+
+

धनकुटाको महालक्ष्मीमा वडाअध्यक्ष र गाविस अध्यक्षको प्रतिस्पर्धा

चार दलीय गठबन्धनबिरुद्ध एमाले एक्लै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १८:४३

२५ वैशाख, धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिकाको मेयरमा पूर्व जनप्रतिनिधिहरुबीच नै प्रतिस्पर्धा हुने भएको छ । स्थानीय नागरिकले उनीहरुको काम यसअघि नै हेरिसकेकाले विवेक प्रयोग गर्न सजिलो हुनेछ ।

महालक्ष्मी नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका नगर सभापति ध्रुबराज राया र नेकपा एमालेका प्रदेश कमिटी सदस्य दीपक बुढाथोकी, राप्रपाका चेतनाथ चापागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरप्रसाद लिम्बू र विष्णु पौडेलले स्वतन्त्रबाट प्रतिस्पर्धा गर्दैछन् ।

त्यसमध्ये महालक्ष्मी नगरपालिकामा मुख्य प्रतिस्पर्धी दुई पक्ष रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेस नगर सभापति राया र एमालेबाट प्रदेश सदस्य बुढाथोकीलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । रायालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन गरेको छ । चार दलीय गठबन्धन बिरुद्ध एमालेका बुढाथोकी भने एक्लै लड्दैछन् ।

राया र बुढाथोकी दुवै पूर्व जनप्रतिनिधि हुन् । गएको निर्वाचनमा महालक्ष्मी वडा नं. २ मा राया वडाअध्यक्षमा निर्वाचित भएका थिए । बुढाथोकी २०४९ र २०५४ सालमा तत्कालीन चानुवा गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।

गत स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेका पर्शुराम नेपालले कांग्रेसका अग्निप्रसाद पौडेललाई पराजित गरेका थिए । यसपालि बुढाथोकीको कसरत एमालेको त्यही साख जोगाउन केन्द्रित हुने छ ।

गत स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाका सबै स्थानीय तहमा नेकपा एमालेले जितेको थियो । तर, यसपटक भने गठबन्धनका कारण एमालेलाई सहज हुन नसक्ने अनुमान धेरैको छ ।

एमालेपछि जिल्लामा बलियो शक्ति कांग्रेससँग अन्य दलको सहकार्यका बुढाथोकीलाई सहज हुन नसक्ने आकलन महालक्ष्मीमा छ । पार्टी विभाजन महालक्ष्मी नगरपालिकामा एमाले विभाजनको पनि असर छ । पूर्व जिल्ला विकास समिति सभापति धर्मराज पौडेलसहित खगेन्द्र सुवेदी, लालबहादुर महतरा लगायतका नेताहरु एकीकृत समाजवादीमा छन् ।

राया र बुढाथोकी दुवै उम्मेदवार महालक्ष्मी नगरपालिकामा चर्चित अनुहार हुन् । बैशाख १२ गते उम्मेदवारी दर्ता गरेपछि राया र बुढाथोकी कार्यकर्तासहित अहिले आ आफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।

उमेदवारहरुले आफू विजयी भए महालक्ष्मीलाई विकासका कामलाई प्राथमिकता दिने घोषणा गर्दै हिँडिरहेका छन् । उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमूलक कामको आश्वासन दिइरहेका छन् ।

के छ विगतको समीक्षा ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेका पर्शुराम नेपालले ४ हजार ८५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अग्निप्रसाद पौडेलले एक हजार १५६ मत पाएका थिए । माओवादी केन्द्रका राम नेपालले एक हजार ७४६ मत ल्याएका थिए । त्यो बेला नेपाली कांग्रेसले राप्रपासंग तालमेल गरेर उम्मेदवार उठाएको थियो ।

२०७४ मा एमालेले कांग्रेसलाई एक हजार ७०१ मतान्तरले पराजित गरेको थियो । एमालेले ४ हजार ८५७ मत प्राप्त गर्दा कांग्रेसले ३ हजार १५६ मत पाएको थियो । कांग्रेसको मत राप्रपाको समेत रहेको थियो ।

अब माओवादी केन्द्रले पाएको एक हजार ७४६ मत जोड्दा गठबन्धनको मत ४९०२ हुन्छ । जुन मत एमालेको भन्दा ४५ ले बढी हो । एमालेले पाएको चार हजार ८५७ मत अहिले फुटेर गएको एकीकृत समाजवादीको समेत हो ।

कस्ता छन् उम्मेदवार ?

ध्रुवराज राया

राया कांग्रेस धनकुटाका युवा नेताका रुपमा परिचित छन् । २०३३ सालमा जन्मेका राया २०४९ सालमा नेविसंघको विद्यालय कमिटी अध्यक्ष हुँदै २०५१ सालमा कांग्रेसको क्रियाशील सदस्य भएका थिए । २०५६ सलमा वैदेशिक रोजगारीका लागि सिंगापुर गएका उनी २०६० सालमा कतार गएर साढे ७ वर्षपछि फर्किएका थिए ।

त्यसपछि राजनीतिमा पुन सक्रिय भएका राया कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालिन मारेककटहरे गाविसको सभापति निर्वाचित भएका राया २०७४ को स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिका वडा नं. २ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । राया २०७८ मा कांग्रेसको १४ औ महाधिवेशनबाट महालक्ष्मी नगर सभापतिमा निर्वाचित भएका थिए ।

दीपक बुढाथोकी, नेकपा एमाले

२०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन चुनावमा गाविस अध्यक्ष निर्वाचित भएका बुढाथोकी एमालेका पुराना नेता हुन् । पञ्चायत कालमा कम्युनिष्ट विरोधी सरकार हुँदा पनि एमालेको संगठन विस्तारमा क्रियाशील रहेका बुढाथोकी पार्टीभित्र हक्की स्वभावका मानिन्छन् ।

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरुको आँखामा परेका थिए । २०४६ सालको आन्दोलनमा गाउँबाट नेतृत्व गर्दै उनले जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।

उनले ३५ बर्षदेखि एमालेको राजनीतिमा रहेको बताउँछन् । गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश १ कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?