+
+

धनगढीमा कांग्रेसलाई अन्तर्घातको डर, एमाले र स्वतन्त्र उम्मेदवार आशावादी

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख २६ गते १२:२२

२६ वैशाख, धनगढी । सुदूूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र, अस्थायी राजधानी र एक मात्र उपमहानगरपालिका धनगढीको मेयरका लागि नौ जना उम्मेदवार छन् ।

नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई उम्मेदवार बनाएका छन् र उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले समर्थन गरेका छन् । नेकपा एमालेले रणबहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने विगतका निर्वाचनमा प्रतिस्पर्धी मत ल्याएका गोपाल हमालले यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वडले ०७४ मा आफूले पाएको मत जोगाउन र गठबन्धनमा रहेका दलको मत पाएमा जित हासिल गर्न सक्नेछन् । तर उनका लागि यही विषय मुख्य चुनौती छ, जुन मेयर पदका अरु उम्मेदवारका लागि अवसरसमेत हुन सक्नेछ ।

०७४ सालमा वडले १४ हजार ३२४ मत पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवारले १० हजार २०९ मत ल्याएका थिए । कांग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा २४ हजार भन्दा बढी हुन्छ । तर कांग्रेसभित्रको आन्तरिक किचलो, गठबन्धनमा आवद्ध दल माओवादी र समाजवादी पार्टीले मत हाल्दा के–कति इमादारिता देखाउछन् ?

भन्ने कुराले वडको मत परिणामलाई प्रभावित पार्ने अनुमान गरिएको छ । तर वड भने आन्तरिक असन्तुष्टी मिलाउने काम भइरहेकाले भन्दै चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

धनगढी प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र पनि भएका कारण उनी आफैँ वडका लागि मत माग्न घर–घरमा पुगिरहेकी छन् भने आन्तरिक कलह मिलाउन पनि व्यस्त छिन् ।

कांग्रेस कैलालीका सभापति नरायणदत्त भट्ट पनि धनगढीमा गठबन्धनले चुनाव जितेर नृप वड नै मेयरमा दोहोरिने दाबी गर्छन् । ‘धनगढीमा चुनाव जित्ने हो, जितिन्छ ।

आन्तरिक कुराले खासै समस्या पार्दैन्,’ भट्टले अनालइनखबरसँग भने, ‘अलिअली समस्या सबै पार्टीमा हुन्छ । तर अन्तिम अवस्थामा नेता, कार्यकर्ताले पार्टीको नीति र नियमको पालन गर्छन् ।’

नेकपा एमालेले भने करिब ३० वर्षदेखि राजनीतिमा सक्रिय, इमानदार र स्वच्छ छवि बनाएका चन्दलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धन र अन्य उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने बलियो नेताका रुपमा विश्लेषण गरेर उनलाई टिकट दिइएको एमालेका नेताहरु बताउँछन् ।

हालसम्म कुनै लाभको पदमा नबसेका चन्द उपमहानगरको नेतृत्वमा सफल वड र राजनीतिक नै धरातल नभएका स्वतन्त्र उम्मेदवार गोपाल हमालको विकल्प आफू भएको दावी गर्छन् । उनले हिजोआज मत माग्दा यही भन्ने गरेका छन् ।

चन्दको चुनावी नतिजामा पार्टी संगठन मात्र नभएर क्षेत्रगत मतले समेत अर्थ राख्ने एमालेको आशा छ ।

नयाँ थपिएका करीब १७ हजार समेत गरेर धनगढी उपमहानगरपालिका अहिले ९३ हजार १ सय ५१ मतदाता छन् । यहाँ झण्डै ३२ हजार मत मात्रै राना र थारु समुदायको छ । एमालेले उपमेयरमा रानाथारु समुदायको प्रतिनिधित्व गराउँदै कन्लकला रानालाई उम्मेदवार बनाएको छ ।

रानाले पाउने मत चन्दलाई पनि आउने भएकाले उनी जित्ने सम्भावना रहेको दाबी गरिएको छ । धनगढीमा एमालेले पार्टीमा आन्तरिक एकता भएकाले करीब १३ हजार आफ्ना मतदाताको मत बाहिर नजाने जनाएको छ । २०७४ सालको निर्वाचनमा धनगढीको मेयरमा प्रतिस्पर्धा गरेका कैलालीका उपाध्यक्ष दुर्गा जोशी पनि एमालेको जित निश्चित भइरहेको बताउँछन् ।

‘धनगढी उपमहानगरपालिकामा हाम्रो पार्टीको जित सुनिश्चित छ । गठबन्धन र स्वतन्त्र उम्मेदवारले मत पाउँछन् भनेर गरिएको हल्लामा कुनै सत्यता छैन,’ जोशीले अनलाइनखबरसँग भने, ‘हाम्रो जित्ने आधार भनेको पार्टीको आन्तरिक एकता हो ।’

नेताहरुले व्यक्तिगत स्वार्थ पूरा गर्न गठबन्धन बनाएको बताउँदै जोशीले गठबन्धनप्रति जनताको आकर्षण नभएको दाबी गरे भने दलीय व्यवस्थामा दलको विकल्प दल भएको उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार गोपाल हमाल ०७४ को निर्वाचनमा पराजित भएका थिए । उनले भ्रष्टाचार नियन्त्रण र कल्याणकारी काम गर्ने विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

‘मलाई गाली गर्ने त पार्टीहरुको धर्म हो । जति गाली गर्न सक्नुुहुन्छ उति उहाँहरु राम्रो बन्नुहुन्छ । मैले त अहिलेसम्म कसैलाई गाली गरेको छैन । तर उहाँहरु मलाई व्यक्तिगत रुपमा गाली गरिराख्नुभएको छ । त्यसैले के बुझ्नुस् भने मेरो जित पक्का छ,’ हमालले अनलाइनखबरसँग भने ।

सुन्दर सुदूरपश्चिमका अभियान्ता पनि रहेका हमाल यसअघि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए तर उनले मेयरमा चुनाव लड्नकै लागि पार्टीबाट राजीनामा गरेका थिए । अघिल्लो निर्वाचनमा हमालले ११ हजार ५२७ मत पाएका थिए । तर अहिले भने धनगढीमा मतदाता बढेकाले गत निर्वाचनमा भन्दा यहाँको अवस्था फरक हुने अनुुमान धेरैको छ ।

पुनः गठबन्धनका उम्मेदवार वड र स्वतन्त्र उम्मेदवार हमालबीच प्रतिस्पर्धा हुने धेरैले आकलन गरेको अवस्थामा एमालेले रणबहादुुरलाई अघि सारेपछि धनगढीको चुनाव रोचक हुने विश्लेषण गरिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?