको शक्तिको अवमूल्यन नगरौं। ‘मनी’, ‘मसल’ वा अन्य कुनै शक्तिको प्रभावमा आत्मा नबेचौं, स्वाभिमान नगुमाउँ। हामी सबै कुनै न कुनै दलका अन्ध समर्थक भइदिंदा दलहरूलाई सही अर्थमा जवाफदेही बनाउन सकिंदैन।
सही पात्र छनोट गर्नु नागरिक अधिकार त हो नै यो नागरिक जिम्मेवारी र कर्तव्य पनि हो। यो हाम्रो समाज, समुदाय र राष्ट्रप्रतिको बफादारी पनि हो। राजनैतिक व्यवस्थाको सहजीकरणको लागि दलीय प्रणालीको स्थापना र अभ्यास भएको हो। अर्को शब्दमा भन्ने हो भने प्रजातन्त्रको उन्नत अभ्यास र यसलाई व्यवस्थित गर्न दलीय व्यवस्थाको अवलम्बन गरिएको हो। यसको आफ्नै महत्व र सुन्दरता छ। तर दलहरूको आन्तरिक निर्दलीयकरण विडम्बनापूर्ण एवं भयानक बनिरहेको छ।
यसले एकातिर राजनीतिको अपराधीकरण र अर्कोतिर अपराधको राजनीतीकरणमा मलजल गरिरहेको छ। दलालहरूले दलदलमा फसाएका दलहरूले समाज र देशको अग्रगामी रुपान्तरणको नेतृत्व कसरी गर्न सक्लान् ? हामी त सिद्धान्तप्रति निष्ठावान भएर मतदान गरौंला तर सिद्धान्त र आदर्शबाट विचलित भएर जोसँग जसरी पनि साँठगाँठ र गठबन्धन गर्ने दलहरूले हाम्रो अटल आस्था र सैद्धान्तिक निष्ठामाथि कुठाराघात गरिरहेका त छैनन् ?
हाम्रो आस्थाको व्यापार गरेर पदको सौदावाजी गरिरहेका त छैनन् ? दलीय व्यवस्थाको नाममा दलीय दासता स्वीकार नगरौं। चित्त नबुझेमा बोलौं, प्रश्न गरौं। दलहरूलाई जवाफदेही बनाउँ। दलका कार्यकर्ताले दलीय अनुशासन र संस्कार पालना गरौं, तर निरंकुशता होइन।
बीसौं शताब्दीको मध्यदेखि विभिन्न तरिकाले र विभिन्न स्वरूपमा आइरहेको वैदेशिक सहयोग, हाम्रो आफ्नै अमूल्य प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता, पुरातन ज्ञान र संस्कृतिको अपार भण्डार एवं अद्वितीय प्राकृतिक सुन्दरता आदि हुँदाहुँदै पनि देश अझै पनि गरिबी, अभाव र पछौटेपनबाट ग्रसित छ।
एकपटक गम्भीर भएर सोचौं ! विगतको बारेमा सोचौं, वर्तमानको बारेमा सोचौं, भविष्यको बारेमा सोचौं। हामीले यात्रा गर्ने सुन्दर सवारी साधनको चाबी मादक पदार्थ सेवन गरेको, मानसिक सन्तुलन गुमेको वा सीप नै नभएको चालकलाई सुम्पदाको परिणाम के होला ?
एकातिर आश्वासनको खेती गर्नेहरूले सपनाको बाली राम्रैसँग लगाइरहेका छन्। अर्कोतिर चरम द्रव्यलालसा बोकेका भ्रष्टहरूले दिल खोलेरै लगानी गरिरहेका छन्, सयौं गुणा नाफाको आशमा।
केही दलालहरू दलहरूको संरचनामा घुसेर ती दल र सारा समाजलाई नै दलदलमा फसाउने गरी आफ्ना स्वार्थ सिद्धिका तानाबाना बुनिरहेका छन्। भ्रमको खेतीका अनेक उपाय र प्रपञ्च रचेर हामी जनतालाई भर्याङ बनाएर सत्तामा उक्लिने कुचेष्टा गरिरहेका कुपात्रहरूको बेलैमा पहिचान गरौं।
योग्य, कर्मठ, नैतिकवान र सदाचारी व्यक्तिहरूले आवश्यक सुझबुझ, सही सोच र नियतका साथ नेतृत्व गरेमा हाम्रो समाजको रुपान्तरण सम्भव छ भन्ने कुरा नबिर्सौं। जब दलीय संस्कार र मूल्य मान्यताको क्षयीकरण हुन्छ तब दलीय प्रजातन्त्रको सुन्दर परिपाटी भ्रष्टीकरणतर्फ उन्मुख भई देश र जनताले धोका पाउने कुरा निश्चित हुन्छ। अर्कोतर्फ वर्तमान समयमा राजनीतिमा धन बोल्ने र सत्य चुप लाग्ने दुखद अवस्था देखिएको छ।
यसको शुद्धीकरण तपाइँ हामीले गर्न सक्छौं, तपाईं हाम्रो मतले गर्न सक्छ। भ्रष्ट, अकर्मन्य, दुष्टहरूलाई जनताले डण्डा लगाउने, योग्य र सक्षम पात्रहरूलाई पुरस्कृत गर्ने सबैभन्दा उपयुक्त अवसर निर्वाचन हो। यो अवसरलाई गुम्न नदिउँ। विवेकलाई बन्दी नबनाउँ, कुनै प्रलोभनमा परेर कसैको पदलोलुपतालाई साकार बनाइदिने निरीह पात्र नबनौं।
आफ्नो नागरिक आदर्श र स्वाभिमानको बिक्री नगरौं। आँखा खोलौं, विवेकको ढोका उघारौं, मनको दियो बालौं। हरेक नेपालीको मत सुन्दर राष्ट्र निर्माणको एक इँटा बनोस्, समाज रुपान्तरणको एक दियो बनोस्।
(लेखक ब्रेन गेन सेन्टर, नेपालका प्रथम संयोजक हुन्।)
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4