+
+

भरतपुरमा ओलीले भने : यहाँका कांग्रेसले कसरी मन थामेका होलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १७:३५

२५ वैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको बताए ।

जिन्दगीभर कांग्रेस भएर हिँडेकाहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी (भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाल) जसरी पनि जिताउन लाग्नुपर्ने बाध्यतामा रहेको ओलीले बताए ।

५ वर्षअघि प्रचण्डकी छोरी रेनुलाई मतदान गरेर मेयर बनाएका कांग्रेस कार्यकर्ता यस वर्ष पनि मतदान गर्न बाध्य भएका ओलीले टिप्पणी गरे । प्रचण्डले चितवनमा केही दिनअघि सत्तारुढ गठबन्धनले गरेको आमसभामा मेयरमा रेनु दाहाललाई जिताएमा आफू खुशी हुने र गठबन्धन १५–२० वर्ष टिक्ने बताएका थिए । त्यसप्रति टिप्पणी गर्दै ओलीले २० वर्ष गठबन्धन टिकाए कांग्रेसलाई नै घाटा हुने बताए । ‘२० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक’ उनले भने ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्क्याउने बानी अझै नगएको बताएका छन् ।

‘धम्क्याउने बानी अहिलेसम्म गएनछ, धम्क्याइ आएकाहरु धम्क्याएर खाएकाहरुको अहिलेसम्म बानी गएनछ’ उनले भने, ‘जनताले बुझिसकेछन् धम्कीको काम छैन । कसैले धम्क्याएर दुर्घटना हुँदैन । दुर्घटना होइन, घटना हुन्छ, गठबन्धनले नराम्रोसँग हार्छ ।’

निर्वाचन आयोगले अरुको झण्डा र चुनाव चिह्न लिएर प्रचार नगर्न खबरदारी गरेको भन्दै ओलीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कारबाही गर्न चुनौती दिए ।

‘प्रचण्डलाई किन कारबाही नगरेको ? काठमाडौंमा सिर्जना सिंहलाई मत माग्दा, शेरबहादुरलाई किन कारबाही नगरेको, चितवनमा रेनु दहाललाई मत माग्दा ?’ ओलीले प्रश्न गरे ।

निर्वाचन आयोगले ठूला नेतालाई केही गर्न नसक्ने, कार्यकर्ताले मन परेका ठाउँमा मतदान गर्न भने अवरोध गर्न खोजेको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?