+
+

राजेशमानलाई संख्याको डर, गठबन्धनको भर

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख २४ गते २०:४७

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३, छपकैयाका राजेशमान सिंह २०४३ सालमा ठाकुरराम बहुमुखी क्याम्पसमा आईए पढ्दा नेपाल विद्यार्थी संघको सदस्य भएका थिए । त्यसरी नेपाली कांग्रेसको राजनीतिमा आएका उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा वीरगञ्जको वडा सदस्य निर्वाचित भए ।

सिंहलाई जनप्रतिनिधि बन्ने हुटहुटी कति भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि २०६० माघमा गरेको निर्वाचनमा पनि उनी वीरगञ्ज उपमहानगरपालिका–३, छपकैयाको वडाध्यक्ष बने । त्यसपछि मुलुकको माहोल आन्दोलनमय बन्यो । सिंह पनि राजनीतिक हावापानी हेरेर मधेस आन्दोलनमा लागेर राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रीय महासचिव बन्न पुगे । त्यो आधारमा दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवार बने तर पराजित भए ।

त्यसपछिको अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)को महासचिव बनेर २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बने, तर पराजित भए । यसपटक फेरि दल बदल गरेर उनी जनता समाजवादी पार्टी (लोसपा) बाट सोही पदमा उम्मेदवारी दिएका छन् । अघिल्लो पटक मेयरको स्पर्धामा ल्याएको १२ हजार १६५ मतले भन्छ– राजेशमान सिंह राजनीतिका ‘आया राम, गया राम’ मात्र होइनन्, बलियो प्रतिस्पर्धी पनि हुन् ।

यसपटक सत्ता गठबन्धनबाट डराएको एमाले वीरगञ्ज महानगर प्रमुखका लागि बलियो उम्मेदवारको खोजीमा थियो । एमालेको रोजाई बन्ने भित्री खेलमा निवर्तमान मेयर विजयकुमार सरावगी अब्बल ठहरिएपछि राजेशमान सिंह जसपामा गए ।

किनभने, सत्ता गठबन्धनको महानगर भागबण्डामा वीरगञ्ज जसपाले पाउनेवाला थियो । यसरी मेयरको उम्मेदवार बनेका उनी अहिले चर्को गर्मी र दिनरात नभनी चुनावी गतिविधिमा छन् ।

सबल र दुर्बल पक्ष

५२ वर्षीय सिंह आफ्ना सहयोगीलाई जस्तोसुकै सहयोग गर्न तत्पर रहने नेताका रुपमा चिनिन्छन् । भाषणहरुमा ‘मसँग काम गर्ने टिम छ’ भन्ने गरेका उनको ‘युवा परिचालन क्षमता’को वीरगञ्जमा प्रशंसा हुन्छ ।

यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेपनि कांग्रेसका कतिपय नेता सिंहको विपक्षमा छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका प्रत्यासी अजय द्विवेदी पराजित भएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा दोस्रो धेरै मत ल्याएका द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३०५ मत पाएका थिए ।

द्विवेदी र अन्सारीले पाएको मत अहिले गठबन्धनका हिसाबले सिंहलाई जाने सामान्य अनुमान गर्न सकिन्छ । तर कांग्रेस, माओवादी र एकीकृत समाजवादी रुपी भंगालो  डोल्याउने यो काम सोचेजति सजिलो छैन ।

घरदैलो कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताले सिंहको लागि मत मागिरहेका छैनन् । फेरि रुखमा मतदान गरिरहेकाहरु छाता चिह्नमा छाप हान्न अनिच्छुक हुने वा अलमलिन सक्ने सम्भावना पनि उत्तिकै छ । गठबन्धनको विपक्षमा आवाज उठाइरहेकाहरु पनि उत्तिकै छन्, पर्सामा कांग्रेसभित्र ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवको समर्थन भने सिंहको सबल पक्ष हो । निवर्तमान मेयर सरावगीलाई नरुचाउनेहरुका लागि पनि उनी विकल्प हुन् ।

दल बदल्ने र हाट्टहुट्ट गरिहाल्ने बाहुबली चरित्रलाई सबैले मन नपराउन सक्छन् । तर, सिंहको प्रतिस्पर्धा उस्तै स्वभावका सराबगीसँग रहेकोले यो पक्षले मतपरिणाम खासै प्रभावित नहुने देखिन्छ ।

विकासका कुरा

सिंहले वीरगञ्जको विकासका लागि स्पष्ट खाका ल्याउन सकेका छैनन् । खाली महानगरबासीको दैनिक जीवनसँग जोडिएका समस्या सम्बोधन गर्छु भनिरहेका छन् । सहरलाई व्यवस्थित बनाउने, सरसफाइ, फोहोरमैला व्यवस्थापन, लामखुट्टै नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेर देखाउने प्रतिबद्धता उनको छ ।

व्यवसायीलाई कर छुट दिने, सर्वसाधारणलाई बिजुली र पानी निशुल्क गर्ने ‘दिल्ली मोडल’मा काम गर्न उनको इच्छा छ । तर, प्रशासनिक खर्चमै ठूलो राशी सकिने ठाउँमा त्यो संभव नहुने कतिपयको आंकलन छ ।

‘समृद्ध वीरगञ्ज मेरो लक्ष्य हो । वीरगञ्जवासीले सुलभ तरिकाले सबै सेवा सुविधा पाउनुपर्छ । यसका लागि व्यक्तिगत र संस्थागत भ्रष्टाचार निर्मुल हुनपर्छ’, सिंह भन्छन्, ‘वीरगञ्जको पहिचान कायम गर्न म जुनसुकै हदसम्म जान सक्छु ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?