+
+
उम्मेदवार प्रोफाइल :

विस्तारित प्रतिकूलताबीच विजयको योजनामा हरिकृष्ण व्यञ्जनकार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ८:०७

२२ वैशाख, काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकार नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग केवल ३२६ मतले पराजित भएका थिए ।

पाँच वर्षपछि यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुरमा पुरानै प्रतिस्पर्धा दोहोरिने भएको छ । यो पटक पनि कांग्रेसबाट महर्जन र एमालेबाट व्यञ्जनकार मेयरमा उठेका छन् । प्रतिस्पर्धी पुरानै भए पनि दलीय शक्ति सन्तुलन भने फेरिएको छ ।

बैंकको जागिर छाडेर वडाअध्यक्ष

व्यञ्जनकारको राजनीति र जागिरे जीवन लगभग एकै समय सुरु भएको हो, २०३५ सालदेखि । हाल एमालेको केन्द्रीय सदस्य रहेका उनी वाम विद्यार्थी फाँटबाट राजनीतिमा आएका हुन् ।

पाटन क्याम्पसबाट आइकम र शंकरदेव क्याम्पसबाट बिकम गरेर नेपाल बैंकमा जागिर खान २०३५ सालमा विराटनगर पुगेका उनले अध्ययन र राजनीतिक संलग्नतालाई निरन्तरता दिए । महेन्द्र मोरङ क्याम्पसबाट २०३८ मा एमकम गरेका उनी २०३६ सालमै तत्कालीन नेकपा (माले)को सदस्य बनेका थिए ।

पार्टीले पञ्चायती चुनाव उपयोग गर्ने रणनीति कार्यान्वयन गर्ने भएपछि व्यञ्जनकार २०४३ सालमा नेपाल बैंकको जागिर (नायब सुब्बा) छाडेर ललितपुर फर्किएर वडाअध्यक्षमा निर्वाचित भए ।

चुनाव जिताउने कमाण्डर

ललितपुर-२२, बुङमतीका व्यञ्जनकारले २०४९ सालमा पार्टीको नगर कमिटी सचिवसँगै जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । २०५० मा ‘दासढुंगा दुर्घटना’ भएपछि उनले ललितपुरमा आन्दोलनको नेतृत्व सम्हाले । टनकपुर सन्धिलाई लिएर पार्टीभित्र मत बाझिएपछि उनी विरोधी खेमामा लागे ।

२०५४ को स्थानीय निर्वाचनमा उनी ललितपुरको उपमेयर बन्न चाहन्थे, तर उनले पार्टीबाट टिकट हात पार्नै सकेनन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले उनलाई जिल्ला उप-कमाण्डरको जिम्मेवारी दियो । २०६५ सालमा पार्टीको आठौं महाधिवेशन प्रतिनिधि चुनिएका उनी २०७० को जिल्ला अधिवेशनबाट ललितपुर जिल्ला अध्यक्षमा निर्वाचित भए । त्यसअघि तीन वर्ष उनी उपाध्यक्ष थिए ।

गत स्थानीय तह चुनावमा ललितपुरको मेयरमा पराजित भएका व्यञ्जनकार प्रदेश र संघीय निर्वाचनमा जिल्ला कमाण्डरको भूमिकामा थिए । त्यो चुनावमा ललितपुरबाट संघ र प्रदेशका सबै सिटमा एमालेका उम्मेदवार विजयी भए ।

एमाले र नेकपा -माओवादी केन्द्र) एकतापछि पनि उनी जिल्लाको नेतृत्वमा रहे । २०७७ मा सर्वोच्च अदालतको फैसलाबाट एमाले पुनःस्थापना भएपछि उनी एमाले ललितपुर अध्यक्षको पुरानै जिम्मेवारीमा फर्किए ।

उही प्रतिस्पर्धी, फरक अंकगणित

यसपटक गठबन्धनका तर्फबाट ललितपुरको मेयरमा दोहोरिने जोडमा रहेका महर्जन गत चुनावमा एक्लै लडेर पनि २४ हजार ६४२ मतका साथ विजयी भएका थिए ।

तर, ‘कांग्रेसले पाँच वर्ष जनतालाई सन्तुष्ट बनाउन नसकेका’ पुरानैलाई उठाएको हुँदा यसपटक ललितपुरवासीले आफूलाई जिताउने व्यञ्जनकार बताउँछन् । गत निर्वाचनको अंकगणित र नयाँ राजनीतिक समीकरणले भने उनका लागि प्रतिकूलता बढाएको देखिन्छ ।

गत स्थानीय निर्वाचनमा ललितपुरको मेयरमा मात्र ३२६ मतले पराजित भए पनि एमालेले २९ मध्ये १४ वडाअध्यक्ष जितेको थियो । कांग्रेसले १० र माओवादी केन्द्रले ४ वडाअध्यक्ष जितेको थियो ।

यसकारण पनि ललितपुरमा पार्टी बलियो रहेको एमालेको आकलन छ । यसपटक थपिएका १० हजार २६८ मतदातालाई पनि एमालेले आशाको नजरले हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?