+
+

कांग्रेसको घोषणापत्रसँग ओलीको रिस

दिपेश शाही दिपेश शाही
२०७९ वैशाख २५ गते २२:२६

२५ वैशाख, काठमाडौं । यसअघि नै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको नेकपा (एमाले) ले ६७ बुँदे ‘अपिल’ सार्वजनिक गर्‍यो ।

एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमा वाचन गरेर सार्वजनिक गरेको उक्त सामग्रीलाई ‘नेकपा (एमाले) को आम मतदातालाई अपिल’ शीर्षक दिइएको छ । तर, ‘अपिल’ आम मतदातालाई आग्रह गर्नभन्दा पनि कांग्रेसको घोषणापत्रमा गरिएको आफ्नो आलोचनाको प्रतिउत्तर दिन बढी केन्द्रित छ ।

यसअघि सिंगो गठबन्धनको खरो आलोचना गरिरहेका एमाले अध्यक्ष ओली आइतबार भने कांग्रेसमाथि बढी खनिए । उनले कांग्रेस बाहेकका पार्टी केही होइनन् भन्ने आशयमा महाभारतका पात्रहरूको उदाहरण नै पेश गरे । ‘महाभारतको युद्धमा कौरवका को–को सेना थिए, ती सबैको हिसाबकिताब र दुर्गुणका बारेमा खासै चर्चा हुँदैन,’ सञ्चारकर्मीले कांग्रेस केन्द्रित आलोचनालाई लिएर गरेको प्रश्नमा ओलीले भने, ‘कौरवका बारेमा चर्चा हुन्छ, दुर्योधनका बारेमा चर्चा हुन्छ । यहाँ पनि त्यस्तै भयो होला ।’ यसले पनि ओली कांग्रेसको पछिल्लो गतिविधिप्रति बढि नै असन्तुष्ट छन् भन्ने पुष्टि गर्छ ।

निर्वाचन आयोग र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि केही आक्रामक देखिएका ओली एकीकृत समाजवादी र त्यसका अध्यक्ष माधव नेपालमाथि भने त्यत्ति खुलेनन् । यद्यपि, उनले गठबन्धनका अरू दलहरूको कुनै मूल्य नभएको भन्दै होच्याए । ‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ,’ उनले सञ्चारकर्मीलाई प्रतिपश्न गरे, ‘त्यसको कुनै सवाल जवाफ छ ?’

उनले आफूले चाहेको खण्डमा एक हप्तामा गठबन्धनलाई टुटाउनसक्ने बताए । त्यसका लागि एमालेले माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्छ भन्ने सञ्चारकर्मीको प्रश्न थियो । त्यसको उत्तरमा उनले आफूले चाहेको खण्डमा एक हप्तामा गठबन्धन ढल्ने जिकिर गर्दै भने, ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

कांग्रेस घोषणापत्रको जवाफ

कांग्रेसले भन्दा पहिले सार्वजनिक गरेको आफ्नो चुनावी घोषणापत्रमा एमाले त्यति आक्रामक देखिएको थिएन, जति कांग्रेस एमालेसँग थियो । घोषणापत्रमा एमालेले गठबन्धनका अन्य दलमाथि आरोपहरू लगाएको भए पनि कांग्रेसप्रति ‘सफ्ट’ देखिएको थियो । जब कांग्रेसले चुनावी घोषणापत्रमा तत्कालीन नेकपा सरकारले ५ वर्ष खेर फालेको भन्दै आलोचनात्मक समीक्षा गर्‍यो, त्यसपछि ओली आक्रोशित बने ।

कांग्रेसले चुनावी घोषणापत्रमा आफू नेतृत्वको तत्कालीन सरकारमाथि गरेको आलोचनालाई ओलीले ‘पागलहरूको प्रलय’ भनेरै संज्ञा दिए ।

त्यसलाई कांग्रेसको घोषणापत्र लेखनको नेतृत्व गरेका महामन्त्री थापाले पढ्दै नपढी एमालेले आलोचना गरेको प्रतिक्रिया अनलाइनखबरलाई दिएका थिए । आफूले कांग्रेसको घोषणापत्रमा राखिएको ‘कन्टेन्ट’ मा बहस होस् भन्ने चाहे पनि ओलीलागयत एमाले नेताहरूले आफ्नो आलोचना मात्रै पढेर प्रतिक्रिया दिएको महामन्त्री थापाको भनाइ थियो ।

तर, ओलीलाई त्यतिले पनि चित्त नबुझेर मतदातालाई ‘अपिल’ भनेर सार्वजनिक गरेको दस्तावेजमा घोषणापत्रमा छुटेको कांग्रेसको आलोचनालाई थपथाप गरे । उनले सार्वजनिक गरेको अपिल र पत्रकार सम्मेलन दुवै कांग्रेसको घोषणापत्रको जवाफ थियो भन्ने पुष्टि आफ्नै शब्दमा गरे । ‘हालै जारी भएको घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्छ,’ ओलीले स्पष्ट शब्दमा भने, ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ ।’

चुनावपछि गठबन्धन नरहने दावी

ओलीले स्थानीय तह निर्वाचनको मतदान गर्ने मिति ३० वैशाखपछि गठबन्धन टुट्ने दावी गरे । उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषले भनेको भन्दै गठबन्धनभित्र ठूलो संकट आउन लागेको बताए ।

‘ज्योतिषहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्को त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाइ साह्रै ठूलो मर्का पर्नेवाला छ,’ ओलीले दावी गरे, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।’

उनले आफूले भनेको कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषलाई बोलाएर सोध्न चुनौती दिए । ‘मैले ज्योतिषिहरूको कुरा भनेको हो । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिष हुन्छन् । अहिले चाहीँ दुवै प्रकारका ज्योतिष गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्,’ उनले भने, ‘होइन भने प्रधानमन्त्रीज्यूले ठ्याक्कै–ठ्याक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।’

ओलीले पत्रकासर सम्मेलनमा करिब सवा घण्टा समय दिए । तर, त्यसको अधिकांश समय ६७ पृष्ठको ‘अपिल’ वाचन गर्न खर्चिएका उनले सञ्चारकर्मीसँग करिब २० मिनेट अन्तक्र्रिया गरे । अन्तरक्रियाका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदा ओलीले उल्टै ‘तपाईं माओवादी हो ?’ भनेर समेत प्रतिप्रश्न गरे ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?