+
+

सिर्जना सिंहको घरदैलो : हतारको हिंडाइ

प्रचारप्रसारमा खटिएका एक जनाले भने,‘हामीलाई टाइम अभाव छ ।’ उनले यति मात्रै के भनेका थिए । स्थानीय आक्रोशित भइहाले । अघि स्वागत गर्ने युवा आक्रोशित हुँदै भने,‘टाइम छैन भने गइहाल्नुस् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख २१ गते २०:५५

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले वडा नम्बर १५ डल्लुमा २० वैशाख (मंगलबार) मा घरदैलो गर्ने गरी गत साता नै समय तय गरिएको थियो ।

विहान र अपरान्ह गरी दुई सिफ्टमा सिंहले घरदैलो गरेर प्रचार प्रसार गरिरहेकी छन् । त्यसैको निरन्तरताका लागि मंगलबार अपरान्ह ४ बजेदेखि डल्लु क्षेत्रमा घरदैलो गर्ने समय निश्चित भएको थियो । पूर्व निर्धारि समय अनुसार घरदैलोका लागि उनी ४ बजे डल्लुको पुल नजिक पुग्नुपर्ने थियो । पुलसँगै पश्चिम दिशाबाट घरदैलो सुरु गर्ने गरी स्थानीय प्रचार समितिले कार्यतालिका बनाएको थियो ।

साढे ४ बजेतिर कांग्रेसका कार्यकर्ता खोला छेउमा ब्यानरसहित देखिए । सिर्जनाको बाटो पर्खिबसेका कांग्रेसका एक कार्यकर्तालाई उनको सहयोगीबाट फोन आयो । फोनमा कुराकानी भएअनुसार ‘सिर्जना भाउजू’ आउन केही समय ढिलो हुने जानकारी उनले अरुलाई पनि गराए ।

तोकिएको समयमा सिंह घरदैलौ प्रचारमा पुग्न नसक्नुको कारण उनी बागबजारस्थित हार्दिक होटलमा व्यस्त हुनु थियो । जहाँ सिंहको प्रचार प्रसार कार्यालय सञ्चालनमा छ । सिंह पुग्न ढिलो भएपछि वडा अध्यक्ष र सदस्यका उम्मेदवारको अगुवाइमा घरदैलो सुरु भयो । घरदैलो कार्यक्रममा आधा भन्दा धेरै महिला सहभागी देखिन्थे । मंगलबार अपरान्हको घरदैलोमा सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ भने देखिएनन् ।

नेवारी बाजा र पहिरनसहित उपस्थित कार्यकर्ता विष्णुमती पुलबाट पश्चिम तिर लागे । अलिकति पश्चिम बढेपछि टोली उत्तर तिर लाग्यो । नेवार समुदायको बाक्लो बस्ती टोलमा घरदैलोको अगुवाई जीवन डंगोलले गरे ।

डंगोल कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार समेत हुन् । प्रचार टोली सडकमा हिड्दै गर्दा उनी पसल भित्र छिर्थे । नेवारी भाषामै मत माग्थे । झ्याल र ढोकाबाट चियाउनेहरुलाई हात हल्लाउँथे । प्रचारको अग्रपङ्तिमा हुनेहरुले पर्चा बाँड्दै अघि बढ्थे ।

घरदैलो टोली अलि अघि पुगेको थियो । मेयर उम्मेदवार सिंह घरदैलो अभियान सुरु गर्ने स्थानमा आइपुगेको खबर आएपछि टोली पुरानै स्थानमा फर्कियो । वडाध्यक्ष र सदस्यका उम्मेदवार तथा स्थानीय कांग्रेसका अगुवाले सिंहलाई स्वागत गरे ।

४ः४५ बजे आइपुगेकी सिंहलाई स्थानीयले खादा लगाइदिए । घरदैलो सुरु भइहाल्यो । प्रारम्भमा जुन क्षेत्रतिर घरदैलो सुरु भएको थियो, प्रचार टोली त्यसै टोलतिर अघि बढ्यो । मेयर उम्मेदवार सिंह कार्यकर्ता तथा प्रचार टोलीबाट घेरिइन् । कतिपयले उनीसँग फोटो सेसन नै गरे । अगुवा कार्यकर्ताले माइकिङ गर्दै भने,‘अनावश्यक फोटो सुट नगरिदिनु होला ।’

उम्मेदवार मतदातासँगको प्रत्यक्ष भेटमा जाने भएकाले घरदैलो प्रचारलाई सर्वाधिक र प्रभावकारी माध्यम पनि हो । मतदाताका अपेक्षा,समस्या सविस्तारमा सुन्ने र जवाफ फर्काउने सिंहलाई पर्याप्त नभएको प्रचारको क्रममा देखिन्थ्यो ।

स्थानीयका समस्या र उनले उठाउने मुद्दालाई धैर्यपूर्वक सुन्न उनलाई भएको अभाव स्पष्टै देखिन्थ्यो । पसल, झ्याल, ढोका, छतबाट स्थानीयलाई नमस्ते गर्थिन् । मतदाताले नमस्ते फर्काउँथे ।

उत्तरतिर लागेको टोली स्थानीय गणेश मन्दिरमा पुग्यो । मन्दिरको दर्शन पश्चात् स्थानीयले नेवारी परिकार खुवाए । कुल देवता संरक्षण डंगोल समाजले सिंहलाई शुभकामना प्रदान गर्‍यो । नेवारी परिकार र डंगोल समाजले गरेको स्वागतका लागि उनले बढीमा दश मिनेट खर्च गरिन् ।

विष्णमतीको पुलबाट उत्तर लागेको घरदैलो प्रचार अभियान गणेश मन्दिरबाट फर्केर पश्चिम दिशातिर लाग्यो । अलिकति मात्रै पश्चिम लागेको टोली एउटा घर भित्र छिर्‍यो । खड्गी ग्वाहाली पुचः (नेपाल मण्डलका जात्राहरु मध्ये विशेष जात्रा) को बारेमा स्थानीयले केही आफ्ना माग र जात्रा बारे उम्मेदवारहरुलाई सुनाउन चाहन्थे ।

एक युवकले उम्मेदवारलाई स्वागत गर्दै आफ्ना खड्गी ग्वाहाली पुचः बारे केही भन्न खोज्दै थिए । प्रचारप्रसारमा खटिएका एक जनाले भने,‘हामीलाई टाइम अभाव छ ।’ उनले यति मात्रै के भनेका थिए । स्थानीय आक्रोशित भइहाले ।

अघि स्वागत गर्ने युवा आक्रोशित हुँदै भने,‘टाइम छैन भने गइहाल्नुस् । समय अलिकति दिनुपर्‍यो नि ।’ आफ्ना माग सुनुवाई नहुने चिन्ताले रुष्ट स्थानीयलाई प्रचार टोलीले नै थमथम्याए । मेयर उम्मेदवार सिंहले स्थानीयका मागलाई सम्बोधन गर्दै भनिन्,‘तपाईहरुसँग सहकार्य गरिरहन्छौं । तपाईहरुसँगै छौं ।’

कांग्रेसका पक्षमा बनेका चुनावी लोकगीत र माइकिङ गर्दै टोली वडा नं १५ कै निहहिटी पुग्यो । यसै टोलको एक घरमा उम्मेदवार सहित प्रचार टोलीका केही व्यक्ति छिरे । पेशाले नर्स सुधा वैद्यको घरमा एक प्रौढ महिलासँग सिंहले नमस्ते गरेर मत मागिन् । उनले मत दिने बचन दिइन् । सिंह फर्कनै लाग्दा सुधाले भनिन्,‘तपाईंलाई बेस्ट अफ लक भनेर मैले फेसबुकमा लेखिसकेकी छु ।’ सिंहको अनुहार उज्यालो भयो । उनी धन्यवाद भन्दै बाहिइिन् ।

प्रचारका लागि हतारमा देखिएको टोली भगवानपाउ पुग्यो । यहाँ प्रचार प्रसारका लागि खोलिएको कार्यालयमा उम्मेदवारको टोलीले फोटो खिचाए । घरदैलो अब भने स्वयम्भु छाउनी क्षेत्रमा पुग्यो । स्वयम्भु स्तुपाको तल्लो भागमा टहरामा व्यापार गर्नेहरुको संख्या बाहुल्य रहेकाले यस स्थानमा सिंहले नमस्ते गर्दै मत माग्नुपर्ने मतदाता धेरै देखिएनन् ।

प्रचार टोली अघि बढ्दै गर्दा ठेलामा व्यापार गर्ने महिलालाई सहभागीले एकले भने,‘प्रचारमा जाऔं ।’ उनले आफ्नै व्यवसायको चिन्ता गरिन् । भनिन्,‘के को प्रचारमा जानु ? ठेला राख्नै नदिने भन्छन् । त्यहाँ पर राख्न नदिएर यहाँ आएको ।’

स्वयम्भु एरियाको साघुँरो बाटो हुँदै घरदैलो सुरु भयो । किमडोल टोलमा मंगलबारदेखि सञ्चालनमा ल्याउने गरि खोलिएको प्रचार प्रसार कार्यालयको सिंहले उद्घाटन गरिन् । यसै कार्यालयसँगै स्थानीय पुन्यसागर लामाको घरभित्र प्रचार टोली छिर्‍यो ।

लामा कांग्रेसमा आस्थावान् पाका व्यक्ति रहेछन् । सिंहलाई खादा लगाएर उनले स्वागत गरेपछि सिंहले घरधनी लामालाई भनिन्,‘हाम्रो नाता सम्बन्ध पनि पर्छ नि । तपाईंको घरमा म पहिले पनि आएकी थिएँ ।’

लामाको घरमा सान्सानो कोण सभा नै भयो । प्रचार प्रसारका अगुवा राजु खरेलले भने,‘प्रत्येक घर घरमा हामी पुगेका छौं । अघिल्लोपटकको चोट हामीले बेहोर्न पर्दैन । यसपटक जित्छौं ।’ खरेल गत निर्वाचनमा यसै वडामा कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेर पराजय भोगेका थिए ।

उनी पछि मेयर उम्मेदवार सिंह बोलिन्,‘स्थानीय क्बल,संघ संस्थासँग मिलेर हामी काम गर्छौं । सबैको सुख दुखमा साथमै रहन्छु ।’ ठूला ठूला कुरा नगर्ने र बोलेका वाचा पूरा गर्ने अठोट उनले देखाइन् । भनिन्,‘मेरो टीममा रहेका सबैलाई जिताउनुुस् ।’ किमडोलमा प्रचार सकिँदा झमक्क साँझ परिसकेको थियो ।

साँझ त पर्‍यो । तर प्रचार अभियान रोकिने छाँटकाट थिएन । मेयरका उम्मेदवार घरदैलोमा आएकाले स्थानीय प्रचार समितिले उनलाई बढी भन्दा बढी टोलमा पुर्‍याउनु छ । वडाभरि रहेका ५५ टोललाई स्थानीय प्रचार समितिले ११ समूहमा विभाजन गरेको छ ।

ती सबै टोलमा मेयर उम्मेदवार पुग्न सम्भव भएन । हरसम्भव धेरै स्थानमा पुर्‍याउने ध्येयले प्रचार टोली अब भने डल्लु आवास क्षेत्र तिर लाग्यो । हतारमा देखिएका उम्मेदवार तथा प्रचार टोलीको हिंडाइको रफ्तार बढ्यो । उस्तै गरी ‘नमस्ते नमस्ते’ गर्दै टोली डल्लु आवास क्षेत्रको घरदैलो सकियो । मेयर उम्मेदवार पुग्न नसकेका स्थानमा स्थानीय कार्यकर्ता खटिने भए । घडीले रातको आठ बजाइसकेको थियो । मंगलबारको घरदैलोलाई समापन गरियो ।

संघमा कांग्रेसलाई धेरै मत, वडामा पराजित

संघको निर्वाचनमा कांग्रेसलाई बढी मत खस्दै आएको यस वडामा स्थानीय उम्मेदवार भने पराजित हुँदै आएका छन् । २०७० र २०७४ सालमा कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले एमालेले भन्दा बढी मत यस वडाबाट ल्याएका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका ईश्वरमान डंगोलले फराकिलो मतान्तरले कांग्रेसका राजु खरेललाई हराएका थिए । संघका कांग्रेस उम्मेदवारले बढी मत पाउँदा वडामा कांग्रेस किन पराजय ? यही प्रश्न अनलाइनखबरले घरदैलोमा सहभागी एक कार्यकर्तालाई सोधेको थियो । उनले भने, ‘कांग्रेसले उम्मेदवार बनाउँदा वुद्धि पुर्‍याएन । गैर नेवारबाट उम्मेदवार हुँदा हार्‍यौं । धेरै मत नेवार समुदायको छ ।’

गठबन्धनका दलबीच वडामा तालमेल हुन भने सकेन । एमालेबाट विजयी सांसद यसपटक एकीकृत समाजवादी तिर लागेका छन् । उनी पुन वडाध्यक्षमा सोही दलबाट उठेका छन् ।

एमालेले पूर्णकाजी ज्यापुलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक विजयी डंगोल एकीकृत समाजवादीका उम्मेदवार हुनु र कांग्रेसको उम्मेदवार पनि नेवार समुदायबाट भएकाले कांग्रेसको जित्ने आकलन छ । कांग्रेस र एमालेकै मुख्य प्रतिस्पर्धा हुने स्थानीय कार्यकर्ता बताउँछन् ।

१३ हजार ७१ मतदाताकहाँ पुग्नलाई कांग्रेसले वडाभर ७ वटा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?