+
+

एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा गठबन्धनलाई अप्ठेरो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ८:०२

२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो ।

अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ को चुनावमा नेकपा एमालेले धनकुटा क्लिन स्वीप गरेको थियो । सातै स्थानीय तहका पदाधिकारीसहित जिल्लाभर एमाले उम्मेदवारले जितेको खुसी मनाउन अध्यक्ष केपी शर्मा ओली धनकुटा नै पुगेका थिए ।

०७४ को चुनाव अगाडि पनि धनकुटा एमालेका निम्ति अनुकूल भूमि हो । राज्य पुनर्संरचनाका क्रममा सात स्थानीय तह निर्धारण गर्नु अघिको नगरपालिका र गाविसहरूमा एमालेको वर्चस्व रहने गरेको थियो ।

तर यसपटक एमालेको त्यो बलियो विरासत तोड्न सत्तारुढ गठबन्धन बनेको छ । ०७४ को चुनावमा कांग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) तेस्रो राजनीतिक शक्ति बनेका थिए । यसपटक यी तीन दलसँगै एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पनि थपिएको छ । एकीकृत समाजवादीले एमालेकै मत काट्ने निश्चित छ ।

०४९ को स्थानीय चुनावबाट जिल्ला विकास सभापति बनेका धर्मराज पौडेल, पूर्व सांसद दुर्गा लिंखालगायत नेताहरू एकीकृत समाजवादीमा गएकाले गठबन्धनका नेताहरू उत्साहित छन् । कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, एमालेबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्न नसकेकाले पनि यसपटक गठबन्धनको जित निश्चित रहेको बताउँछन् ।

‘अवसर पाउँदा पनि एमालेले मुलुक र जनताका लागि केही पनि गर्दैन भन्ने छाप छोडेको छ । तर, हामी धनकुटाको समृद्धिका लागि नयाँ योजना ल्याउँछौं’, राई भन्छन् । अहिलेका गठबन्धनमा रहेका दलहरुलाई ०७४ को चुनावमा पराजित गर्दा धनकुटा पछि परेको जनताले महसुस गरिसकेको उनी बताउँछन् ।

तर गठबन्धनका नेताहरुको दावीप्रति एमाले नेताहरु भने सहमत छैनन् । पार्टी विभाजनको असर नगन्य नरहेको, बितेको पाँच वर्षमा जनप्रतिनिधिले जनताको विश्वास जितेको र आफ्नो उम्मेदवार धनकुटाको धुलोसँग परिचित रहेको एमाले नेताहरुको तर्क छ । गठबन्धनलाई हराएर फेरि पनि पार्टीको विरासत कायमै राख्ने एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली दावी गर्छन् । ‘हाम्रो उम्मेदवार धनकुटाको धुलोसँग परिचित छन् । जनताले हामीलाई सजिलै जिताउँछन्’, अध्यक्ष पराजुली भन्छन् ।

जनमत प्रभावित हुनसक्ने अन्य फ्याक्टर बिर्सने हो भने ०७४ को चुनावी नतिजाका आधारमा यसपटक धनकुटामा रोचक प्रतिस्पर्धा हुनेछ । धनकुटा नगरपालिकामा गठबन्धन तुलनात्मक सहज अवस्थामा रहे पनि बाँकी स्थानीय तहको अवस्था लगभग हाराहारी छ ।

शहीदभूमि : पूर्व सहकर्मीबीच प्रतिस्पर्धा

गठबन्धनले यो गाउँपालिकामा एकीकृत समाजवादीका नेता जेबी राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गएको चुनावमा उनी एमाले नेता मनोज राईलाई अध्यक्ष जिताउन लागिपरेका थिए । तर पार्टी विभाजनपछि एमालेविरुद्ध जेबी चुनावी मैदानमा छन् ।

एमालेले भने फेरि मनोजलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । अर्थात् शहीदभूमि गाउँपालिकामा दुई पूर्व मित्र मनोज–जेबी आमने–सामने भएका छन् ।

०७४ को चुनावमा एमाले उम्मेदवार मनोजले ४ हजार ५४ मत पाएर जितेका थिए । कांग्रेसका तीर्थ राईले १ हजार ५०१, माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५७९, जसपाका हर्कबहादुर राईले १०४ मत पाएका थिए । गठबन्धनका दलहरुले त्यसबेला पाएको मत जोड्ने हो भने एमाले ८७० मतले पछाडि छ ।

मनोज राई र जेबी राई

चौबिसे : दलबहादुरलाई कांग्रेसको आश

चौबिसे गाउँपालिकामा एमालेले राजकुमार चेम्जोङविरुद्ध गठबन्धनले दलबहादुर मगरलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार दलबहादुर माओवादी केन्द्रका नेता हुन् ।

०७४ को स्थानीय चुनावको नतिजाअनुसार, यो पालिकामा माओवादी केन्द्र तेस्रो शक्ति हो । त्यसबेला एमालेले ३ हजार ७८२ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसले ३ हजार २७९ र माओवादी केन्द्रले ९८९ मत मात्र ल्याएको थियो ।

हजार मत नकटाएको माओवादी केन्द्रबाट यसपटक एमालेविरुद्ध दलबहादुर मैदानमा उत्रिएका छन् । यदि कांग्रेसको मत दलबहादुरले पाएमा एमालेलाई जित्न कठिन हुनेछ ।

छथर जोरपाटी : छत्रलाई गठबन्धनकै भर

गठबन्धनले यो गाउँपालिकामा कांग्रेस नेता छत्र सुब्बालाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेबाट शेरबहादुर लिम्बुको उम्मेदवारी परेको छ । ०७४ को नतिजा हेर्ने हो भने यो गाउँपालिका जित्न गठबन्धनलाई सजिलो छैन ।

त्यो चुनावमा एमालेका उम्मेदवारले निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मत ल्याएर जितेका थिए । एमालेले ३ हजार ३४९ पाउँदा माओवादी केन्द्रका उम्मेदवारले १ हजार ५३१ पाएको थियो । राप्रपाले १ हजार ४५१ र कांग्रेसले ४१६ मत पाएका थियो । त्यसबेला पाएको मतलाई आधार मान्ने हो भने कांग्रेसका उम्मेदवारले जित्न गठबन्धनका दलहरुको मत पाउनुपर्नेछ ।

धनकुटा : एमालेमाथि बलियो दबाव

धनकुटा नगरपालिकामा भने गठबन्धन उत्साहित छ । त्यो उत्साहको आधार पनि ०७४ कै नतिजा हो । कांग्रेसका दिनेश राईले गठबन्धनको मत पाउने हो भने एमाले उम्मेदवार चिन्तन तामाङ सहज दबावमा देखिन्छन् ।

०७४ को चुनावमा एमालेले ४ हजार ९३३ मत पाएर मेयर जितेको थियो । ११३ मतको झिनो अन्तरले कांग्रेस पराजित भएको थियो ।

त्यसबेला माओवादी केन्द्रले २ हजार ५३७ मत पाएको थियो । कांग्रेस उम्मेदवार राईलाई माओवादीको मत थपिने हो भने दिनेश राई २ हजार भन्दा बढी मतले अगाडि हुनेछन् ।

चिन्तन तामाङ र दिनेश राई

पाख्रीबास : एमाले अगाडि

यो नगरपालिकामा भने गठबन्धनका दलहरु मिल्दा पनि एमाले झिनो अन्तरले अगाडि देखिन्छ । यसको अधार पनि ०७४ कै चुनावी परिणाम हो । २०७४ मा पाख्रीबासमा सबै ५२ पदमा नै एमालेका उम्मेदवार विजयी भएका थिए ।

त्यसबेला एमाले उम्मेदवारले ४ हजार ४३९ मत पाएर मेयर जितेका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले एमाले भन्दा झण्डै तीन गुणा कम मत पाएको थियो ।

त्यसबेला कांग्रेसले पाएको मत १ हजार ६२८, राप्रपाले पाएको १ हजार ५६५ र माओवादीले १ हजार ६ मत जोड्दा पनि एमाले नै अगाडि हुन्छ ।

तर गठबन्धनसँग त्यसबेला रहेको २४० मतको झिनो अन्तर उल्ट्याउन धेरै गाह्रो भने पर्दैन । त्यही योजनासहित गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर गुरुङविरुद्ध एमाले उम्मेदवार भीमबहादुर राई उठेका छन् ।

महालक्ष्मी : रोचक प्रतिस्पर्धा

यो नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ध्रुवराज राया मेयरका उम्मेदवार छन् । उनीविरुद्ध एमालेले दीपक बुढाथोकीलाई मैदानमा उतारेको छ । दुवैले आफूले जित्ने दावी गरिरहेका छन् ।

०७४ को चुनावी नतिजा हेर्दा पनि यो नगरपालिकामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । त्यसबेला एमालेले ४ हजार ८९७ मत ल्याएर मेयर जित्दा कांग्रेसले ३ हजार १५६ र माओवादीले १ हजार ७४६ मत ल्याएका थिऐ । कांग्रेस र माओवादीको मत जोड्दा ४ हजार ९०२ मत हुन्छ ।

साँगुरीगढी : आशावादी गठबन्धन

अन्य स्थानीय तहजस्तै साँगुरीगढीमा पनि गठबन्धन र एमाले बीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । रोचक प्रतिस्पर्धामा बाजी मार्न गठबन्धनबाट कांग्रेसका जितेन्द्र रुम्दाली राई र एमालेबाट कुमारजंग याख्खा चुनावी मैदानमा छन् ।

आफ्नो विरासत तोड्न गठबन्धनले नसक्ने दावी एमालेले गरेको छ । गठबन्धन भने एमाले विभाजनकै लाभ मिल्नेमा आशावादी छ । ०७४ चुनावमा पाएको मतआधारले हेर्ने हो भने एमाले गठबन्धन बीचको मतान्तर २२ मात्रै हो ।

गाउँपालिका अध्यक्ष जित्दा त्यसबेला एमालेले ४ हजार ४४९ मत पाएको थियो । कांग्रेसले ३ हजार ३३३, माओवादीले ६९५ र राप्रपाले ४७९ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?