+
+
विचार :

कम्युनिष्ट आन्दोलन चिहान बनाउने संकल्प

८४ पृष्ठ लामो कांग्रेस घोषणापत्र पढिरहँदा लाग्छ– यो घोषणापत्र देशको सुन्दर भविष्यको कल्पना कम, तर कम्युनिष्ट पार्टी र तिनका नेताहरूको अनुहार बढी सम्झेर लेखिएको हो ।

राजेश राई राजेश राई
२०७९ वैशाख २५ गते १७:०८

समकालीन नेपाली राजनीतिमा एक कदम अगाडि छन्, नेपाली कांग्रेसका महामन्त्री गगन थापा । पार्टी राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ गराउन सफल थापा पदका कारणले मात्रै होइन, भूमिकाले पनि उत्तिकै प्रभावशाली बनेका छन् ।

कांग्रेसमा चौथो पुस्ता मानिने थापासँग अरू थुप्रै लोभलाग्दा विशेषता छन् । त्यसमध्ये एक हो, वाक कला । उनी दृढतापूर्वक विचार राख्छन्, विरोधीलाई ललकार्छन् । ‘कम्युनिष्ट शैली’कै हुँकारले समर्थकलाई उत्साहित बनाउन सक्छन् ।

उनै गगन थापा गएको ११ वैशाखमा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा ‘पावर पोइन्ट’ प्रस्तुति राख्दै थिए । ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनका लागि घोषणापत्र लेखन समितिका संयोजक थापाले ठूलो र रङ्गिन अक्षरमा ‘कम्युनिष्टको अधिनायकवाद र सर्वसत्तावाद’ शीर्षकमाथि लामै व्याख्या गरे ।

थापाको निष्कर्ष छ– कम्युनिष्टहरू लोकतान्त्रिक मूल्य–मान्यता विरोधी हुन् । नेपालमा कम्युनिष्ट छ, त्यसैले लोकतान्त्रिक प्रणाली खतरामा छ । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता जतिबेला पनि खोसिन सक्छ …, इत्यादि ।

गगनको निष्कर्षले कम्युनिष्ट आन्दोलनलाई गौरव र पौरख मान्नेहरूको मुटु पोल्थ्यो । यहीँनेर कसैलाई लाग्नसक्छ– गगन थापाको यो निचोड केवल नेकपा एमालेमाथि मात्रै हो ।

होइन, उनको निचोड सिङ्गो कम्युनिष्ट आन्दोलनमाथि छ । कांग्रेस घोषणापत्र लेख्छ– तत्कालीन वाम गठबन्धनको ५० पृष्ठ लामो घोषणापत्रमा राष्ट्रवाद, विकास, समृद्धि र सुशासनको स्वैरकल्पना लिपिवद्ध थियो । तर संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि नियोजित रूपमा संगीन आक्रमण भयो ।

८४ पृष्ठ लामो कांग्रेस घोषणापत्र पढिरहँदा लाग्छ– यो घोषणापत्र देशको सुन्दर भविष्यको कल्पना कम, तर कम्युनिष्ट पार्टी र तिनका नेताहरूको अनुहार बढी सम्झेर लेखिएको हो ।

सबैभन्दा ठूलो, तर विपक्षी भूमिकामा रहेको नेकपा एमालेमाथि गरिएको आरोप आफ्नो ठाउँमा छ । कांग्रेसको सत्तारोहणमा प्रमुख भूमिका खेलेको दल नेकपा माओवादी केन्द्र हो । तिनै माओवादी केन्द्रको विगतलाई समेत भर्त्सना मात्रै होइन, घृणाको तहमा व्याख्या गरिएको छ ।

माओवादीले ‘गौरवपूर्ण र महान’ मानेको जनयुद्धलाई अपराध भनेको छ । ‘माओवादीको हिंसा’ भन्ने वाक्य पटक–पटक पढ्न पाउने सुविधा उपलब्ध छ । नेपालको निकट राजनीतिक इतिहासप्रति बेखबर कसैले यो घोषणापत्र पढे भने ऊ निकर्षमा पुग्नेछ- २०४६ साल यताको ३० वर्षको नेपाल, सब ठिकठाक थियो । गजब थियो । रामराज्य चलेको थियो । किनकि त्यो मूलतः कांग्रेस नेतृत्वको अवधि थियो । जब कम्युनिष्टहरूले तीन वर्ष सत्ता चलाएका थिए, सबथोक बर्वाद भयो । भत्कियो ।

चुनावी मौसम चलिरहँदा कांग्रेस घोषणापत्र र थापाको अभिव्यक्ति स्वभाविक छ । चुनावमा प्रतिस्पर्धीको प्रशंसा होइन, भत्सर्ना नै हुने हो । यसर्थ कांग्रेस घोषणापत्र स्पष्ट छ– वामपन्थीहरूको चिहानमाथि मात्रै कांग्रेस समृद्धिको महल बन्छ । वामपन्थीहरू जीवित रहेसम्म कांग्रेसको दीर्घायु खतरामा छ ।

भाका र भाषा मिलाएर लेखिएको आफ्नो पार्टीको घोषणापत्र पढ्दा कांग्रेसीहरूले आफ्नो बाटो र उज्यालो प्रस्ट देख्न सक्छन् । तर, यो चुनावमा कांग्रेस एक्लै छैन । दायाँ–बायाँ वामपन्थी राखेर हिंडेका छन् । पाँच दलीय गठबन्धनमा अरू दलको पनि हो, कांग्रेस घोषणापत्र । किनभने गठबन्धन गरेर चुनावमा जाँदा जनतासँग गरिने प्रतिबद्धताको आधार त्यही घोषणापत्र हो ।

अब प्रश्न उठ्छ– कांग्रेसको यो निष्कर्ष झोलामा बोकेर जनताबीच मार्क्सवाद, लेनिनवाद र माओवादको झन्डा माओवादी केन्द्रले कसरी फहराउन सक्छ ? नेकपा एकीकृत समाजवादी र जनमोर्चाका निष्ठावान कार्यकर्ताको मुटुमा अपमानको आगो बल्छ कि बल्दैन ?

कम्युनिष्ट आन्दोलनको भीमकाय चिहान बनाउने संकल्प गरिएको ठेली बोकेर जनताको घरआँगन पुग्दा उनीहरूलाई कम्युनिष्ट आन्दोलनको हजार सपनाहरूको माया लाग्छ कि लाग्दैन ? कम्युनिष्ट आन्दोलनका अग्रजप्रति गरिएको घृणा र अनुजको सपनालाई गिज्याइएको–दुत्कारिएको घोषणापत्रले मन पोल्दैन ?

सबैभन्दा ठूलो कुरा त ‘आफ्नो एकबारको सुन्दर जोवनलाई जनताको मुक्तिको निम्ति लगाउँछु भनेर मर्न क्रान्तिमा हिंडेका ती निर्दोष जनमुक्ति सेना र तिनका परिवारका सदस्यले माओवादी हिंसा, माओवादी अपराध जस्ता शब्दहरू पढ्दा अपमानले गला अवरुद्ध हुन्छ या हुन्न होला ?

बेला डिर्पाचरको

वामपन्थी शक्ति र कांग्रेसको सहयात्रा मुलभूत रूपमा पूरा भयो । अब वामपन्थी शक्ति र नवउदारवादी बाटो अलग भएको छ । वामन्पथीहरूले भन्दै आएको वर्ग सङ्घर्ष खास सुरु भएको छ । उत्पादन सम्बन्धका स्वरूप परिवर्तन भएको छ र हामी दोबोटोमा उभिएका छौं ।

पहिलो– समाजवादी बाटो । दलाल पुँजीवाद विरुद्ध लड्दै राष्ट्रिय पुँजीको विकास गरेर समाजवादको आधार निर्माण गर्ने । गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सू–संस्कृत, समतामूलक समाज निर्माण गर्ने ।

दोस्रो– नवउदारवादी बाटो । उदारवादी अर्थव्यवस्थाबाट नेपाललाई साम्राज्यवादीको बजार बनाउँदै मुलुकलाई परनिर्भरतामा धकेल्ने र राज्य नागरिकका सबै उत्तरदायित्वबाट भागेर दलाल पुँजीपतिको सेवा गर्ने ।

वामपन्थीहरूले कसम खाएको बाटो पहिलो हो र नवउदारवादी कांग्रेसले हिंडिरहेको बाटो दोस्रो हो । अब मुलुकलाई कता लैजाने ? त्यो फैसलाको पहिलो, तर महत्वपूर्ण श्रृंखला हो– ३० वैशाख २०७९ मा हुने स्थानीय चुनाव ।

कम्युनिष्टहरू वर्ग सङ्घर्षलाई इतिहासको इन्जिन मान्छन् । समाजको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो, भन्छन् । यसप्रकारको निर्वाचनलाई वर्ग सङ्घर्षको प्रक्रिया मान्छन् । त्यस अर्थमा यो निर्वाचन नेपाली वर्ग सङ्घर्षको एउटा प्रक्रिया हो ।

लेनिन भन्छन्– ‘आममताधिकार भनेको विभिन्न वर्गले आ-आफ्ना समस्या कसरी बुझ्दछन् भन्ने कुराको सूचक हो । वर्ग संघर्षको एउटा सामान्य प्रक्रिया हो ।’

इतिहासको यो ‘टर्निङ प्वाइन्ट्स’मा कांग्रेस प्रस्ट छ । उसको घोषणापत्र प्रस्ट छ । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङहरू बढो प्रस्ट छन्– वामपन्थीहरूको भीमकाय चिहान विना कांग्रेसको समृद्ध र भव्य महल सम्भव छैन ।

त्यसैले घोषणपत्रमा कम्युनिष्टको विगतप्रति तीव्र घृणा छ । वर्तमान दुत्कारिएको छ । भबिष्य समाप्तिको घोषणा छ । कांग्रेस यो निर्वाचनमा प्रस्ट छ– वामपन्थीहरूलाई छिन्नभिन्न र कमजोर बनाउने ।

अनि वामपन्थीहरू कति प्रस्ट छन् त ? पहिले वामपन्थीहरूको कार्यदिशा र लक्ष्य हेरौं ।

एमालेले बाटो र गन्तव्य (१५–१७ असोज, २०७८) मा सम्पन्न प्रथम विधान महाधिवेशनबाट टुङ्गो लगाएको छ । भनेको छ– दलाल–नोकरशाही पुँजीवादविरुद्ध लड्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने ।’ रणनीतिक लक्ष्यः समाजवाद ।

माओवादी केन्द्रले ८औं महाधिवेशनबाट पारित गरेका राजनीति प्रतिवेदन भन्छ– ‘समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो । समाजवादी क्रान्तिका आधार तयार गर्न समाजवाद उन्मुख आर्थिक नीति, सामाजिक न्याय सहितको सहकार्य, सार्वजनिक र निजी क्षेत्रको सम्बन्धमा अगाडि बढ्न ठोस नीति योजना र कार्यक्रमहरू बनाउनु जरुरी छ ।’

अध्यक्ष प्रचण्डले लेखेको दस्तावेज एमालेको भन्दा भिन्न छैन । नेकपा एकीकृत समाजवादीको रणनीतिक लक्ष्य पनि वैज्ञानिक समाजवाद छ । निष्कर्षमा सबै कम्युनिष्टहरू एक स्वरमा भन्छन्– ‘चुनाव पनि एउटा वर्ग सङ्घर्षकै रूप र प्रक्रिया हो ।

अब एमाले प्रस्ट छ । आजको सन्दर्भमा दलाल पुँजीवादको संरक्षक कांग्रेस हो । लडाई कांग्रेससँग हो । यो निर्वाचनमा कांग्रेससँग आमनेसामने हुनुपर्नेछ । तर माओवादी र समाजवादीको उद्देश्य र यात्राबीच मेल खाइरहेको छैन । उद्देश्य र लक्ष्य एकातिर, यात्रा यात्रा अर्कोतिर भएको छ ।

प्रचण्ड बारम्बार भन्छन्– ‘हामीले व्यवस्था परिवर्तन गर्‍यौं, अब यो निर्वाचनमा बहुमत ल्याएर अवस्था परिवर्तन गछौं । अर्थात् समाजवादको बाटोमा लैजान्छौं । तर माओवादीले नेता मानेको छ, कांग्रेसलाई । स्थानीय निर्वाचनमा कांग्रेसले दुई तिहाइ ल्याउनेगरी सिट बाँडफाड गर्न प्रचण्ड तयार भएका छन् ।

यहाँनेर प्रश्न हो– नवउदारवादी बाटोमा हिंडिरहेको कांग्रेसलाई दुई तिहाई बहुमत सुम्पिएपछि कसरी तयार हुन्छ, समाजवादको आधार ? कसरी आउँछ माओवादीको बहुमत ?’

एकीकृत समाजवादी भन्छ– ‘बहुमत ल्याएर समृद्धिको यात्रा मार्फत् वैज्ञानिक समाजवादको आधार तयार पार्ने ।’ तर गठबन्धनमा उसको भागमा परेको उम्मेद्वार अनुपात ५ प्रतिशत उक्लदैन । अनि सम्पूर्ण शक्ति कांग्रेसलाई सुम्पिएर कसरी निर्माण गर्ने समाजवादको आधार ?

माओवादी र समाजवादीले यसको रेडिमेड व्याख्या छ– ‘आजको सन्दर्भममा वाम-लोकतान्त्रिक मोर्चा आवश्यक छ ।’ यो त आफ्नो सुविधाका लागि कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने व्याख्या बाहेक अरु होइन ।

यस्तो परिस्थितिमा लेनिन भन्छन्– ‘संशोधनवादीहरू ती मानिस हुन्, जो कुनै सिद्धान्त (मार्क्सवाद, लेनिनवाद) को अनुयायी भएको बहाना गर्छन् । तर वास्तवमा त्यो सिद्धान्तलाई त्यसका शत्रुहरूको हितमा संशोधन र विरुपित गर्छन् ।’

आफू असली ‘वामपन्थी’ भएको दाबी प्रस्तुत गर्दै मूलधारमा रहेका वामपन्थी शक्तिहरूको भर्त्सना गरेर बोल्छन्, लेख्छन् । उनीहरूको चिन्तनको भ्रष्टीकरणले वस्तुतः कांग्रेसकै सेवा गरिरहेका छन् ।

कांग्रेसलाई ठूलो बनाएर वामपन्थी आन्दोलनको रक्षा गर्छु भन्नु लेनिनले भने जस्तै शत्रुहरूको हितमा संशोधन र विरुपित गर्नु नै हो ।

प्रकान्तरले माओवादी र समाजवादीको घोषित लक्ष्य छ, जसरी पनि एमालेलाई पराजित गर्नु । तर एमाले पराजित भइरहँदा जित्छ कसले ?

र, यो इतिहासको ‘टर्निङ प्वाइन्ट्स’मा कांग्रेसले जित्नु भनेको वामपन्थीहरूले देखेको समाजवादको संकल्पमा भयनाक ठेस हो । कम्युनिष्ट आन्दोलन र समाजवादी यात्राको डिर्पाचर हो ।

कसले गर्छ आन्दोलनको रक्षा ?

कांग्रेस नेतृत्वको मोर्चामा सदस्य बन्न पुगेका माओवादी र एकीकृत समाजवादीको दाबी छ– ‘हामी हौं असली कम्युनिष्ट ।’ तर उनीहरूले आज गरिरहेको व्यवहारले भने त्यो दावी खण्डित गर्छ । बरु प्रश्न उठ्छ– कांग्रेसलाई सबै खालको नेतृत्व दिएर कम्युनिष्ट आन्दोलनको दीर्घायु कसरी हुन्छ ?

अर्कातिर केही समूह र विश्लेषक छन् । उनीहरू माओवादी र एकीकृत समाजवादीलाई संशोधनवादी देख्छन् । एमालेलाई दक्षिणपन्थी भन्छन् । मूलधारका शक्तिलाई नै कम्युनिष्ट मान्न अस्वीकार गर्छन् । ‘वामपन्थी’ परिचयप्रति गर्व गर्छन्, उनीहरू ।

तर यी जो-जो छन्, उनीहरू होइनन्, भन्छन् । उनीहरू न आफै संगठन गर्छन्, न अभियान र आन्दोलनमा सामेल हुन्छन् । आफू असली ‘वामपन्थी’ भएको दाबी प्रस्तुत गर्दै मूलधारमा रहेका वामपन्थी शक्तिहरूको भर्त्सना गरेर बोल्छन्, लेख्छन् । उनीहरूको चिन्तनको भ्रष्टीकरणले वस्तुतः कांग्रेसकै सेवा गरिरहेका छन् ।

तर अहिले कम्युनिष्ट आन्दोलनको रक्षा न कांग्रेसलाई नेता मानेर हिंडेका माओवादी र समाजवादीले गर्छ, न प्रमुख वाम शक्तिहरूलाई कम्युनिष्ट होइनन् भनेर बुद्धिविलास गर्नेहरूले नै ।

निश्चय पनि एमालेमाथि अनेकन प्रश्न होलान् । तिनको उत्तर खोज्ने उपयुक्त समय आउला । तर, आजको सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा कसैले गर्छ भने त्यो एमालेले नै गर्छ ।

उसले आज हिंडेको बाटो, विशाल संगठन संरचना र सिद्धान्त यसको आधार हो । आज यसको नेतृत्वकर्ता केपी शर्मा ओली हो । समृद्धि, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सन्दर्भमा एमाले अध्यक्षको रूपमा उनले लिएको अडान आजको सन्दर्भमा कम्युनिष्ट आन्दोलनको मूलबाटो हो । कम्युनिष्ट आन्दोलनको तागत हो । त्यही निचोडका साथ एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय मोर्चा कसिएको छ ।

तर अन्तिम अनुमोदन गर्ने जनताले हो । लेनिन भन्छन्– ‘एकता श्रमजीवी वर्गका लागि धेरै मूल्यवान छ । सारै धेरै महत्वपूर्ण । आपसमा बाँडिदा श्रमजीवी वर्ग केही होइन, तर एक हुँदा यो सबै चीज हो ।’

नेपाली श्रमजीवी जनताले एकगठ भएर आफ्नो ७४ वर्षे आन्दोलनको रक्षा गर्छन् वा विभाजित विनाश ? ३० वैशाखलाई पर्खिनुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?