+
+

वर्षायाम सुरु हुँदैछ, कस्तो पहिरन र जुत्ता लगाउने ?

सम्झना विक सम्झना विक
२०७९ वैशाख २५ गते १८:३८
प्रतीकात्मक तस्वीर

काठमाडौ । गर्मीयामको सुरुवातसँगै पानी पनि पर्न थालेको छ । मनसुन जेठ अन्तिम साताबाट सुरु हुने भए पनि अहिले दिनुहँजस्तै वर्षा पनि भइरहेको छ ।

पानी पर्दा सडकमा आवतजावत गर्न निकै सकस हुन्छ । विशेषगरी पानी परेको बेला हिंडडुल गर्दा पहिरनलाई सम्हाल्न गाह्रो हुन्छ । सामान्य दिनमा प्रयोग गरिरहेका लुगा र जुत्ता यस्तो बेला फिट नहुन सक्छन् । त्यसैले आजभोलि वर्षायामलाई लक्षित गरेर विभिन्न शैलीका पहिरन, जुत्ता-चप्पल अन्य सामग्री बजारमा उपलब्ध हुन्छन् ।

यो सिजन फास्ट फेसनको सिजन पनि हो । वर्षाको समयभन्दा फेसनमा बेपर्वाह हुनुपर्छ भन्ने छैन । यस सिजनमा पनि आफूलाई स्टाइलिस्ट देखाउन सकिन्छ । त्यसका लागि आफू अनुकूल पहिरनदेखि छातासम्म प्रयोग गर्न सकिन्छ ।

वर्षायाममा कस्ता पहिरन बढी बिक्री हुन्छन् ?

लामो समयदेखि काठमाडौंको महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आइरहेका व्यवसायी अमृत पाण्डे गर्मीसँगै वर्षायाममा अघिपछि भन्दा फेसनेबल कपडाको माग हुने गरेको बताउँछन् ।

मनसुनको समय गर्मीयाममै पर्ने भए पनि पानी पर्दा मौसम केही चिसो हुने भएकाले त्यही अनुसारको लुगा छनोट गर्नुपर्छ । पाण्डेका अनुसार यो सिजनमा प्रिन्टेट लुगाको माग धेरै हुन्छ । महिलाको लुगामा प्रिन्टेट वान पिस, कटनका कुर्तासलवार बढी बिक्री हुने उनी बताउँछन् । यस्तै पुरुषको पहिरनमा जिन्स, चिनोज र कटनका हाफ र फुल पाइन्ट, सर्ट, टीसर्ट तथा स्र्केचर्सका जुत्ता र फित्ता भएको चप्पलको बढी माग हुने गर्छ ।

पानी पर्ने भएकाले यो समयमा छालाको तुलनामा कपडा र प्लाष्टिकका जुत्ता, चप्पल, विभिन्न डिजाइनका चस्मा र रंगीविरंगी छाता खोज्दै आउनेहरु धेरै देखिन्छन् ।

वर्षायाममा कसरी फेसनेबल देखिने ?

भनिन्छ, वर्षायाममा फेसनेबल हुन एकदमै गाह्रो हुन्छ । तर फेसन डिजाइनर आलिया गिरी मनसुनको सिजनमा पनि फेसनबेल देखिन सकिने बताउँछिन् । ‘वर्षायाममा आफूलाई आकर्षक र स्टाइलिस राख्न सकिन्छ । प्रकृतिको विविधता रमाउन सक्नु नै राम्रो हुन्छ । प्रकृतिले मौसम भिन्न बनाए जस्तै हामीले लगाउने पोशाक पनि मौसम अनुसारका भिन्न हुन्छन्,’ गिरी भन्छिन् ।

राम्रोसँग लुगालाई मिलाएर लगाउन जाने त्यसले व्यक्तित्व राम्रो बनाउने उनी बताउँछिन् । ट्रेण्डको पछि लाग्नु भन्दा पनि आफ्नो शरीरमा फिट हुने र शरीरलाई शीतलता र आनन्द प्रदान गर्ने लुगा छनोट गर्नुपर्ने उनी बताउँछिन् ।

वर्षायामका पहिरन

मनसुनको समयमा शरीरलाई हलुका महसुस हुने र छिटै सुक्ने खालका पहिरन लगाउन फेसन डिजाइनर गिरी सुझाउँछिन् । पानी निरन्तर पर्ने हुनाले सुकिहाल्ने र चम्किलो रंगका पहिरन छनोट गर्दा सहज हुनुका साथै फेसनेबल पनि देखिन्छ ।

विशेषगरी कटन र झर्झेटका लुगा वर्षायामका लागि उपयुक्त हुने गिरी बताउँछिन् । त्यस्तै छिटै पानी सोस्ने र हाफ बाहुला भएका लुगा पहिरिन उनको सुझाव छ ।

युवायुवतीमाझ जिन्सका पहिरन लोकप्रिय भए पनि वर्षायाममा भने त्यति फिट नहुने उनी बताउँछिन् । जिन्सका कपडा पानीमा भिजे सुक्न धेरै समय लाग्ने हुन्छ । यस्तै छालाबाट बनेका पहिरन पनि यसबेला उपयुक्त हुँदैन ।

जुत्ताचप्पल कस्तो लगाउने ?

वर्षायाममा छालाको जुत्ता त सही हुने कुरै भएन । पानीले भिन्दा गन्हाउने, च्यातिने समस्या हुने भएकाले छालाको जुत्ताको प्रयोग नगर्न फेसन डिजाइनर गिरी सुझाउँछिन् ।

यो सिजनमा रबर र प्लास्टिकका जुत्ता-चप्पल प्रयोग गर्नु उपयुक्त हुन्छ । साथै अहिले बजारमा सुज कभर पनि पाइने भएकाले यसको प्रयोगले पनि जुत्ता चप्पल सुरक्षित बनाउन सकिन्छ ।

छाता, चश्मा र ब्याग

वर्षायाममा छाता अपरिहार्य नै हुन्छ । पानी परिरहने भएकाले यसले भिज्नबाट जोगाउँछ, साथै गर्मी पनि हुने भएकाले त्यसबाट पनि बचाउन छाताले सहयोग गर्छ । छाता छनोट गर्दा पारदर्शी प्रकारको रोज्नु उपयुक्त हुने गिरी बताउँछिन् ।

यस्तै यूबी प्रोटेक्सन भएको चम्किलो चश्मा र मास्कको पनि प्रयोग गर्नु राम्रो हुन्छ । यो सिजनमा महिलाहरुले ब्याग बोक्दा ठूलो भन्दा सानो र चिटिक्क परेको ब्याग बोक्नु सहज हुन्छ । हलुका ब्यागलाई पानीबाट जोगाउन सजिलो हुन्छ । यस्तै ब्यागमा रुमाल पनि राख्नुपर्छ, जसले पानीमा भिजिहालियो भने सुख्खा बनाउन सहयोग पुर्‍याउँछ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?