
काठमाडौं । कोरोना महामारीको समयमा चलेको ‘महानायक’ विवादपछि दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिइन् ।
कुरा यत्तिकैमा मात्र सीमित रहेन, जितु नेपाल ‘छक्कापञ्जा’को आगामी सिरिजबाट निर्माताको रुपमा बाहिरिए र निर्मल शर्मा भित्रिए । ‘छक्कापञ्जा ४’को टिजरमा समेत जितु नदेखिएपछि उनी फिल्ममा नरहने अड्कलबाजी चल्यो ।
निर्माता एवं अभिनेता दीपकराज गिरीले पनि ‘छक्कापञ्जा ४’मा जितुको भविष्यलाई लिएर स्पष्ट उत्तर दिएनन् । उनले जितु हुन पनि सक्ने र नहुन पनि सक्ने किसिमको जवाफ दिए ।
‘छक्कापञ्जा ४’को छायांकन आगामी असार १ गतेदेखि सुरु हुने मिति यकिन हुँदै गर्दा पुनः दीपक-दीपा र जितुबीच हार्दिकता पलाएको देखिएको छ । यसैसाता जितुले छोराको व्रतबन्ध समारोहमा दीपक-दीपालाई निम्तो दिएर सम्बन्ध सुधारको पहल गरे ।
सम्बन्ध सुधारसँगै जितु ‘छक्कापञ्जा’को आगामी सिरिजमा देखिने सम्भावना बलियो हुँदै गएको निकट स्रोत बताउँछ । यसबारे दीपक-दीपाले औपचारिक रुपमा केही बताएका छैनन् । यद्यपि, कुरा त्यसतर्फ अघि बढेको कुरालाई नकार्न सकिंदैन ।
प्रतिक्रिया 4