+
+
राखेप-तेक्वान्दो संघ विवाद :

एसियाड छनोटका लागि एउटै व्यहोराका छुट्टाछुट्टै सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १७:१७

२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को अनुमतिविना संघको निर्वाचन गराएपछि नेपाल तेक्वान्दो संघको आधिकारिकता विवादले राष्ट्रिय टिम छनोटसम्म असर गर्न थालेको छ ।

आगामी भदौ अन्तिमदेखि चीनको ह्वाङझोउमा हुने १९औं एसियाली खेलकुदका लागि समावेश भएका सबै खेलको प्रारम्भिक टिम छनोट प्रक्रिया अहिले भइरहेको छ । यसपल्ट एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउनेछ ।

तेक्वान्दोको छनोटका लागि राष्ट्रिय खेलकुद परिषदले संघलाई बाइपास गरी तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेलाडी छनोटका लागि संयोजक तोकेको छ । राखेपको लेटर हेडमा वैशाख १९ गते श्रेष्ठद्वारा हस्ताक्षरित सूचना जारी भएको छ । सूचनाअनुसार सातदोवाटोस्थित तेक्वान्दो संघको हलमा एसियाडका लागि राष्ट्रिय टिम निर्माण गर्न वैशाख २३ र २४ गते छनोट प्रतियोगिता सन्चालन हुनेछ ।

त्यसको दुई दिनपछि वैशाख २१ गते नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक राम गिरीद्वारा हस्ताक्षरित सूचनामा पनि सोही व्यहोरा, मिति र मापदण्ड उल्लेख गरिएको छ ।

दुईवटा आधिकारिक निकायबाट एउटै व्यहोराको सूचना तर फरक–फरक सम्पर्क व्यक्ति तोकिएका कारण खेलाडीहरु असमन्जसमा परेका छन् । तेक्वान्दो संघको संघका राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक गिरीले भने दुवै सूचनामा उल्लेख भएअनुसारका व्यक्तिहरुसँग सम्पर्कमा आएका खेलाडीलाई प्रतिस्पर्धामा सहभागी हुन रोक नलगाउने बताए ।

‘अरु सबै खेलको छनोटका लागि संघलाई वा संघकै पदाधिकारीलाई जिम्मा दिइएको छ । हाम्रो संघमा चाहीँ प्रमुख प्रशिक्षकलाई जिम्मा दिइएकोबारे हामीले राखेप नेतृत्वसँग भेटेरै छलफल गरेका हौं,’ संयोजक गिरीले अनलाइनखबरसँग भने, ‘खेलाडी छनोट संघकै जिम्मेबारी भएकाले हामीले सूचना जारी गरेका हौं ।’

गत असोज १६ गते निर्वाचित नेपाल तेक्वान्दो संघको नयाँ कार्यसमितिलाई मान्यता नदिएको राखेपले दुई साताअघि प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई संयोजक र संगीना बैद्यलाई उपसंयोजक तोकेर छनोटको जिम्मेवारी दिएको थियो । ‘सबैभन्दा ठूलो निकाय त राखेप नै हो । उसले नै माइन्यूट गरेर हामीलाई जिम्मेबारी दिएकाले त्यसलाई पूरा गर्न लागिएको हो,’ श्रेष्ठले भने ।

संयोजक श्रेष्ठले पनि दुई निकायमध्ये जसलाई सम्पर्क गरेर आए पनि मापदण्ड पूरा भएका खेलाडीलाई छनोट प्रतियोगिताबाट बन्चित नगरिने प्रष्ट पारे ।

एसियाडमा पदकका हिसावले नेपालको सबैभन्दा सफल खेल तेक्वान्दोले यसपल्ट पुरुषतर्फ ५ र महिलातर्फ ४ तौलसमूहमा सहभागिता जनाउनेछ । पुम्सेतर्फ पुरुष र महिला एकल विधा समावेश छ ।

पुरुषतर्फ ५८ केजीमुनी, ६३ केजीमुनी, ६८ केजीमुनी, ८० केजीमुनी र ८० केजीमाथि तथा माहिलातर्फ ४९ केजीमुनी, ५३ केजीमुनी, ५७ केजीमुनी र ६७ केजीमुनी तौलसमूहमा छनोट प्रतियोगिता हुनेछ । पुम्सेमा एकल महिला र पुरुषको छनोट हुनेछ ।

छनोट प्रतियोगितामा सहभागी हुन पाउने खेलाडीको मापदण्डमा राखेप र संघ दुवै लचिलो देखिएका छन् । आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको, आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको, राखेप र संघले मान्यता दिएको राष्ट्रिय प्रतियोगितामा पदक जितेको, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण जितेको र विभागीय टिमले आयोजना गरेको राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण जितेको खेलाडीले छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

दुवै सूचनाअनुसार १८ वर्ष उमेरमाथिका खेलाडीले छनोटप्रतियोगिता खेल्न पाउँछन् । हरेक तौलसमूह र विधामा चारजना खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?