+
+

भरतपुरमा आचारसंहिता मिचेर भूमिको निस्सा बाँडिंदै

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २३ गते १४:२०

२३ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन आचारसंहिता मिचेर भूमिको निस्सा बाँड्न थालिएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले शुक्रबार बिहान सुकुमबासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए तिमिल्सिना माथि कारबाही गर्न सकिने कार्कीले बताए ।

‘निर्वाचनको मुखैमा भूमिहीनको नाममा भूमिको निस्सा बाँड्न पाइँदैन,’ उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टिकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

तिमिल्सिनाले फेसबुकमा निस्सा बाँडेको फोटो राखेर एक स्टाटस राख्दै भूमिहीन सुकुमबासीले मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन् ।

तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनको आफ्नै परिभाषा सुनाए । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन,’ उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिनँ । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

कार्यक्रममा सहभागी एक स्थानीयले माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दवाव समेत दिइएको छ । आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपुर्जा नपाउने चेतावनी समेत दिएका छन् ।

आयोगका केन्द्रीय उपाध्यक्ष सरकारी गाडी लिएर निस्सा बाँड्न गणेशस्थान पुगेका थिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?