
हलिउडको प्रतिष्ठित अवार्ड ‘ओस्कार’ अवार्ड जित्ने कलाकारले स्वस्थ जीवन बाँच्ने र आयुसमेत लामो हुने देखिएको छ । क्यानडाको टोरन्टो विश्वविद्यालयको अनुसन्धानले यस्तो देखाएको हो ।
ओस्कार अवार्ड जित्ने कलाकार औसत ८१.३ वर्षसम्म र नोमिनेसनमा परेका कलाकार ७६.४ वर्ष बाँच्ने गरेको अनुसन्धानको दाबी छ । यो अध्ययनका लागि वैज्ञानिकले एक मोडल तयार गरेका थिए । अध्ययनमा सन् १९२९ देखि २०२० सम्मको अवधिमा ओस्कार अवार्ड जितेका र हारेका गरी २ हजार १११ जना कलाकारलाई सहभागी गराइएको थियो ।
अनुसन्धानमा सहभागी कलाकारमध्ये १ जुलाई २०२० सम्म १ हजार १२२ जना कलाकारको मृत्यु भइसकेको थियो । ओस्कार जितेका अहिले जीवित कलाकार औसत ८१.३ वर्ष र अवार्डका लागि मनोनयन नहुनेहरुको औसत आयु ७६.२ वर्ष रहेको अनुसन्धानको निष्कर्ष छ । त्यस्तै नोमिनेसन भएर पनि ओस्कर नजित्नेहरुको औसत आयु ७६.४ वर्ष रहने उल्लेख छ ।
ओस्कार जित्ने कलाकार बढी समय बाँच्नुको राज सफलता र जीवनबीच सकारात्मक सोच जोडिएकोे वैज्ञानिकहरुले बताएका छन् ।
मेहनत गरेर अवार्ड जितेपछि उनीहरुको व्यावहारिक, मनोवैज्ञानिक र अन्य स्वास्थ्यमा सकारात्मक असर पर्ने र लामो जिन्दगी बाँच्न सहयोग पुग्ने उनीहरुले बताएका छन् । कम उमेरमा बढी ओस्कार अवार्ड जित्नुले कलाकारको अपेक्षा बढ्दै गएको अनुसन्धाताले तर्क गरेका छन् ।
उदाहरणका लागि सन् १९८७ मा आएको आइरन बर्ड फिल्ममा अमेरिकी अभिनेत्री मेरिल स्ट्रिप र मार्गरेट व्हिटन रहेका थिए । फिल्मका लागि स्ट्रिपलाई नोमिनेसनका लागि चुनिएको थियो भने व्हिटन चुनिएकी थिइनन् ।
७२ वर्षीया स्ट्रिप अहिले पनि फिल्ममा काम गरिरहेकी छन् भने क्यान्सरका कारण व्हिटनको ६२ वर्षको उमेरमा सन् २०१६ मा निधन भइसकेको छ । स्ट्रिपले तीन पटक ओस्कार जितिसकेकी छन् ।
डेलिमेलको रिपोर्ट अनुसार ओस्कार अवार्ड जित्ने कलाकार किन लामो समय बाँच्छन् भन्नेबारे वर्षौंदेखि बहस तथा अध्ययन अनुसन्धान हुँदै आइरहेको छ । यो विषयमा सन् २००५ मा पनि अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा ओस्कार अवार्ड हार्नेको तुलनामा जित्नेहरु पाँच वर्ष बढी बाँच्ने गरेको तथ्य पत्ता लागेको थियो ।
दैनिक भास्करबाट
प्रतिक्रिया 4